छ नं. प्रदेशमै पहिलो पटक टिकटमा साहित्य
सुर्खेत
१० वैशाख २०७४
मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको आयोजनामा छ नं. प्रदेशमै पहिलो पटक टिकटमा साहित्य कार्यक्रमको आयोजना गरिएको छ । पछिल्लो समयमा गजलले चौतर्फी विकास गरिरहेका बेलामा सुर्खेतमा रु १०० दरको टिकट राखी साहित्यिक कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । कवि भरत रोदन साउदले कविता र गजलकार ऋषि शर्मा सुदामाले गजल वाचन गर्नुभएको उक्त कार्यक्रममा गीतकार एवम् संगीतकार दिनेश गौतमले गजल गायन समेत गर्नु भएको थियो ।

स्थानीय घण्टाघरको सभा हलमा भएको उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख जंगबहादुर डाँगीले भन्नु भयो – अन्य जिल्लाहरुमा विशेष गरी काठमाडाँैमा मात्र हुने यस्ता कार्यक्रम सुर्खेतमा पनि शुरु भए अब सुर्खेतले साँच्चिकै नेपाली भाषा, कला, साहित्य र संस्कृतिको भावना बुझेर अगाडि बढ्छ । हलमा दर्शक स्रोताहरुको भीडलाई अंकित गर्दै उहाँले भन्नुभयो – सुर्खेतमा पनि स्रष्टाको मूल्य र मान्यतालाई बुझेर टिकटै काटेर यतिका दर्शक स्रोताहरु साहित्य सुन्न आउनु खुसीको कुरा हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, शिक्षाप्रेमी गेहेन्द्रप्रसाद दहाल, साहित्यकारहरु महेन्द्र चन्द महासागर, विद्या निर्दोष पहाडी, मणि रिमाल, दीपक आचार्य जलन, लगायतको उपस्थिति रहेको थियो । मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव पहल असिम थापाले गर्नुभएको थियो भने शब्द स्वागत उपाध्यक्ष सरस्वति पन्तले गर्नुभएको थियो ।






