Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

एमालेको जनसभा र यसको अर्थ

देशको दोस्रो ठूलो पार्टीको रुपमा आफ्नो स्थान सुरक्षित गरेको नेकपा एमालेले भरखरै मात्र मेची महाकालि अभियान सम्पन्न गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार संचालनको बेलामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका विचमा ठूलै आशा र भरोसा बाँडेका थिए । घर घरमा पाइप लाइनबाट ग्याँस वितरण गर्नेदेखि हावाबाट बिजुली निकाल्ने कार्यको बारेमा तत्कालिन प्रधानमन्त्रीले बोलिरहँदा उनको भाषण सुन्न गएका जो कोही गल्लल हाँस्ने गर्दथे ।

उखाने प्रधानमन्त्रीको रुपमा चिनिएका केपी शर्मा ओलीले उखान हालेका होलान् भनेर पनि धेरैले अड्कल गर्थे । साँच्चिकै राजनेताहरुले चाहने हो भने हावाबाट बिजुली निकाल्ने र घर घरमा पाइप लाइनबाट ग्याँस पुर्याउने कार्य गर्न नसकिने भने होइन । तर शुरुमा यस्तो कुरा सुन्दा धेरैलाई विश्वास लागेन र लागेको पनि छैन ।

सत्तामा रहँदा ज्यादै खुसी रहने र सत्ताबाट बाहिरिनु पर्दा गोहीको झँै आँसु चुहाउने चलन सबै दलका नेताहरुमा छ । माओवादी अध्यक्ष प्रचण्डले नै प्रस्ताव गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली माथि तिनै प्रचण्डले अब केपी शर्मा ओलीको सरकार माथि विश्वास छैन भनि अविश्वासको प्रस्ताव राखिरहँदा र त्यो अविश्वासको प्रस्ताव पास हुने तरखर भइरहेको बेला एक पटक केपी शर्मा ओलीले पनि गोही भैmँ आँसु बगाएका थिए । अझ केपी शर्मा ओली र प्रचण्डको संसदमा दोहोरी नै चलेको थियो ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा भारतले अघोषित रुपमा नाकाबन्दी गरेको थियो । त्यो नाकाबन्दीको सामना गर्दै गर्दा देश भक्ति बनेर राष्टवादी नेताको बिल्ला भिरेका केपी शर्मा ओलीलाई मधेश विरोधी नेताको धब्बा पनि लाग्यो ।

विशेष गरी केपी शर्मा ओलीकै कारणले एमाले मधेश विरोध भएको आरोप खेपिरहेका केपी शर्माले आफू र आm्नो पार्टीलाई लागेको धब्बालाई सफा गर्नका लागि एमालेले मेची महाकालिको अभियान संचालन गर्ने र त्यसबाट मधेशमा रहेका सबै दलका जनतालाई एमाले मधेश विरोधी होइन भन्ने जानकारी गराउनु मात्र नभई एमालेलाई मधेशमा जानै नदिने मधेशी दलहरुको उद्घोषलाई चिर्नु पनि थियो ।

एकातिर मधेश दलहरु एमालेलाई मधेशमा टेक्नै नदिने उद्घोषका साथ लागि परे । जुन नेपालको वर्तमान संविधानको विरुद्धमा थियो । देश भित्रका जुनसुकै स्थानमा शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने सबै दलको अधिकारलाई त्यसरी कुण्ठित गर्न खोज्नु मधेशी दलका नेताहरुले गरेको कु कार्य नै हो । अर्कोतिर सरकारमा बस्ने बेलासम्म मधेश जाने बारेमा योजना नै बनाएको एमालेले मधेशी दलहरुले सविधान संशोधनको लागि प्रस्ताव संसदमा पेश गरिसकेको अवस्थामा मेची महाकालि अभियान चलाएर उनीहरुलाई झनै चिडिने वातावरणको सिर्जना गर्यो । जसका कारण मधेशमा सरकार पक्षले अपनाउन नसकेको संयमताको कारण ४ जनाले ज्यान गुमाउनु पर्यो । जुनसुकै पक्षको कमजोरीको कारण भएपनि ४ जनाले ज्यान गुमाउनु दुःखको कुरा हो ।

स्थानीयतहको निर्वाचनको घोषणा भइसकेपछि चलेको मेची महाकालि अभियान चैत्र ५ गते सुर्खेतमा पुगेर समापन भयो । एमालेका नेता तथा कार्यकर्ताहरुले सुर्खेतमा ५० हजार भन्दा बढिको जनता जम्मा गर्ने उद्घोष गरिरहेका थिए । प्रदेश नं. ६ को प्रस्तावित राजधानीको रुपमा रहेको सुर्खेतमा प्रदेश नं. ६ का १० जिल्लाहरुबाट ५० हजार जनता उतार्नुलाई त्यत्ति ठूलो उपलब्धि एमालेले नठाने पनि हुन्छ । १० जिल्लाबाट ५ हजारका दरले उपस्थित हुने हो भने पनि सहजै ५० हजार संख्या पुग्छ । एमालेका शीर्ष नेताहरु अझ तीन जना पूर्व पधानमन्त्रीहरु समेतले सम्बोधन गर्ने सभामा ५० हजार जनता उपस्थित हुनु सामान्य मान्नु पर्छ । जे होस् कार्यक्रम शान्ति र सानदार रुपमा सम्पन्न भयो ।

मुुख्य कुरा स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै स्थानीय निर्वाचनको परिणामलाई आफ्नो पोल्टामा पार्नका लागि पनि एमालेले यो जनमासको प्रदर्शन गरेको हो । तर सुर्खेतको खुल्लामञ्चमा जम्मा भएका सबै एमाले हुन भन्ने भ्रममा एमाले नपरेपनि हुन्छ । किनकी अन्य राजनीतिक दलमा आस्था राख्नेहरु पनि खुल्ला मञ्चमा उपस्थित थिए । अर्कोतिर सभा र समारोह गर्दा उपस्थित हुने सबैले एमालेलाई मतदान गर्छन भन्ने भ्रमबाट एमालेका नेता तथा कार्यकर्ताहरु मुक्त हुन आवश्यक छ ।

मेची महाकालि अभियान होस् कि हिमाल दखि तराईको अभियान होस् । एमालेले भित्रको पुरानो रोगलाई जरैदेखि उपचार गर्न नसकेको खण्डमा स्थानीय निर्वाचनमा जुन आशा राखेर एमालेले अगाडि बढिरहेको छ । त्यो केवल निदाएको बेलामा देखेको सपना बाहेक अरु केही हुने छैन । आफ्नो पार्टीका उमेद्वारलाई भित्रैदेखि असहयोग गर्ने प्रकृतिको रोग एमाले भित्र उहिलेदेखि नै लागेको हो । जुन रोगलाई अहिलेसम्म एमालेले सञ्चो बनाउन सकेको छैन ।

हिजोका दिनमा एमाले भित्र रहेर पद नपाएका कारण अन्य पार्टीमा लागेकाहरु फेरी एमालेमै प्रवेश गर्दैमा एमालेले जत्ति खुसी मनाए पनि त्यो धेरै दिन नटिक्न सक्छ । किनभने पद लोलुपताका लागि पार्टी प्रवेश गर्नेहरु सधैँ एमाले भित्र रही रहन्छन् भन्ने नठाने पनि हुन्छ ।

२०४८ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भइसकेपछि औषतमा हेर्ने हो भने सबै भन्दा धेरै समय एमाले नै सरकारमा बसेको देखिन्छ । आफ्नो एकल सरकारको निर्माण गर्न नसकेपनि मिलिजुली सरकारको रुपमा एमालेले नै सरकार धेरै समय चलाएको छ । सरकारको नेतृत्व नै नगरे पनि सरकारमा सहभागीको नाताले एमाले लामो समयसम्म सरकारमा भएकोले पनि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले भन्दा लोकप्रिय कार्यक्रम जनता माझ ल्याउन न त अन्य दलहरुले नै सके न एमालेले सक्यो ।

नौ महिने अल्पमतको सरकारले गरेको आफ्नै गाउँ आफै बनाउ कार्यक्रमलाई कतिसम्म भजाउने हो एमालेले । अबका दिनमा नयाँ अन्य त्यस्तै लोकप्रिय कार्यक्रम ल्याएर अगाडि बढ्नु आवश्यक छ एमालेले । अन्यथा फेरी पनि बहुमत पुर्याउन सक्ने अवस्थाबाट एमाले बञ्चित हुने निश्चित छ ।