Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

वडाले दियो प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड

फागुुन १, सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–३ ले प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड उपलब्ध गराएको छ। वडाको शान्ति सुरक्षालाई थप मजबूत बनाउन प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड वितरण गरिएको अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए। वडा कार्यालयले मोटरसाइकलका लागि मासिक ३० लिटर पेट्रोल र तीन सय रुपैयाँको रिचार्जकार्ड पनि उपलब्ध गराउने छ।

वडा अध्यक्ष खत्रीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर सामाग्रीहरु उपलब्ध गराइएको बताए। ‘भौगोलिक रुपमा ठूलो र जनसंख्या पनि धेरै भएकाले अपराध भएको ठाउँमा तत्काल प्रहरीको उपस्थिती जनाउनका लागि मोटरसाइकल उपलब्ध गराएका हौं’ उनले भने, ‘यसका साथै नगरबासीले मात्रै सम्पर्क गर्ने गरेर सिमकार्ड र मोवाइल हस्तान्तरण गरेका छौं।’

उनले बढ्दो शहरीकरणका कारण शान्ति सुरक्षा चुनौतिपूर्ण बन्दै गएको बताए। ‘लागूऔषध प्रयोगकर्ता, महिला हिंसालगायतका घटनाहरु वडामा बढ्दै गएका छन्’ उनले भने, ‘यी घटना न्यूनिकरणका लागि आन्तरिक स्रोतबाट मोटरसाइकल, मोवाइल र सिमकार्ड उपलब्ध गराएका हौं।’

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको भौतिक पूर्वाधारसँगै अपराध न्यूनिकरणका लागि प्रहरीसँग साझेदारी गर्दै अघाडी बढ्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेले अपराध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयको सहयोग महत्वपूर्ण रहेको बताए।