Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

घटना न्यूनिकरणका प्रशासन चनाखो छ : प्रजिअ

सुर्खेत ।

मानवअधिकार दिवसका अवसरमा ‘मानव अधिकारको संरक्षणमा युवाहरूको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुर्खेत लगायत विभिन्न संघ संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुर्खेत जिल्लामा गम्भिर प्रकृतीका मानव अधिकार उल्लंघनका घटना नभएको बताउँदै घटना न्यूनिकरणका प्रशासन चनाखो रहेको बताए ।

कर्णालीमा अझैपनि बालविवाह, महिला हिंसा र जातीय विभेदका घटना बढी घट्ने गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी अधिकारीले घटना न्यूनिकरणका लागि अधिकारकर्मी र सरोकारवाला बीचको समन्वय र सहकार्य आवश्यक रहेको भनाई राखे ।

यसैगरि वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष मोतीप्रसाद कँडेलले सबैले कानुनको पालना गरेमा मानवअधिकारको संरक्षण हुने विश्वास व्यक्त गरे ।

द्वन्द्वपीडित साझाचौतारीकी कर्णालीप्रदेश अध्यक्ष शितल सिंह राठौरले द्वन्द्वपीडितको अवस्था र विषय आवश्यकता हेरेर पीडित परिवारका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले बजेट छुट्याएमा द्वन्द्वपीडित परिवारले पनि मानव अधिकारको महसुस गर्न पाउने बताए ।

राष्ट्रिय अपांगता महासंघका सुरेशकुमार खड्काले मानिसले जन्मसिद्ध पाउने अधिकारको उपभोग गर्नबाट अपांगता भएका व्यक्तिहरू अझै बञ्चित भएको बताएका थिए । कार्यक्रममा नागरिक सरोकार केन्द्र, सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको विश्वव्यापी घोषणा पत्रका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।