Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

शान्ति सुरक्षा कायम गर्छौ : प्रहरी उपरीक्षक

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले दशैं तिहारको लागि शान्ति सुरक्षा कायम रहने बताएका छन् । जसका लागि योजना तयार रहेको उनले बताए । यही असोज १ गतेदेखि सुर्खेत जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा आइपुगेका एसपी पन्तले बिहीबार पत्रकारहरुसँगको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो बताएका हुन् । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकोले यहाँको शान्ति सुरक्षामा विशेष ध्यान दिने योजना सहितको दशैं तिहारमा कुनै पनि नराम्रा घटनाहरु हुन नदिनका लागि विशेष सुरक्षा योजना बनाएर अघि बढ्न थालेको उनले बताए ।


उनले भने, शान्ति सुरक्षा अमनचयन राख्नका लागि नागरिकहरुसँग सहकार्य गरेर अघि बढ्छौ । जसका लागि पत्रकारहरुको विशेष साथ र सहयोगको अपेक्षा छ । सरकारी तथा गैरसरकारी निकायहरुलाई समेत साथमा लिएर जिल्लाको शान्ति सुरक्षामा विशेष भूमिका निर्वाह गर्ने उनको भनाई थियो । जिल्लामा हुने अपराधिक गतिविधिलाई न्यूनिकरण गर्दै त्यसलाई निमिट्यान्न पार्ने कार्यमा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

विशेष गरि लागु औषध दुव्र्यसनका घटना धेरै हुने गरेको सुर्खेतमा त्यसलाई रोक्नका लागि विशेष ध्यान दिने एसपी पन्तको भनाई थियो । दशैं तिहारका समयमा मात्र नभई अन्य समयमा पनि ट्राफिक प्रहरीले यातायात चालकहरुबाट नगद असुल्ने कुरा तर्फ अंकित गर्दै उनले भने कसैले पनि सेवाग्राहीबाट एक पैसा नगद वा कुनै पनि समान लिन पाइँदैन त्यसो गरेको भेटिएमा त्यस्ता कर्मचारीलाई बरखास्त गरेर कानून बमोजिम कारवाही गर्छु उनको कथन थियो ।

दशैं तिहार जस्ता पर्वहरुको समयमा सुर्खेतमा जुवा तासमा निकै चासो दिइने कुरालाई अंकित गर्दै एसपी पन्तले भने सुर्खेतमा कोही कसैले पनि जुवातास खेलेको सूचना प्राप्त भएमा त्यस्तालाई कानून बमोजिम कडा कारवाही गरिने छ । सूचना नआएमा आफूहरु समेत अञ्जान रहने बताउँदै त्यसका बारेमा प्रहरीलाई सूचना दिन उनले आग्रह गरे । यसैगरि बिहीबारदेखि नै बसपार्कमा ट्राफिक सहायता कक्षको स्थापना भएको बताउँदै यात्रुहरुको सहजतालाई समेत मध्य नजर गरेको उनको भनाई थियो ।

वीरेन्द्रनगरमा चोरीका घटनाहरु दिन प्रतिदिन बढिरहेको सन्दर्भमा उनले भने दशैं तिहारमा मात्र होइन अन्य समयमा पनि चोरीका घटनाहरु हुन सक्ने भएकोले बाहिर जाँदा छिमेकीलाई भएपनि खबर गरेर जानु पर्ने र छिमेकी बाहिर गएको समयमा आफूले पनि उनको घरको रेखदेख गरेर सहयोग लिने दिने गर्न आवश्यक छ । चोरीका घटनाहरुलाई रोक्नका लागि विशेष योजना नै बनाएर प्रहरी लागिरहेको उनले बताए ।

पछिल्लो समयमा बढिरहेका आत्महत्याका घटना न्यूनिकरणका लागि समाजलाई नै सचेतना तर्फ अगाडि बढाउनु पर्ने उनको भनाई थियो । सुरक्षा गस्तीका लागि दैनिक आठ–आठ वटा टोली थप गरेर टोल टोलमा खटाउने तयारी भइरहेको एसपी पन्तले बताए ।

घरेलु मदिरामाथि छापा हाल्ने तयारी

कुनै पनि जिल्ला प्रहरी कार्यालयमा करिब १ वर्षको अन्तरालमा प्रमुखहरु फेरिने गर्दछन् । जति पटक जिल्ला प्रहरी प्रमुख फेरिन्छन् त्यति नै पटक तारो बन्ने गरेको छ घरेलु मदिरा । सबै भन्दा सहज तरिकाले पत्ता लगाउन सकिने र बजारमा प्रभाव पार्न सकिने भएकोले पनि मदिरा माथि छापा मार्ने कार्यमा प्रहरी प्रमुखहरु लागि पर्ने गरेका छन् । अर्कोतिर आफूलाई कडा रुपमा प्रस्तुत गर्नका लागि पनि उनीहरुको पहिलो निशानाको रुपमा घरेलु मदिरा नै हुने गर्दछ ।

भरखरै मात्र दंगा नियन्त्रण प्रहरी गण काठमाडौंबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखको जिम्मेवारी सम्हालेका एसपी दिल्लीराज पन्तले पनि आफ्नो पहिलो निशानाको रुपमा घरेलु मदिरालाई नै ताकेका छन् । बिहीबार पत्रकारहरुसँग भेटघाट गर्ने क्रममा उनले भने घरेलु मदिरालाई नियन्त्रण गर्नका लागि छापा हान्ने तयारी भइरहेको छ । घरेलु मदिरालाई पूर्ण रुपमा निस्तेज पार्नका लागि दिनानुदिन छापा मार्ने योजना रहेको उनको भनाई थियो ।

समाजमा हुने अधिकांश घटनाहरु मदिराको कारणले हुन्छन् भनेर टिकाटिप्पणी भइरहेको समयमा त्यसको प्रमुख कारण घरेलु मदिरा मात्र नभई शिलबन्दी मदिरा पनि हुने गर्दछ भन्ने कुरालाई विश्लेषण किन गरिँदैन वीरेन्द्रनगर ६ निवासी जयबहादुर खड्काले प्रश्न गरे । उनले भने, एउटा सामान्य झुप्रोमा गएर घरेलु मदिराको लागि खानतलासी गर्नेहरुले कि मदिरा पूर्ण रुपमा निषेध गर्छौ भनेर लाग्नु प¥यो होइन भने सानालाई ऐन र ठूलालाई चैन गर्नु भएन ।

मदिरा सेवन गर्नु स्वास्थ्यका लागि पनि हानीकारक भएको बताउँदै त्यसले घर, समाज र व्यक्तिमा समेत नोक्सानी गर्दछ । तर पनि ठूला बडाहरुका लागि भन्दा पनि गरिब र निमुखाहरुलाई तारगेट गरेर कानूनको पालना गराउँछौ भन्नु हेपाहा प्रवृत्ति भएको उनको भनाई थियो । वीरेन्द्रनगर १२ का प्रताप सिंहले भने मैले अहिलेसम्म मदिरा सेवन गरेको छैन । तर स्वयम् प्रहरी नै घरेलु मदिरा छ कि भन्दै साना झुप्राहरुमा जाने अनि देखाउनका लागि छापा मारेर उनीहरुका भाँडावर्तन बरामद गर्ने यो पुरानै शैली हो ।