Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

घ्वाच्च घोच्यो – संखदास

गारो भो गारो । अब गामँँमा खसी, कुखुरा पाउन गारो हुने भो । के को स्थानीय निर्वाचन आउनु थियो । भकाभक जिते नेताहरुले । अनि एउटै गाममा दिनमा ६/७ वटा खसीलाई मृत्युवरण गराउन थाले । होइन यो हरिलठ्ठकले बुझ्न नसकेको कुरा यिनीहरु गामको विकास गर्नका लागि जितेका हुन कि गाममा भएका खसी कुखुरा सिध्याउन जितेका हुन हँ । अचम्म पो छ त हजुर । लु खतम ।

एउटा भएको घडेरी धपेडी समेत ठाममा राखेर दाम हात पारेपछि चुनाप जितिन्छ भनेर लाग्नेहरु के जित्थे बरा जित्नको लागि त घडेरी मात्र होइन घर नै ठाममा राख्नु पर्ने रहेछ । अनि पो जितिने रहेछ त भन्ने कुराले प्रमाणित गरायो रे । हारेका भा त भारतै पस्ने योजनामा थिएँ जिते अब त चुनापँ लागेको ऋण तिर्न सकिन्छ घिन लाग्दो पाराले अपहेलित हुन नपर्ने भो भन्दै पो छन् रे त । अनि सीता ल्याउने हनुमान पगरी गुथ्ने … भने झैँ बुढाले चुनाप जितेर खसी काट्न मस्त भएको बेलाँ नेता जी की बुढिको फुर्ति सानो छैन बाबै । यिनले आफै जिते जस्तो गर्दै पो छन् त । उता उपाध्यक्षहरुका बुढा पनि के कम । उनलाई त प्रतिनिधिको रुपमा दस्तखत गराउन मात्र खडा गरेको रे । चलाउने र आन्तरिक आदेश गर्ने त मैले पो भन्दै खुब फूर्ति झार्दै तरुनीसँग आँखा मार्दै कुरा गरेको यही हरिलठ्ठकको खोपिल्टो परेको आँखाले देखेको हो । सुनेको कुरा धेरै लेख्ने बानी छैन । हरिलठ्ठकले देख्यो भने चै छाड्न गारो छ । लु खतम ।

काँडाचौरमा रहेको एउटा चिया पसलमा सुरुप सुरुप चिया तान्दै गरेकी चौवनी सदस्यकी बुढीले पनि आफ्नो पावर सो गरिन् । अठनी सदस्य नै बनाएको भए हुनि नि यो चौवनी जाबो त कति नै हुन्छ र है रे क्या । विचरा उनलाई चौवनीको अर्थ पनि थाह रहेनछ जस्तो लाग्यो । अठनी सदस्य जितेको भए त तोला पुग्न कति बेर पो लाग्थ्यो होला रे । हँसाउनुको पनि सीमा हुन्छ नि । पल्लो कुनामा बसेका विचरा जागिर छाडेर तोला नै कमाउने दाउले टिकट समाउने योजनामा रहेछन् । पार्टीले उनलाई टिकट नै चाहिने हो भने कि हुलाकमा जानु कि बसपार्कको काउण्टरमा जानु भन्ने आदेश दिएपछि निशास बनेका रहेछन् । उनले तोलाको टिकट मागेको पार्टीका तर्फबाट त्यहाँको खोला नजिकै बस्नेले चुनापँमा जितेर रातै भएर आएको देखेर टिकट नपाएका नेता जी आम्मै भन्दै निधार खुम्च्याउँदै निधारमा हात लगाएको देखेर सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ