Loading... आजः ७ भाद्र २०८३, आईतवार । Sunday 23rd August 2026

बोल्दाबोल्दै फोन काटियो, अब पाइन्छ क्षतिपूर्ति

काठमाडोँ, १० चैत । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ ।

newsabhiyan

त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ’, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए। उनले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताए।

‘पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एकरएक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ’, उनले भने।

सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो ।

कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ ।

नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ।