भगवतीमाई गाउँपालिकाले ग¥यो जिउँदो मान्छेलाई मरेको भन्दै लगत कट्टा
सुर्खेत ।
दैलेखको भगवतीमाई गाउपालिकाले जिउँदो मान्छेलाई मरेको भन्दै लगत कट्टा गरिदिएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको व्यक्तिगत विवरणमा गाउँपालिकाले जिउँदै रहेका व्यक्तिलाई मृत्यु भएको भन्दै लगत कट्टा गरेको हो । दैलेख भगवतीमाई गाउँपालिका वडा नं. ४ निवासी ८२ वर्षिय जेष्ठ नागरिक मणीराम खत्रीको यसरी लगत कट्टा गरिएको हो ।

मणीराम खत्री आफ्नी श्रीमती जोतिकला खत्रीसहित २०७५ चैत्र ११ गते उक्त गाउँपालिकाको सिफारिससहित बसाइ सराई लिई बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं. ९ माछागढमा बसाई सराई गएका हुन् । भगवतीमाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय जगनाथले मणीराम खत्री बसाई सराई गरि गएको उल्लेख गरेको छ । तर उता गाउँपालिकाले भने उनको मृत्यु भएको आफ्नो रेकर्डमा उल्लेख गरेको छ ।
नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता व्यक्तिगत विवरणमा बसाइ सराई गरि अन्यत्र गएका व्यक्तिको लगत कट्टा गर्ने क्रममा बराई सराई गरेको उल्लेख गर्नु पर्नेमा मृत्यु भएको उल्लेख गरेकाले उनका परिवारजनहरु आक्रोसित बनेका छन् । जिउँदो मान्छेलाई मरेको भन्दै सामाजिक सुरक्षा भत्ता व्यक्तिगत विवरणमा लगतकट्टा गर्नु कर्मचारीको चरम लापरवाही भएकोले त्यस्तो लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने मणीरामका छोरा पदमबहादुर खत्रीको भनाई छ ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष दानबहादुर थापाले आफूलाई हिजो मात्र थाह भएको र अनलाइनमा विवरण सच्चाउन लगाइएको बताए । उनले भने आइटी सम्बन्धि काम गर्ने कर्मचारीले गल्ती गरेकोले उनलाई कारवाही गर्नु पर्ने भए कारवाही गर्न समेत तयार रहेको अध्यक्ष थापाको भनाई छ । गाउँपालिकाका प्रशासकीय अधिकृतलाई सम्पर्क गर्न खोज्दा उनको मोवाइल स्वीच अफ थियो ।
यस्ता प्रकृतिका कार्यहरुमा कतिपयमा भवितव्यका रुपमा गल्ती भएको र कतिपयमा दोषि ठहराइ कारवाही समेत भएका नजिरहरु छन् । मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुरको दफा २७६ मा किर्ते सम्बन्धी यस्तो परिभाषा गरिएको छ, ‘कसैले किर्ते गर्न वा गराउन सो प्रयोजनका लागि सर्वसाधारण वा कसैलाई कुनै हानी नोक्सानी वा क्षति पु¥याउने वा कसैलाई कुनै लाभ पु¥याउने नियतले कुनै झुटा लिखत वा झुटा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुटो अंश वा भाग बनाउने काम गरेमा निजले किर्ते गरेको ठहर्छ ।’ यस परिभाषा अनुसार किर्ते गर्नेलाई उक्त दफाको ख को (२) मा बिना अधिकार वा बेइमानीपूर्वक लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी मेटी, केरी, परिवर्तन गरि वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पारेमा किर्ते गरेको ठहरिने भएकोले उक्त दफाको उपदफा (३) को ग बमोजिम सरकारी वा सार्वजनिक लिखत तयार गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । ‘बेइमानी पूर्वक लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपेमा, मेटेमा, केरेमा, परिवर्तन गरेमा वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पारेमा पनि झुटा लिखत बनाउने काम गरेको मानिन्छ’ मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २५ मा लिखत सम्बन्धी कसुरको दफा २७६ मा उल्लेख छ ।






