अछामको पञ्चदेवल विनायक नगरपालिका १६ दिन देखि बन्द
अछाम ।
अछामको पञ्चदेवल विनायक नगरपालिका र नगरका सबै वडा बिगत १६ दिनदेखि बन्द रहेका छन् । माघ २० गते राती रहस्यमय मृत्यु भएका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्याराको दोषीलाई पत्ता नलागायसम्म नगर बन्द गर्ने निर्णय भए बमोजिम नगरपालिका कार्यालय र नगरका ९ बटै वडा कार्यालय बन्द रहेका हुन् ।
वडा अध्यक्ष धामीको मृत्युु पछि नगरपालिका वडाको कामकाज ठप्प हुँदा सेवाग्राहीलाई निकै सास्ती भएको छ ।
वडाअध्यक्षको रहस्यमय हत्या पछि आफन्त र नगरपालिका एवं प्रशाशनको रोहबरमा छलफल गरि दोषी पत्ता नलागेसम्म नगरभरीको कामकाज नगर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो ।
त्यसका कारण १६ दिनसम्म नगरपालिकाका सम्पूर्ण कामकाज ठप्प रहेका छन् । “नगरपालिका र वडा कार्यालय बन्द छन्, कामकाज सबै प्रभावित छन् ।” हाल काठमाण्डौँमा रहनु भएका नगरप्रमुख देबराज देककोटाले भन्नुभयो –“ दोषीलाई छिटो पत्ता लगाउन भन्दै आफुले काठमाण्डौँमा समेत सरोकारवालालाई घच्घचाईरहेको छु । ”
सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरुसंग भेटघाट गरी घटनाबारे जानकारी गराउने, दोषीलाई पत्ता लगाउन सहयोग गर्न तथा जिल्ला प्रशाशन कार्यालय अछाममा भएको सहमति अनुसार शहिद घोषणाका लागि पहल गर्न आफु लागिरहेको नगरप्रमुख देबकोटाले जानकारी दिनुभयो ।







