Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

प्रेस चौतारीले गर्‍यो छ पत्रकारलाई पुरस्कारको घोषणा

माघ २२, २०७३ काठमाडौं

 

नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालले छ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। चौतारीको १९ ‍औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको हो।  प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले यसवर्ष हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार कृष्णमुरारी भण्डारी, अग्निशिखा पत्रकारिता पुरस्कार रघु मैनालीलाई प्रदान गरिने जानकारी दिए। त्यसैगरी वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार पर्साका भुषण यादव र दोलखाका मन्दिरा थापा, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार सिद्धराज राई र जनक नेपाललाई प्रदान गरिने उनले कार्यक्रममा जानकारी गराए।

चौतारीको स्थापना दिवसको अवसरमा घोषणा गरिने उक्त पुरस्कारहरु हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मे ३ मा  वितरण गरिन्छ। हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कारको राशी १५ हजार र अग्निशिखा पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैयाँ छ।

बाँकी दुई पुरस्कारको राशी १० हजार भएपनि दुईजनालाई प्रदान गर्दा ५/५ हजार दिइने प्रेस चौतारीले जानकारी दिएको छ।

संस्थापक र पूर्व अध्यक्षहरु सम्मानित स्थापना दिवसकै अवसरमा प्रेस चौतारीले स्थापनामा महत्वपूर्ण योगदान दिने तत्कालिन नेकपा एमालेका प्रचार विभाग प्रमुख तथा हालका पोलिटब्युरो सदस्य प्रदीप नेपाल, संस्थापक अध्यक्ष विजय चालिसे, पूर्व अध्यक्षहरु गोपाल थपलिया, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई, गगन विष्ट, निवर्तमान अध्यक्ष राजेन्द्र अर्याललाई दोसल्ला ओढाइ सम्मान गरेको छ। उनीहरुलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्मान गरेका हुन्।