कवि मञ्जुल र उनको कवितासङ्ग्रह मृत्यु–कविता

‘विज्ञापनले कमसललाई असल र असललाई विस्मृतिको छायाँमा धकेलिरहेको आजको समयमा केही स्तरीय र नेपाली साहित्यमा आप्mनो अद्वितीय स्थान बनाउन सफल साहित्यकार र तिनका कालजयी कृतिहरुका बारे युवा पाठकलाई पुनःस्मरण गराउने उद्देश्यले हामीले यो स्तम्भ सुरु गरेका हौँ र त्यसै उद्देश्यमा हामी अगाडि बढिरहेका छौँ । बजारले विचारलाई निर्देशित गर्ने परिस्थिति प्राज्ञिक अभ्यासमा लागेका जो कोहीका लागि पनि सुखद हुृन सक्दैन । त्यस कारण खासाका नक्कली सामान भैmँ चम्किलो हुनुभन्दा बलियो गुदीले बन्ने घरबुनाझैँ हुनुु उपयुक्त छ भन्ने हामीलाई लागेको छ । कतै अखबारको बलले, कतै पुरस्कारको बलले र कतै मिडियामा लोकप्रिय अनुहारका बलले पुस्तकको चर्चा एक्कासी चुलिने र त्यसले दश वर्ष पनि आप्mनो चर्चायुक्त आयु थेग्न नसकेर शुृन्यको गर्तमा बेपत्ता हुने स्थिति देखिएकै छ । बोल्नेको पिठो बिक्नुसम्म त ठिकै थियो, त्यति त सहनै पथ्र्यो, सहिएकै थियो तर बोलीको डिजिटलाइज्ड जादुले बोक्राको जादुयी धुलोलाई हर्लिक्स भनेर बेचिरहँदा भने ठग्नुको पनि हद हुन्छ नि भन्ने पो लाग्न थाल्यो । हामीले आप्mनो तर्फबाट यत्ति प्रयाससम्म थालेका छौँ । जीवनमूल्य बोकेको चीरप्रभावी साहित्यिक कृतिमा आजका किशोरक्किशोरी पाठक अध्ययतालाई आकर्षित गर्न र सभ्य समाजको निर्माण गर्न यो आपैmँ निकै अपर्याप्त हो । बाँकी जिम्मा विज्ञ पाठकहरुलाई ।’ –सम्पादक
नेपाली कवितामा मञ्जुलका नामले चर्चित कविको वास्तविक नाम मेघराज नेपाल हो । व्यक्तिगत जीवनमा कहिले विवाद र कहिले प्रशंसाका मात्र बनिरहेका मञ्जुल कवितामा भने सधैँ शालीन विद्रोहीको छवी बनाइरहेका छन् । राल्फा आन्दोलनदेखि आज प्रयन्त उनले परिवर्तन र प्रगतिका पक्षमा निरन्तर साहित्य सिर्जना गरिरहेका छन् । २००३ साल फागु पूर्णिमाका दिन भोजपुर गोगनेमा जन्मेका मञ्जुलले नेपाली भाषा विषयमा एम ए सम्मको अध्ययन गरेका छन् । हाल विश्वभाषा क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँमा नेपाली भाषा शिक्षण गरिरहेका छन् ।
उनका प्रकाशित पुस्तकहरुमा साइली मोरीलाई (२०२४) गीतसङ्ग्रह, छेकुडोल्मा उपन्यास (२०२७), गायक यात्री कवितासङ्ग्रह (२०४०), उज्यालाको प्रशंसामा अनुवाद (२०४२), सम्झनाका पाइलाहरु यात्रासंस्मरण (२०४४), मञ्जुलका नयाँ कविताहरु कवितासङ्ग्रह (२०४५), जाने होइन दाइ आलापोट –यात्रा संस्मरण (२०४७), चोकटी कविता कवितासङ्ग्रह (२०५५), मृत्यु कविता कवितासङ्ग्रह (२०५५) आदि प्रमुख रहेका
छन् । समाजसेवी राजनीतिज्ञ कुन्ता शर्मासित पहिलो दाम्पत्य जीवन सफल नभए पछि सुस्मिता नेपालसित दोस्रो विहे गरेका कवि मञ्जुल हाल उनीसितै काठमाडौँमा बस्छन् । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप नेपालका सहोदर दाजु हुन् मञ्जुल । उनी स्वयम पनि बामपन्थी राजनीतिमा सक्रिय व्यक्ति हुन् ।
कवितामा साधारण भाषिक संरचनाबाट असाधारण अर्थगाम्भीर्य प्रकट गर्नु उनको विशेषता हो । साहित्यका विभिन्न गद्य तथा पद्य विधामा कलम चलाएका मञ्जुलले बालबालिकाहरुका लागि पनि साहित्य रचना गरेका छन् । विभिन्न देशमा हुने साहित्यिक समारोहहरुमा मञ्जुलले भाग लिएका छन् । त्यस क्रममा उनले भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्ड, फिलिपिन्स, उत्तर कोरिया, स्विडेन आदि देशको भ्रमण उनले गरेका छन् । मञ्जुलले नेपाली कविता र अन्य विधामा जेजति योगदान गरेका छन् त्यसको उच्च् मूल्याङ्कन गर्दै उनलाई व्यथित काव्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, सिद्धिचरण काव्य पुरस्कार, साझा पुरस्कार जस्ता अनेक पुरस्कारबाट सम्मान गरिएको छ । उनका रचनाहरु विश्वका अनेक भाषाहरु अङ्ग्रजी, हिन्दी, यर्दू, बंगाली, फ्रेन्च, स्विडिस, जर्मन, नर्वेजियन आदिमा अनुवाद भइ सकेका छन् ।
मृत्युसम्बन्धी विविध विचार र अनुभूतिहरु अभिव्यञ्जित गरिएका एक सय आठओटा कविताहरुको शृङ्खला यस कवितासङ्ग्रहमा प्रस्तुत गरिएको छ । मृत्यु एक, मृत्यु दुई …..एवम् प्रकार मृत्यु एक सय आठ गरी मृत्यु शीर्षकका कविताहरु यसमा समेटिएका छन् । एउटै शीर्षकमा यति धेरै कविता लेखेर सङ्ग्रह प्रकाशित गर्नु पनि आफैँमा एउटा एक्स्पेरिमेन्ट नै हो । कवितामा नयाँनयाँ प्रयोग गर्न रुचाउने मञ्जुलको यो कृति पनि सुबोध्य तर प्रयोगशील कविताहरुको सँगालो हो । त्यसो त कविता कुनै दर्शन होइन केवल अनुभूतिको कलात्मक अभिव्यक्ति मात्र हो । यद्यपि कवितामा दर्शन विचारमा घुसेर आउन सक्छ । त्यसैले कविता दर्शनको सम्प्रेषणीयता बढाउने माध्यम बनेको पाइन्छ । प्रस्तुत विवेच्य कृतिमा पनि मृत्यु सम्बन्धी र जीवनसम्बन्धी अनेक दर्शनहरुलाई कविको अनुभूतिका आवेगका लहरहरुद्वारा अभिव्यक्त गरिएको छ । सबै मान्छे एक दिन मर्नै पर्छ त्यसैले स्व होइन सम भन्ने एउटै भाव र एउटै निष्कर्ष समाहित गरी १ सय ८ ओटा पृथक पृथक बान्की र विषयका कविता लेख्नु कवि कौशलको नमुना हो । एउटै विषयमा यति धेरै अनुभूति र दृष्टिकोण बिना कुनै पुनरुक्ति कवितामा ल्याउनु कविका लागि ठूलो चुनौती हो । कविको दीर्घ साधना र परिपक्व अनुभवले मात्र यस्तो चुनौती पूरा गर्न सक्छ । जुन मञ्जुलले गरेर देखाइदिएका छन् ।
मृत्युलाई
ठूलो किताब बनाएर पढ्न सकिदो रहेछ
एउटा अनुच्छेद
एउटा वाक्य
एउटा शब्द
एउटा अक्षरमा पनि समात्न सकिदो रहेछ
मृत्यु
अक्षरका भागभागमा बसेर
हार्दिकता हाँसिरहेथ्यो
अहम्को भाषा नजान्ने, बदलाको भाषा नजान्ने
एउटा विनम्रता र अर्को प्रेमको ओठ भएको
मुखले बोल्दो रहेछ मृत्यु
माथि नै भनि सकियो दर्शन कविता होइन तर दर्शनलाई आत्मसाथ गरेर अनुभूत गरेको भावना वा सत्यको कलात्मक अभिव्यक्ति नै कविता हो । कवि मञ्जुलको जीवनदृष्टि मृत्युको व्याख्याका माध्यमले यी कविताहरुमा अभियञ्जित भएको छ । कविले दर्शन कविताको कच्चा पदार्थ भएको चाहिँ स्वीकार गरेका छन् । जीवनप्रतिका फरकफरक दृष्टिकोण र जीवनप्रतिका फरक फरक दृष्टिकोण मञ्जुलका यी कविताहरुमा आएको देखिन्छ ।
मृत्युबोध
मुस्कुराउँदै जब मेरो अगाडि आउँछ
मलाई
सबभन्दा सुन्दर सूर्योदय
मेरो अगाडि आएजस्तो लाग्छ ।
मृत्यु जीवनको विपर्यास होइन र पर्याय पनि होइन तर जीवनसँगसँगै भएर हिड्छ मृत्यु । कवि मञ्जुलले मृत्युलाई अपरिहार्य सत्यको रुपमा प्रस्तुत गरेका छन् । त्यसैले मृत्यु कविता जीवनका कविता हुन् । यी कवितामा आशावादी दृष्टि र सकारात्मक सोचले मात्र ठाउँ पाएको छ । यसैमा झल्कन्छ कविको प्रौढता । कवि भन्छन् एक आत्महत्या गर्न हिडेको मानिस मेरा कविता सुनेर आत्महत्या नगर्ने निर्णयमा पुगोस् । आप्mनो जीवनको क्षणभंगुरता मानिसले कहिल्यै नभुलोस् । एक दिन मर्नै पर्छ भनेर मानिसले आत्ममोह त्यागेर अरुलाई माया गर्न थालोस् । मृत्यु एक गहन सत्य हो त्यस सत्यलाई बोध गर्न जिउँदो मानिसले मायामोह, स्वार्थ र अहम्बाट माथि उठ्नै पर्छ । तब मात्र बुझिन्छ जीवन र मृत्युको भित्री सम्बन्ध र सत्य । कवि भन्छन् ः
आप्mनो पछाडि
सिङ्गो राज्य छोडेर गए पनि
आप्mनो पछाडि
मात्र एउटा लौरो छोडेर गए पनि
मृत्यु त एउटै न हो दुबैको
मृत्युले
दुबैलाई एकै किसिमको नाङ्गो बनाउँछ
मृत्युले
दुबैलाई एकै किसिमले रित्तो बनाउँछ
खरानी खरानी बनाउँछ
मृत्यु अवश्यम्भावी छ किनभने मान्छेको जन्म नै मृत्युको घोषणा हो । मृत्युसित डराउनु, चिन्तित बन्नु वा दुःखी बन्नुको केही अर्थ छैन । फरक फरक मान्छेका मृत्यु सम्बन्धी विचार दृष्टि फरक हुनु स्वाभाविक हो ती विचारलाई समेटेका हुनाले एउटै विषयभित्र पनि कवि अनुभूतिमा भिन्नता आएको हो र जन्मेका हुन् एउटै विषयका यति धेरै कविता ।









