Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

■प्रतिबिम्ब■ कविता

वासुदेव पाण्डेय ‘प्रभाकर’

छोरो दूर विदेशमा छ घरमा छन् वृद्ध आमा बुवा
हो ‘वृद्धाश्रम’ देश जीर्ण तरुमा के आउँथ्यो पालुवा ?
पाखा उर्वर खोरिया जमिनमा फुल्दै गयो है गुभो
मासी खेत ठड्याइए घरहरू लाग्दैन मान्छे उँभो ।
बेची दूध किनेर खान्छ मदिरा मान्छे बिक्यो अर्थमा
तिर्खा लाग्दछ कोकको, कि त चिया खाई भुल्यो व्यर्थमा ।
बिर्स्यो सात्विक, तामसीतिर झुकी गर्दै गयो आह्रिस
खाई बिस्कुट चाउचाउ कसरी होस् स्वस्थ यो मानिस ??
काँक्रो,फापर,आलु,प्याज,अदुवा,लट्ठे,घिरौला, सिमी
लौका,पर्वर, काउली र निगुरो, काभ्रो भुल्यौ है तिमी ।
घैया,धान,मकै,चना,गहुँ,मुला, बोडी र कोदो उवा
जे रोप्छौ सुन फल्न सक्छ श्रमले पो भन्नु हुन्थ्यो बुवा ।।
जानेको छ किनेर खान सजिलै मान्छे बन्यो आश्रित
जानेको छ छिनेर खान कतिले पैसा र धम्कीसित ।
खाना खोज्छ मिठो मिठो तर बसी भाँच्दैन सिन्को रति
खेती गर्न भुल्यौॅ हुनेछ कसरी यो देशको उन्नति ?
‘पायौॅ है अनुदान चामल’ भनी उफ्रेर जान्छन् लिन
बाँझो खेत छ कुर्छ चामल भने लागी ठुलो लाइन ।
बेलैमा यसतर्फ ध्यान नपुगे पर्नेछ पक्कै रुन
बढ्दो सङ्कट खाद्यको मुलुकमा छन् मौन मान्छे किन ?
मासी खेत खला र उर्वर थलो जग्गा घडेरी बने
नासी अन्न बनाइँदो छ मदिरा खाल्डो स्वयम् नै खने ।
भोका मानिस मर्दछन् दिनदिनै डोका भिरे तापनि
पोका खान्छ बनेर आधुनिक जो फुट्नेछ फोका बनी ।।
आफ्ना खेत र खर्क खोस्र तिनमा जोतेर बाली छर
जे जे फल्छ फलाइए कृषकझैॅ के मान्नुपर्ला डर ?
बारीमा लटरम्म अन्न त्यसले सारा भकारी भर
आफ्नै पौरखसाथ बाँच्न सकिए सम्पन्न होला घर ।।
▶ शार्दूलविक्रीडित ◀