धादिङमा ५ रेक्टरको भूकम्प
काठमाडौं ।
धादिङ केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको कुम्पुर केन्द्र बनाएर ५ रेक्टरको भूकम्प गएको हो । २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको बारेमा भने कुनै जानकारी नभएको गृह मन्त्रालयले जनाएको छ ।
नेपालमा २०७२ सालको विनाशकारी भूकम्प भन्दा पछि विभिन्न समयमा पराकम्पनहरु आइरहेका छन् । ती पराकम्पनहरुले त्यति ठूलो जनधनको क्षति नगरे पनि ठूलो भूकम्प आउने हो कि भन्ने आशंका भने उब्जाइरहेका छन् । भूकम्पको क्षतिबाट बच्नका लागि सबैले सजग रहन सरोकारवालाहरुले सर्वसाधारणहरुलाई अनुरोध गरेका छन् । केही दिन अघि मात्र दैलेखमा केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो ।






