केपिएलको दोस्रो संस्करण आगामी बैशाखमा
फागुन १९ सुर्खेत ।
कर्णाली प्रिमियर लिग (केपिएल)को दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । आईतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिइएको हो । दोस्रो संस्करणको केपिएल टि २० राष्ट्रिय टुर्नामेन्ट कर्णाली क्रिकेट एकेडेमीले आयोजना गर्न लागेको हो ।
आगामी बैशाख १२ गतेदेखि २१ गतेसम्म संचालन हुने खेलमा प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन पाइने छ ।
पत्रकार सम्मेलनमा कर्णाली क्रिकेट एकेडेमीका संयोजक रेशम शाहीले कर्णालीमा क्रिकेटको विकासको लागि आफुहरु लागिपरेको बताउनु भयो । उहाँले केपिएललाई सकारात्मक रुपमा प्रचार प्रचार गर्न सबैमा आग्रह गर्नु भयो ।
कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउने, कर्णाली प्रदेशबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कर्णाली क्रिकेट एकेडेमिका अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशका दश वटै जिल्लाहरुमा क्रिकेटसम्बन्धी गतिविधि एकेडमीले निकट भविष्यमा गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो ।
सुर्खेतको वीरेन्द्रनगर रंगशाला मैदानमा आयोजना गरिने उक्त प्रतियोगितामा देशभरका प्रतिष्ठित ८ वटा क्लवहरुको सहभागिता रहने उहाँको भनाई थियो । राष्ट्रियस्तरमा खेलाडीहरुको सहभागिता रहने उक्त प्रतियोगिता कर्णाली प्रदेशकै सवाधिक धनराशीको
हुने आयोजनको भनाई छ । उक्त प्रतियोगितामा करिव ६० लाख खर्च हुने आयोजकको अनुमान छ । यस अघि बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को प्रयोजनमा केपियलको प्रथम संस्करण सम्पन्न भएको थियो ।






