Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

विश्व स्वास्थ्य दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

२२ चैत्र २०७३
पार्बती थापा / सुर्खेत ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले विश्व स्वास्थ्य दिवसको अवसरमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्ष अप्रिल ७ का दिन मनाउँदै आएको विश्व स्वास्थ्य दिवसको यस वर्षको नारा ‘उदासिनताको रोग : खुलेर कुरा गरौ’ भन्ने रहेको छ ।

उक्त कार्यक्रममा दिक्दारीपना (डिप्रेसन) को बारेमा जिल्ला जन स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद ज्ञवालीले संचारकर्मीका साथ प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार दिक्दारीपना (डिप्रेसन) विशेष गरी महिलाहरुमा अझ युवा अवस्थामा बढि हुने गरेको पाइएको छ । विश्वमा १८.४ प्रतिशतदेखि ३७ प्रतिशतसम्म यो रोगका विरामीहरु रहेको प्रस्तुत तथ्याँङ्कमा उल्लेख छ । जसमध्ये १० प्रतिशत महिलाहरुमा यो रोग देखा परेको छ । सुर्खेतमा यस आ.व. मा ३२८ जनामा यो रोग देखिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याँङ्कलाई हेर्ने हो भने प्रत्येक १ लाखमा १० जनालाई यो रोगको असर पर्ने देखिएको छ । नेपालको इलाम जिल्लामा यो रोगका विरामीहरु अन्य जिल्लाको दाँजोमा धेरै देखिएका छन् । कडा डिप्रेसन भएमा मानिस आत्महत्या सम्म गर्न पुग्छ ।

खास गरी मन नरमाइलो हुने, उदास हुने, शारिमा शक्ति नै छैन जस्तो हुने र थकाइ बढि लाग्ने, कुनै कुरामा खुसी नहुने, एक्लै बस्न मन पराउने, बारम्बार रुने, महिलाहरुमा मासिक स्राव नहुने जीउ पोल्ने, रिङ्गटा लाग्ने, टाउको र शरीरका भागहरु दुखेको महसुस हुने यसका लक्षणहरु हुन भने वंशाणुगत, अत्याधिक मदिरा सेवन, मानसिक तनाव, अप्रत्यासित घटना, लागु पदार्थ दूव्र्यसन, मधुमेह, छारेरोग, पारिवारिक कलह जस्ता यो रोग लाग्ने कारणहरु रहेका छन् । नेपालको सन्दर्भमा बालविवाह, छाउपडी प्रथा, महिलाहरुको शारीरिक परिवर्तन समेत रहेका छन् ।

निरन्तरको व्यायम, सन्तुलित भोजन, आदिको प्रयोगले यो रोगबाट बच्न सकिन्छ भने रोग लागिहालेमा पनि औषधिको सेवनले यो रोग निको हुन्छ । जिल्ला जन स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद ज्ञवालीका अनुसार जुनसुकै कारणले भएको भएपनि दिक्दारीपना (डिप्रेसन) निको हुन्छ ।