कर्णाली एक्सपो २ को उद्घाटन भव्यताका साथ आज हुँदै
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखी सञ्चालन गर्न लागिएको दोस्रो कर्णाली एक्सपो (महोत्सव) को सबै तयारी पूरा भएको र आजै उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि, पर्यटन, जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने नाराका साथ संञ्चालन गर्न लागिएको महोत्सव सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतका अनुसार उद्घाटन पूर्वका सबै काम सकिएको छ । आगलागी, हावाहुरीबाट भिडभाड, खेल खेल्दा कुनै दुर्घटना भए, हाताहाती लगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजकले ६ करोडको विमा गरेको आयोजकको भनाई छ ।

एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ । पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटकको महोत्सव फरक हुने आयोजको दावी छ ।
मुलआयोजक समितिका संयोजक समेत रहनुभएका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताए । विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्द्धन गरिने छ ।
पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिका राखिने छन् । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ । पहिलो पटक लण्डन ब्रिज (प्रवेशद्वार) सहित अरब दुवइ सेल्फी जोनको पनि व्यवस्था गरिएको छ ।
६ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा झन्डै एक करोड तीस लाख रकम खर्च हुने अनुमान आयोजकको छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्द्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्नेछ ।
आजबाट सञ्चालन गर्न लागिएको महोत्सव फागुन १७ गते सकिने छ ।






