राउटे समुदायलाई कपडा र खानेकुरा
सुर्खेत ।
दैलेखको गुराँस गाउँपालिकामा अस्थायी बसोवास गरिरहेका राउटे समुदायलाई लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले उनीहरूको बासस्थानमै पुगेर न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरेएको छ ।
राउटे समुदायका महिला र बालबालिकालाई लक्षित गरी न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको हो ।
कर्णाली प्रदेशको शिक्षा निर्देशनालय र अन्नपुर्ण एग्रो इन्डस्ट्रिज रूपन्देहीको सहयोगमा राउटे समुदायलाई सहयोग गरिएको हो ।
अत्यधिक चिसोबाट जोगाउन रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको
बताए । ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, उनले भने, ’कपडा पाएपछि अलि राहत मिलेको छ ।’
लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले आफ्नो समुदायको रीति तथा संस्कृतिलाई अथावत राख्दै अन्य समुदायले जस्तै जीवन जिउन राउटे समुदायसँग आग्रह गरिन् । ‘तपाईंहरूले शिक्षा, सरसफाइ, सन्तुलित आहारलगायतका विषयमा सिक्न जरूरी छ । यसले तपाईंको समुदायलाई कुनै प्रभाव पार्दैन,’ उनले भनिन, ‘बालबालिकाहरूलाई शिक्षाको जरूरी छ । त्यसका लागि तपाईंहरू सबै तयार हुनुपर्छ ।’ बालबालिकालाई बन्धन नबनाउन पनि उनले आग्रह गरिन् ।
स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले राउटे समुदायसँग बालबालिकालाई शिक्षा दिन अनुरोध गरे । बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न नहुने बताउँदै उनले राउटे समुदायलाई शिक्षाको महत्ववारे बुझाएका थिए । समुदायमा शिक्षाका लागि सरकारले गरिरहेको पहबारे उनले जानकारी दिएका थिए ।हाल यहाँ ४६ घर राउटे परिवारका १ सय ४८ जना अस्थायी रूपमा बसोबास गरिरहेका छन् ।






