लाइसेन्स प्रकरणमा ५ करोडको घोटाला : कार्यालय प्रमुख निलम्बनमा परे
२०७३ चैत १६,
नेपालगञ्ज ।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । लाइसेन्सको परीक्षामा झण्डै ५ करोडको चलखेल भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको हो । लामो समयदेखि सवारी चालक अनुमति पत्रमा आर्थिक चलखेलको रुपमा चिनिएको यातायात व्यवस्था कार्यालय नेपालगञ्ज पछिल्लो पटक नराम्रोसँग फसेको छ । नेपाल सरकारको तलब सुविधा खाएर बसेका कर्मचारीहरु अख्तियारको दुरुपयोग गरी आर्थिक चलखेल गर्नमा सबै भन्दा बढी यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा रहेका छन् भन्ने गुनासाहरु बारम्बार आइरहने गरेका थिए ।
यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले गत भदौमा लाइन्सेन्सको आवेदन खोलेको थियो, जसमा झण्डै २३ हजार सहभागी भए । तर, कार्यालय प्रमुख सुवेदीको नेतृत्वमा ९० प्रतिशत आवेदकको कापी नै जाँच नगरी पास गराएको खुलेको छ । यसमा करिव ५ करोडको आर्थिक चलखेल भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको मन्त्रालय स्रोतले जनाएको छ । नेपालगञ्ज कारकाँदो घर भएका रामप्रसाद जैसीले भने लिखित परीक्षामा पैसा नदिएको कारणले आफ्नो लिखितमा नै नाम ननिस्केको बताए । तर आज बल्ल यथार्थ खुल्यो । यसरी अनियमित गर्नेहरुलाई कारवाही गर्नै पर्छ उनको भनाई थियो ।
सुवेदीलाई निजामति सेवा ऐन अनुसार निलम्बन गरी २४ घन्टाभित्र यातायात व्यवस्था विभागमा हाजिर हुन भनिएको छ । मन्त्रालयले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत १४ जना कर्मचारीसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।






