Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कसरी आइपुगे वडा अध्यक्षसम्म नन्दलाल

सुर्खेत ।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ को वडा अध्यक्ष पदमा नन्दलाल शर्मा विजयी भए । जाजरकोट जिल्लाको साविक साल्मा गा.वि.स. वडा नं. ७ मा नन्दलाल शर्मा एक सामान्य परिवारमा जन्मिएका हुन् ।

नन्दलाल शर्मा (वडा अध्यक्ष – वी. न.न.पा. वडा न. ११ सुर्खेत)

विद्यालयस्तरको शिक्षा हासिल गर्ने क्रममा उनी जाजरकोटको जनप्रिय माध्यमिक विद्यालय दशेरामा कक्षा ९ सम्मको अध्ययन पूरा गरी उनले दैलेखको ज्वाला मा.वि. मा कक्षा १० को पढाइ पूरा गरे । उक्त विद्यालयबाट एसएलसी परीक्षा पास गरेका नन्दलाल शर्मा घरमै बस्न थाले । उच्च शिक्षा अध्ययनको लागि खासै वातावरण बन्न सकेन उनका लागि तर एसएलसी परीक्षा पास गरेको केही वर्ष पछि मात्र उनले ज्वाला उच्च माध्यमिक विद्यालय वेस्तडा दैलेखबाट कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने अवसर प्राप्त गरे । ७ कक्षामै पढ्ने बेला २०४६ सालदेखि उनले राजनीति बुझ्न थाले । कृष्ण बहादुर शाहीको राजनीतिक शिक्षाबाट प्रभावित भएका उनी २०४६ सालमै अनेरास्ववियूको राजनीतिमा आन्तरिक रुपमा सक्रिय हुन थालिसकेका थिए । कलिलो उमेरमै २०४७ सालमा साल्मा गाउँ कमिटीको सदस्य हुँदै २०४८ सालको आम निर्वाचनमा राजनीतिमा पूरै होमिएका थिए, नन्दलाल ।

कृष्ण बि.सी. र रत्नप्रसाद शर्मा न्यौपानेको संगतले उनलाई कम्यूनिष्ट राजनीतिको प्रभाव पर्नु स्वभाविक ठान्छन् उनी । कुनै पनि विचारधारा राख्नेहरुसँग राजनीतिक आग्रह र प्रर्वाग्रहको व्यवहार गर्नुहुँदैन भन्ने मान्यता छ नन्दलालको । सरल स्वभाव र सबैसँग मिल्न सक्ने व्यवहार भएकै कारण राजनीतिक रुपमा फरक आस्था राख्नेहरु पनि नन्दलालको स्वभावबाट प्रभावित थिए जाजरकोटको साल्मामा । बुबा किसान अनि आमा घरकै काममा व्यस्त भएकोले उनी फुर्सदको समयमा बुबालाई सहयोग गर्थे । घर परिवारमा काम बढि गर्नु पर्ने भएपनि खाना र लाउनका लागि भने खासै दुःख थिएन उनको परिवारमा ।

२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा आफ्नो वडा देखि साल्मा गाविसमा समेत एमालेलाई जिताउने मुख्य भूमिकाको रुपमा नन्दलालले आफूलाई स्थापित गरे । त्यसपछि उनी पार्टीको इलाका कमिटीको सदस्य समेत हुने अवसर प्राप्त गरेपछि जाजरकोट जिल्लामा समेत नन्दलालको नामले चर्चा पाउन थाल्यो । जाजरकोट जिल्लामा राजनीतिक रुपमा नाम चल्न थालेकै बेलामा उनले आमालाई गुमाउनु प¥यो ।

एकातिर आमाको देहवासन भएको पीडा थियो भने अर्कोतिर आफू भन्दा साना भाइ बहिनीहरुको अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने बाध्यतामा परे नन्दलाल । दैव लागेको बेलामा दशा पनि लाग्छ भन्ने उखान नन्दलालको जीवनमा पनि आइलाग्यो । त्यतिबेला देशमा माओवादीको सशस्त्र द्वन्द्व चलिरहेको थियो । आफ्नै गाउँका फरक विचारधारा राख्नेहरुको संलग्नतामा उनलाई माओवादीसँग संलग्न भएको आरोप लगाइयो र विभिन्न झुठा मुद्दामा फसाइयो ।

डेढ महिनाको जेल जीवनले उनको शारीरिक स्वरुप बदले पनि राजनीतिक विचार बदल्न सकेन । जसले गर्दा उनको राजनीतिक विचार अझ बलियो भएर आएको अनुभव छ उनीसँग । एकातिर मुद्दाको तारेख खेपिरहेका नन्दलाल अर्कोतिर २०५६ सालको आम निर्वाचनमा एमालेलाई जिताउने अभियानमा लाग्न भने छोडेनन् । २०५६ सालमा जाजरकोट क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट सांसदको उम्मेदवार बनेका रत्नप्रसाद शर्मा न्यौपानेको सारथीको रुपमा भूमिका निर्वाह गरेका थिए नन्दलालले ।

पारिवारिक कारणले २०५७ सालमा उनी बसाइ सराइ गरेर सुर्खेतको तत्कालिन लाटीकोइली गाविसको वडा नं. १ मा आइपुगे । उनी बसाइ सरेर सुर्खेत आएपनि पार्टीको राजनीति गर्न छाडेनन् । राजनीतिलाई राम्रोसँग बुझेका नन्दलाल छोटो समयमै सुर्खेतका राजनीतिक कर्मीसँग पनि घुलमिल भए । त्यसको फलस्वरुप उनी लाटीकोइली गाउँ कमिटी सदस्य, सचिव हुँदै पटक पटक अध्यक्ष भएर पार्टी संचालन गरे ।
सामाजिक काममा समेत निकै चासो दिने र सबैसँग मिलनसार व्यक्तित्वको रुपमा आफूलाई प्रस्तुत गर्ने भएकैले उनी जनसेवा उच्च माध्यमिक विद्यालयको दुई पटकसम्म व्यवस्थापन समितिको सदस्य हुँदै अध्यक्ष समेत भए ।

२०६१ सालको फागुन ७ गतेका दिन ब्ल्याक आउट गर्ने कार्यक्रम अनुसार उनी त्यो आन्दोलनमा होमिएका थिए । त्यसै क्रममा उनले प्रहरीको लाठी प्रहारबाट औषधी उपचार समेत गर्नु परेको थियो । २०६२÷०६३ सालमा भएको आन्दोलनमा समेत सक्रिय सहभागीता जनाएका नन्दलाललाई अझ पार्टीको कार्यमा लाग्ने अठोट प्राप्त भयो । जसले गर्दा उनले क्षेत्रीय कमिटीको सदस्यको जिम्मेवारी समेत प्राप्त गरे ।

नेपालको संविधान कार्यान्वयनको शुरुवात गर्ने कार्य भनेको नै स्थानीय तहको पहिलो चरणको निर्वाचन हो । पहिलो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ को वडा अध्यक्षको उम्मेदवार बनेका नन्दलालले वडामा समेत विजयी प्राप्त गरे । आफ्नो विगतलाई स्मरण गरेर आफ्नो क्षेत्रका जनतालाई आफ्नो कर्तव्य र जिम्मेवारीलाई पूरा गर्ने कार्यमा कुनै कञ्जुस्याँई नगर्ने उनले प्रण समेत गरेका छन् ।

(सूक्ष्मदृष्टि साप्ताहिकका लागि नन्दलाल शर्मासँग कपिल आचार्यले गरेको कुराकानीमा आाधरित)