Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

स्वतन्त्र उम्मेदवारको चुनावी सभा : समाजलाई जिताउने र पार्टीको हालीमुहाली तोड्ने अभियानको शुरुवात भएको घोषणा

२०७४ वैशाख २७
सुर्खेत


वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रबाट उम्मेदवार बनेका गेहेन्द्र प्रसाद दहालले आफ्नो चुनावी सभा सम्पन्न गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्दै गेहेन्द्र प्रसाद दहालले भन्नुभयो – मेरो जन्मभूमि म जन्मेको एक मुठी माटो उठाएर कसम खान्छु म वीरेन्द्रनगरलाई समृद्ध बनाउनका लागि उम्मेदवार बनेको हुँ नगरपालिका भित्र आफ्ना पार्टीका कार्यकर्ताहरु भर्ति गर्नका लागि होइन ।

आफू समाज जिताउने अभियानमा लागेको र समाजको यथास्थितिको परिवर्तनका लागि उम्मेदवारी दिएको बताउँदै उहाँले भन्नुभयो – विपी, मदन भण्डारी, माक्र्स, लेलिन जस्ता महान राजनीतिक नेताहरुले विचार लिएर जनताका सामु गएको बेला अपहेलना मात्र होइन निकै कष्टपूर्ण जीवन भोग्नु परेको थियो तर पनि उहाँहरु राजनीतिक जीवनमा सफल बन्नुभयो । दहालको कथन थियो – हो राजनीतिक दलहरुले आफ्नो र पार्टीको स्वार्थपूर्ति गर्नका लागि नगरवासीहरुलाई दास सम्झने प्रबृत्तिको अन्त्यका लागि मैले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएको हुँ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै दहालले प्रश्न गर्नुभयो –वीरेन्द्रनगर नगरपालिका भित्रको ८३ विगाह जग्गा विभिन्न बहानामा बाँडेर आफ्नो नीजि बराबर बनाइएको छ । त्यसको हिसाव किताब गरी जनताको सम्पत्ति जनतालाई फर्काउनका लागि मेरो उम्मेदवारी हो । शिक्षाप्रेमी एवम् सामाजिक अभियान्ताका रुपमा चिनिनु भएका दहालले भन्नुभयो – पर्यटनको विकासका लागि भएका पूर्वाधारहरुको संरक्षण र सम्बद्र्धन गर्न नसक्नेहरुले कसरी पर्यटन विकासको कुरा गरिरहेका छन् । उहाँले भन्नु भयो – बुलबुले तालको अवस्था अलपत्र छ, क्षेत्रीय हस्पतालको अवस्था दयनीय छ, पार्किङ्गस्थलको व्यवस्था हुन सकेको छैन भन्दै पार्टीलाई जिताउने हो एउटा मात्र पार्टीको जित हुने भएकोले स्वतन्त्रलाई जिताउँदा सम्पूर्ण समाजको जित हुने उहाँको दावी थियो । पार्टीलाई जिताउँदा पार्टीको हित हुनेछ भने व्यक्तिलाई जिताउँदा समाजको हित हुने उहाँको भनाई थियो । माओ, लेलिन, बिपी, मदन भण्डारी नै मेरो राजनीतिक आदर्श भएको दहालले बताउनु भयो ।


आफ्ना एजेण्डाहरु सबै घोषणा पत्रमा सार्वजनिक भइसकेकोले मेरा एजेण्डा र मैले विगतमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा आफ्नो चुनाव चिन्ह ठेकीमा मतदान गर्न दहालले नगरवासीहरु समक्ष अनुरोध समेत गर्नुभयो ।


कार्यक्रममा रविन्द आचार्य, जेष्ठ नागरिक कृष्णलाल दहाल, सिर्जना सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम दहालका मातापिता कृष्णप्रसाद दहाल र बिष्णु कुमारी दहालको संयुक्त सभापतित्वमा सम्पन्न भएको थियो ।