Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

दैलेख – सुर्खेत बाटोमा टाइमकार्ड लागू

दैलेख

दुर्घटना न्यूनिकरण गर्न दैलेख-सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको छ । दैलेख सदरमुकामबाट छुट्ने यात्रुवाहक बस, माइक्रो बस (हाइस), जीपका लागि यो व्यवस्था गरिएको हो ।  यो खण्डमा यसअघि पनि टाइमकार्ड लागू गरिएको थियो ।

दैलेख-सुर्खेत सडकमा टाइमकार्ड लागू, चाँडो दूरी पार गरे कारबाही

बिचैमा अलपत्र परेको टाइमकार्ड नियम पुन लागू गरिएको हो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त प्रयासमा टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

सुर्खेत प्रहरीसँग समन्वय गरि टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक ओलीले बताए । पहिलो चरणमा दैलेख सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको र लगत्तै कर्णाली राजमार्गमा पनि लागू गरिने ओलीले जानकारी दिए । ‘सवारी दुर्घटनाको जोखिम घटाउन टाइमकार्ड नियम लागू गरिएको हो,’उनले भने, ‘सवारीको गति नियन्त्रण, अब यात्रुको चाप निगरानीमा कडाई गरिनेछ ।’

यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुङ्गेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुङ्गेश्वरदेखि रानिमत्ता १६ किमि एक घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि १ घण्टा ३० मिनेटमा पुरा गर्नुपर्ने ट्राफिक इन्चार्ज ओमप्रकाश कुर्मीले बताए ।

तोकिएको समयभन्दा चाँडो दूरी पार गरेमा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले सवारीमा क्षमताभन्दा बढी यात्रु नराख्न, गाडीको गति नियन्त्रण गर्न आग्रह गरे ।