टोल विकास संस्थाको काम
सुर्खेत ।
वर्तमान संविधानले व्यवस्था गरे अनुसार देशले संघीयताको कार्यान्वयन गर्ने क्रममा गाउँ विकास र नगरपालिकाहरुका सीमाङ्कन समेत फेरिए । गाउँ विकास त विघटन भए र गाउँ पालिकामा परिणत भए । यता नगरपालिकाका सीमा रेखाहरु पनि परिवर्तन भए । नगरपालिका वरपर भएका अधिकांश गाउँ विकासलाई नगरपालिकामा गाभियो र त्यसलाई एउटा वडाको रुपमा विकसित गरियो । त्यसरी वडाको रुपमा विकसित गर्दा वडाको भौगोलिक क्षेत्रफल निकै ठूलो बन्न पुग्यो । कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा वडाको एउटा भागबाट अर्को भागमा पुग्नका लागि करिब २ दिनको बाटो नै पैदल यात्रा गर्नु पर्ने अवस्था छ । त्यसरी क्षेत्रफलको रुपमा बढेका वडाहरुमा वडापालिकाले सबै काम गर्न असहज हुने भएकोले टोल टोल विकास समितिहरु वडा भए । पालिकाले गरेका कार्यहरुको सर्कुलर वडामा र वडाले गरेका कार्यहरुको सर्कुलर टोल टोलमा पु¥याउनु पर्नेमा टोल विकास समितिहरुको भने बचत तथा ऋण सहकारीको झँै काम गर्दै आइरहेका छन् ।
कर्णालीको राजधानी सुर्खेत र सुर्खेतको वीरेन्द्रनगर । कर्णालीका अन्य क्षेत्रहरु भन्दा अवस्य पनि स्तर उठेको स्थान हुनु पर्ने हो । तर यही वीरेन्द्रनगर नगरपालिका भित्रका कतिपय वडाहरुमा संचालन भएका टोल विकास संस्थाको काम सहकारीले झैँ मासिक बचत उठाउनु र ऋण लगानी गर्नु अनि ऋण उठाउनका लागि ताकेता गर्नु बाहेक अरु केही छैन ।
टोल विकास संस्थाको काम कर्तव्य र अधिकारको बारेमा अधिकांशलाई जानकारी नै छैन । तर उनीहरु महिनाको एक दिन भेला हुन्छन र मासिक रुपमा बचत उठाउँछन् । उनीहरुले त्यसरी उठाएको बचत के मा लगानी गर्छन त्यसको अत्तोपत्तौ हुँदैन टोलवासीलाई । टोलवासीहरुले आफ्नै दैनिक खर्चमा आवश्यक पर्ने ऋण भने त्यहीबाट पाउने गरेका छन् । अनि त्यसको बदलामा व्याज तिर्छन नै । त्यसरी बचत गरिएको पैसालाई उत्पादनमूलक कार्यमा लगानी गरेको भने भेटिदैन । त्यसले बचत कर्ताहरुलाई क्षणिक रुपमा सहज बनाएको देखिएपनि उनीहरु दिन प्रतिदिन ऋणको भारी बोक्दै गइरहेका छन् । आफैले उठाएको बचत र त्यसबाट लिइएको ऋणको सावाँ व्याज तिर्नका लागि उनीहरु अन्य वित्तिय संस्थाहरुमा ऋण खोज्नु पर्ने अवस्थाको सिर्जना हुने भएकोले झन समस्या पैदा हुने गरेको छ ।
वडा कार्यालयले वर्ष भरि गरेका कार्यहरुको बारेमा नगरपालिकामा हुने सार्वजनिक सुनुवाई र त्यसको समीक्षाको रुपमा सबै टोल विकास मार्फत स्थानीयहरुलाई जानकारी गराउनु पर्ने हो । तर वीरेन्द्रनगर नगरपालिका भित्रकै अधिकांश वडाहरुले त्यस्तो जानकारी गराएका छैनन् । जसका कारण वडामा के कति बजेट आयो, कति बजेट कहाँ खर्च गरियो र के कति विकास निर्माणका कामहरु भए भन्ने स्थानीयहरुलाई जानकारी नै नभएको बताउँछन् वडा नं. ११ का जयबहादुर खड्का ।
वडा नं. ११ को गैरीगाउँ टोलविकास संस्थाका अध्यक्ष लालबहादुर रावत भन्छन् वडाले हामीलाई के दिन्छ भन्ने बारेमा केही जानकारी नै छैन । हामीले बचत उठाउने र ऋण लगानी गर्ने गरेका छौ । एकपटक लामखुट्टे विरुद्धको किटनाशक औषधी छर्केको बताउँदै त्यसमा समेत कति बजेट लगानी भएको थियो आफूलाई कुनै थाह नभएको उनको भनाई छ । यो त उदाहरण मात्र हो । कतिपय टोल विकास संस्था साविकको वडा नागरिक मञ्चले गठन गरिदिएकोमा अहिलेसम्म पुर्नगठन समेत हुन सकेका छैनन् ।
टोल विकास संस्थाले उक्त टोल भित्र निर्माण हुने घरको नक्सादेखि निर्माण सम्पन्नका लागि समेत सिफारिस गर्नु पर्ने, टोलमा कुनै विवाद भएमा विवाद समाधानका लागि छलफल गर्नु पर्ने र त्यहाँ समाधान हुन नसकेमा वडामा पठाउनु पर्ने, टोलमा विभिन्न समयमा सचेतना सम्बन्धि कार्यक्रमहरु गर्नु पर्ने, सरसफाइ सम्बन्धि कार्यहरु गर्नु पर्ने प्रावधानहरु छन् । टोल भित्र हुने दैवि प्रकोप तथा अत्यावश्क कार्यका लागि वा उद्यम संचालनका लागि टोलवासीलाई संगठीत गर्नका लागि कोषको स्थापनाका लागि बचत संकलन गर्न सकिने प्रावधानलाई प्राथामिकता दिएर बचत तथा ऋण सहकारीले गर्ने कार्य बाहेक अरु भूमिका निर्वाह गरेको देखिँदैन ।
वडामा हुने विभिन्न गतिविधिहरुमा टोल विकासका पदाधिकारीहरुलाई संलग्न गराउने गरेको र सरसफाइ सम्बन्धि जानकारी समेत दिने गरेको बताउँछन् वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्मा । तर नगरपालिका भित्रका केही अपवादको रुपमा बाहेक प्रायः सबै टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार जस्तै भएको छ बचत उठाउनु र ऋण लगानी गर्नु । के टोल विकास संस्थाको काम यत्ति हो त ? कुनै सेवाग्राहीले एउटा सिफारिस वापत ५ सयदेखि ५ हजारसम्म राजश्व तिर्नु परेको छ । के उसले टोल विकासदेखि वडा र नगरपालिकाबाट पाउने सेवा सुविधा टोलमा बचत उठाउनु मात्र हो त ? यसरी कर्णालीले प्राप्त गर्न सक्ला समृद्धि ?






