Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

व्यङ्ग्य – घ्वाच्च घोच्यो

सुर्खेताँ फोर लेन बन्दैछ अब सुर्खेत समृद्ध हुन्छ भनेर खुब रमाइरहेका सुर्खेतीहरु फोरलेन निर्माणमा भएको ढिला सुस्तीका कारण उठेको हिलोमा लडेर चट्याँङ्गको झड्का झैँ पछारिएको देखेर यो फोरलेन हो कि फोहोरल्यान हो भनेर सुर्खेतीहरुले आफैलाई प्रश्न गरिरहेका छन् । लु खतम ।


काठमाडुको तीनकुने, कोल्पुर नेपालगञ्जको सडक खण्ड देखेर लोभिएकाहरु यतिबेला शुरु भएको बर्षातले बनाएको हिलो पानी डुब्दै पो छन् हो गाँठे । पानी परे हिलाम्य घाम लागे धुलाम्ये हुने फोहोरलेनले आवतजावतलाई सजिलो भन्दा पनि छेउ छेउको बाटोमा हिड्दै गर्दा गाडिले दिएको झड्कासँगै उछिट्यिो सोझो टएको हिलोले जागिर खान जान लागेका कर्मचारी हुन कि रोपाइँ गरेर आएका हलि बाउसे हुन छुट्याउन गारो हुन थाल्यो है । लु खतम ।

फोहोरल्यान सुविधा दिने भन्दा दुःख दिने काम बढि गरिरहेको छ । यो कहिले सकिएला नि भन्दै बाटोमा हिलोसँग तर्किन खोज्नेहरु पनि छन् । अनि मालिक सा’बलाई कहिले तयार होला हजुर यो फोहोरल्यान भन्दा झर्किन खोज्नेहरु पनि छन् । यी तर्किने र झर्किनेहरु जति फोहोरल्यानमा सफा कपडा लगाएर कहिले हिड्न पाइन्छ भनेर पर्खिनेहरु दिक्क मान्न थालेका छन् । नमानुन पनि कसरी उता खेतमा पानी नभएर ब्याड बनाउन नपाएको चर्को झोक र यता पानी भरिएको फोहोरल्यानको चोक देखेर दिक्क किन मानेको भनेर सोध्नु पनि भएन । लु खतम ।

लु निर्माणको ठेकालाई बलियोसँग समातिरहेकाहरु यो फोहोरल्यानलाई सफा ल्यान बनाउने काम छिटो गर्नु प¥यो । उता बसपार्कको हालत पनि उस्तै छ । बसपार्कमा त यसपालि रोपाइँ गर्ने योजना समेत छ रे । असार पन्ध्रमा दहि च्यूरा खाँदै बसपार्कमा रोपाइँ गर्ने कार्यक्रममा यो हरिलठ्ठकलाई पनि चुले निम्तो पो आएको छ । चुले निम्तो मान्न जाउँ भने बसपार्कमा रोपाइँ गर्नेहरु हो भनेर फेरि पुलिसले लैजाला भन्ने डर नजाउँ भने निम्तो गर्नेहरु रिसाउलान् भन्ने डर । ए बा जो होचो होचोको मुखमा घोचो भन्ने सम्झेर गालामा हात लगाएको यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ