Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

बन्यो कानुन : पशुलाई पनि ८ घण्टा भन्दा बढी काममा लगाउन नपाइने

जेठ १४, २०७४

काठमाडौं ।

पशुलाई मानिसले आफूखुशी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई बन्देज लगाउन सरकारले कानुन ल्याएको छ। पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका जारी गर्दै पशुलाई अधिकतम ८ घण्टामात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो। त्यतिमात्र होइन, वृद्धावस्थामा पुगेका पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ। अधिकतम ८ घण्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकमा श्रम ऐनले गरेको छ।

पशुपक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो। निर्देशिकाले बूढो भएका पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ। पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ। पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने तथा डर त्रास र तनाव हुन नदिनका लागि निर्देशिका ल्याइएको हो। ‘भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्न र पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्न जरुरी छ’, निर्देशिकामा भनिएको छ।

निर्देशिकाले घरमा पालेका पशुको जानकारी स्थानीय तहमा रहेका सरकारी निकायमा दर्ता गर्नुपर्ने प्रावधानसमेत तोकिएको छ। पशुले काम गरिरहेका बेलमा मानिसले पुच्छर बटार्ने, चोटपटक लाग्नेगरी कुट्ने गरेको देख्न पाइन्छ तर निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ। दर्तावाला पशुचिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ।