Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

मानक नेपाली वर्णविन्यास सम्बन्धि अभिमुखीकरण गोष्ठी

७ फागुन २०७३
सुर्खेत

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजिष्टार डा. महेन्द्र कुमार मल्ल

नेपाली भाषाको मानक वर्णविन्यास सम्बन्धि अभिमुखीकरण गोष्ठी एवम् छलफल कार्यक्रम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी एवम् सामाजिक शास्त्र सङ्कायको आयोजना एवम् मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको समन्वयमा भएको उक्त कार्यक्रममा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद लुइटेलको विशेष आतिथ्यता रहेको थियो भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्र कुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली विषयका विभिन्न विद्यालयका शिक्षक, पत्रकार, प्राज्ञिक व्यक्तित्व, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका डीनहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. लुइटेलले नेपाली भाषालाई जबरजस्ती परिवर्तनका नाममा कतै राजनीति गरेर र कतै प्रलोभनमा परेर केही फरक व्यक्तिहरुले बिर्गान खोजेकोमा त्यसबाट बचाउनका लागि यो अभियान थालिएको बताउनु भयो । कुनै पनि भाषा कुनै पनि मन्त्रीले लगाएको तोकको भर बदल्न नहुने भन्दै उहाँले भन्नुभयो – नेपाली भाषालाई जुन द्विविधामा पारिएको छ । त्यसलाई चिर्नको लागि हामीले अभियानको थालनी गरेका छौँ । हाम्रो अभियान उत्कर्षमा पुगेको छ । अब यसले छिटै सफलता प्राप्त गर्छ । कुनै पनि भाषाको परिवर्तन गर्ने अधिकार प्रयोग्ताहरुलाई मात्रै भएकोले कसैले जबरजस्ती भाषालाई बाङ्गोटिङ्गो बनाउन पाइदैन । नेपाली भाषा हाम्रो पहिचान भएकोले यसलाई मृत्युको शैयामा पु¥याउन नदिने उद्घोष गर्दै उहाँले भन्नुभयो – भाषा बिगार्ने तत्वहरु सावधान हुनुहोस् यदि तपाइँहरुले बेलैमा सोच्नु भएन भने भोलि न तपाइँको जागिर रहने छ न तपाइँले चाहेको परिवर्तन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्र कुमार मल्लले भन्नुभयो – भाषा जटिलता देखि सरलतातिर जानु पर्छ । जनजिब्रो अनुसार भाषा परिवर्तन हुन्छ तर त्यसलाई ख्याल गर्नुपर्ने सबैको दायित्व हो । जसले जे भनेपनि नेपाली भाषाको वर्णविन्यासमा एक रुपता हुनु जरुरी छ ।

कार्यक्रममा डीनहरु डा. देब बहादुर खड्का, मस्त बहादुर गरङ्जा, यामबहादुर कार्की, इ. ललित विक्रम राणा, गणेशभक्त गौतम, खगेन्द्र अधिकारी अमृत, हरिलाल महतारा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी एवम् सामाजिक शास्त्र सङ्कायका डीन खोपीराम लम्सालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सहजीकरण वासुदेव पाण्डेयले गर्नुभएको थियो ।