‘तीन तोला सुन’ र ‘एट्लान्टिस’ होटेल
कुनै समयमा प्रचण्ड नाम गरेका व्यक्ति छन् कि छैनन् भनेर निकै शंका र उपशंका रहेको थियो । धेरैले अड्कल गरेका थिए प्रचण्ड कोही अमुक पात्र मात्र हुन् । वास्तविक प्रचण्ड भन्ने व्यक्ति नै छैनन् । जनयुद्ध चर्किदै गएपछि एकाएक प्रचण्डको चर्चा पनि चुलिँदै गयो । जब दिल्लीमा बाह्र बुँदे सम्झौता भयो र प्रचण्ड सार्वजनिक भए तब शंका गर्नेहरु स्पष्ट भए प्रचण्ड साँच्चिकै रहेछन् । कुनै समयका पुष्पकमल दाहाल नै प्रचण्ड रहेछन् । प्रचण्डलाई प्रत्यक्ष मात्र होइन टेलिभिजनमा हेर्नेहरुको समेत भीड लागेको इतिहास त्यति धेरै पुरानो भएको छैन । सशस्त्र जनआन्दोलनको कमाण्डरको रुपमा उनले हाँकेको युद्ध सफल अवतरण गराउन सफल प्रचण्ड निकै चतुर नेता हुन् । सशस्त्र रुपमा उठाएको हतियारलाई विश्राम दिएर शान्ति र सुव्यवस्थाका लागि अन्ततः समाजमा फर्केका प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादीले पहिलो संविधान सभाको निर्वाचनमा बहुमत प्राप्त गर्न नसकेपनि देशको सबै भन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित हुने मौका पायो । जसले गर्दा नेपालको प्रधानमन्त्री बन्ने अवसर प्रचण्डलाई मिल्यो ।

जंगलमा बसेर युद्धको खाका कोर्ने प्रचण्डले संविधान बमोजिम कसरी देशको शासन सत्ता संचालन गर्नुपर्छ भन्ने भेउ पाउन सकेनन् । किनकी उनी र उनको दललाई शासनसत्ताको अनुभव नै थिएन । जसका लागि उनले तीन ‘पति’ माथि प्रहार गर्ने कोसिस गरे । त्यो नयाँ जोगीले खरानी घसे झैँ बाहेक अरु केही थिएन । एउटा राष्ट्रपति अर्को पशुपति र अर्को सेनापति । यि तीनवटै ‘पति’ माथिको हस्तक्षेपले प्रचण्डलाई अल्पमतको सरकारको प्रधानमन्त्री पदबाट राजीनामा गर्न बाध्य बनायो । जंगलमा बसेर लुकीछिपी आक्रमण गर्ने र हतियारको भरमा जनतालाई त्रसित बनाउने कार्य भन्दा प्रत्यक्ष रुपमा शासन संचालन गर्न निकै गा¥हो छ भन्ने प्रचण्डलाई हेक्का त्यतिबेला भयो जतिबेला उनलाई समर्थन गर्ने नेकपा एमालले नै अविश्वासको कुरा गरेर सत्ताच्यूत गरिदियो ।
दोस्रो संविधान सभाको निर्वाचनमा प्रथमबाट तृतीय हुन पुगेका प्रचण्ड आफ्नै पार्टी भित्रका र बाहिरका राजनीतिज्ञहरुको दबाबका कारण हैरान बने । पहिलो संविधान सभाको निर्वाचनमा डर, धम्की, त्रास, आश र गासको भरमा राजनीति गरेकाहरु दोस्रो संविधान सभाको निर्वाचनसम्म पुग्दा यी सबै कुरालाई गुमाउन पुग्नु स्वभाविक मान्नु पर्छ । किनकी जनताले माओवादी के हो र त्यसको क्षमता र दक्षतालाई राम्रोसँग आंकलन गरिसकेका थिए ।
दोस्रो संविधान सभाबाट देशले लोकतान्त्रिक गणतन्त्रात्मक शासन सत्ता संचालन हुने गरि नयाँ संविधानको घोषणा भयो । यही संविधान बमोजिम संघीय शासन प्रणालीको अभ्यास पनि सुरु भयो । जस अनुसार देशमा तीन तहका निर्वाचनहरु हुने भए । तत्कालिन नेकपा माओवादीले अब राजनीतिक रुपमा आफ्नो अस्तित्व बचाउन सक्ला वा काँग्रेस र एमालेको जुधाइमा मिचिएर समाप्त होला भन्ने आंकलनहरु पनि नभएका होइनन् । तिनै आंकलनहरुको विश्लेषण भइरहेको बेला चतुर राजनीतिज्ञ प्रचण्डले नेपाली काँग्रेससँग यस्तो बलियो हात मिलाएकी मतपत्र च्यातेर, चपाएर, निलेर अझ भनौं साम, दाम दण्डभेदको प्रयोग गरेर भएपनि छोरीलाई महानगरको मेयर बनाएर छाडे ।
उनको चतु¥याईलाई सलाम गर्नै पर्छ । छोरीलाई मेयर बनाउने कार्यमा सफल भएपनि नेपाली काँग्रेससँगको गठबन्धनमा प्रचण्ड सफल हुन सक्दैनन् भन्ने सर्वसाधारणले राम्ररी बुझेको थिए । किनकी यिनीहरुको बीचार र सिद्धान्त नै आकाश पाताल जत्तिकै भिन्नता छ । त्यसैले समान बीचार धारा भएकाहरुसँग सामिप्यता बढाउन सक्ने हो भने मात्र तत्कालिन माओवादीलाई सफल अवतरण गराउन सकिन्छ अन्यथा पार्टीको मात्र नभई आफ्नो समेत अस्तित्व केवल इतिहासका पानामा मात्र सिमित रहने कुरालाई उनले राम्रोसँग विवेचना गर्न सके । जसले गर्दा पार्टी नै एकता गर्ने गरि तत्कालिन नेकपा एमालेसँग गठबन्धन गरे र निर्वाचनको ४० प्रतिशत नतिजा हत्याउन पुगे । जसले गर्दा प्रचण्डलाई फेरि एकपटक सफल राजनीतिज्ञको संज्ञा दियो ।
अलिकति फरक प्रसंग के भने पारिवारिक रुपमा सबैका समस्या हुन्छन् । व्यक्तिगत जीवनमा सबैलाई सुखदुःखको अनुभूति हुने गर्दछ । मानवीयताको नाताले एउटाको दुःख अर्कोलाई दुख्नु स्वभाविक हो । तर नकारात्मक टिप्पणी गरेरै कसैको दुःखमा रमाउनेहरु मानवरुपी खोल ओढेका दानवीय प्रवृत्ति भएकाहरु हुन् । प्रचण्डलाई पनि व्यक्तिगत रुपमा दुःख प¥यो । उनले एक मात्र छोरा प्रकाशलाई गुमाउन पुगे । कुनै समयमा युद्धका कारण धेरैले छोरा गुमाएका थिए भने प्रचण्डप्रति व्यङ्ग्य गर्नेहरुले मानवताको धर्म समेत विर्सिए । त्यो निकै दुःखको कुरा हो । राजनीतिक पाटो र व्यक्तिगत पाटोलाई फरक दृष्टिकोणबाट हेर्न सक्नु पर्छ ।
समय आफ्नै चक्रमा अगाडि बढ्दै गयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि भयो । प्रचण्ड फेरिपनि प्रतिनिधि सभा सदस्य बने । त्यसपछि उनले पनि नेपाल सरकारको आधिकारिक निकायलाई आफ्नो सम्पत्ति विवरण बुझाए । मुख्य गरेर तीन तोला सुन आफ्नो सम्पत्ति रहेको सार्वजनिक गर्दा प्रचण्ड हाँसोको पात्र नै बने । जुन कुरा अहिले पनि नेपाली समाज विश्वास गर्नै सक्दैन । किनकी राजनीतिक सफलताका लागि कोइली जत्तिकै चतुर प्रचण्डले तीन तोला सुन मात्र आफ्नो सम्पत्तिको रुपमा राखेका छन् र उनी साँच्चिकै सर्वहारा वर्गका सर्वहारा व्यक्ति हुन यो सत्य नै भएपनि विश्वास हुन सकेन नेपाली जनताका अगाडि । आलिशान महलमा बसेर, लाखौको विस्तरामा सुतेर करोडौंको दाइजो दिन सक्ने मान्छेको सम्पत्ति तीन तोला सुन मात्र हुन्छ भन्नु जनतासँग भ्रमको खेती गर्नु बाहेक अरु केही होइन ।
पछिल्लो समयमा फेरि प्रचण्ड एक पटक चर्चामा आएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका तीनतोला सुनका धनी प्रचण्ड ‘श्रीमतीको आग्रह’ मा सपरिवार दुबई घुम्न गए । जब उनी दुबई पुगे त्यसपछि संसारकै महँगामध्येको एक मानिने ‘एट्लान्टिस होटेल’ मा सपरिवार झन्डै साता बिताए । तीन तोला सुन नै बेचेपनि उनलाई त्यो होटलमा कति समय कति जनाका लागि खर्च पुग्छ । त्यसको अलिकति पनि लेखाजोखा गर्ने हो भने सर्वहारा वर्गका नेताले दुबई भ्रमणमा आफूसँग भएको तीन तोला सुन मात्र सकेनन् उल्टै ऋण निकाले भनेर अनुमान गर्ने कि नजानिदो ढंगबाट राज्यको ढुकुटी दोहोन गरे भनेर शंका गर्ने ? चातुर्यभित्र पनि कहिले काँही नराम्रोसँग फुस्किन्छन् प्रचण्ड । दुबईको त्यो महंगो होटलमा लाखौँ रकम उक्त पारिवारिक भ्रमणमा खर्च गरेको उनले फेरि एकपटक साँच्चिकै सर्वहाराहरुलाई अपमान गरे । तीन तोला सुनका धनी नेताले सपरिवार दुबई घुम्न आवश्यक ठूलो धनराशिको जोहो कसरी गरे ? कुनै बैंकबाट मासिक ब्याज तिर्ने गरि ऋण निकाले वा एउटा कुनै सहकारीमा मासिक किस्ता र ब्याज समेत बुझाउने तमसुक गरेर ऋण निकाले ?
सामाजिक सञ्जालमार्फत कैयनले चासो र चिन्ता व्यक्त गरेका छन् । गम्भीर अस्वस्थताबाट गुज्रिरहेकी जीवनसङ्गिनीको धोको पूरा गरिदिएर उनले वफादार श्रीमानको कर्तव्य पूरा गरे भन्दै तारिफ गर्नेहरूको पनि कमी छैन । तर धेरैले चाहिँ अनेक आरोप र आशङ्कासहित असन्तुष्टि र आक्रोश पनि पोखेका छन् । सत्य के हो ? त्यसलाई सबैका सामु छर्लङ्ग नपारेसम्म प्रचण्डको तीन तोला सुन र उनको सुखसयललाई जनताले स्वीकार्ने छैनन् । जबसम्म यथार्थता बाहिर आउने छैन तबसम्म उनी न सर्वहारा ठहरिने छन् न त सर्वहाराको नेतृत्व नै गर्नेछन् । सर्वहाराको नारा बेचेर नेपाली जनता माथिको राजनीति र व्यक्तिगत सुखसयल कति दिन चल्ला ?






