निर्वाचनको सम्पूर्ण तयारी पुरा : मतदाता मतदानको ब्यग्र प्रतिक्षामा
सुर्खेत
२०७४ वैशाख ३०

भोलि वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । भोलि वैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदाताहरु मतदाता परिचय पत्र लिएर मतदान हुने समगको ब्यग्र प्रतिक्षामा बसेका छन् ।
सुर्खेत जिल्लाका सबै मतदान केन्द्रहरुमा सबै तयारी पूरा भएको छ भने कर्मचारी तथा आवश्यकता सामग्री र सुरक्षा व्यवस्थामा कुनै कमी नभएको जनाइएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान समयमा निर्वाचन आयोगले तयार गरेको आचार संहिता पूर्ण रुपमा पालना गरिदिन निर्वाचन आयोग सम्बन्धित सबै सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।
प्रदेश ६ मा २४१ मतदान केन्द्र अतिसम्वेदनशील
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेश ६ मा १६ हजार ४२७ बढी सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदेश ६ का ७९ वटा स्थानीय तहहरुका ८९५ मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन भएका हुन् ।
क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय सुरक्षा समितिका अनुसार नेपाल प्रहरी ५ हजार ३२५, सशस्त्र प्रहरी ३ हजार १७०, म्यादी प्रहरी ५ हजार ८०३ र राष्ट्रिय अनुसन्धानका १२९ जना सुरक्षाकर्मी खटिएका छन् ।
प्रदेश ६ का १० जिल्लामा २५ नगरपालिका र ५४ वटा गाउँपालिकामा ८९५ वटा मतदानस्थल छन् । यी मध्य सुरक्षाको दृष्टिले २४१ अतिसम्वेशनशील, ३४६ सम्वेदनशील र ३३० मतदानस्थल सामान्य छन् । कुल ७ लाख ८३ हजार ४२३ मतदाता रहेको प्रदेश नम्बर ६ मा १२ हजार १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।






