Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

कसंकोषको अन्तरक्रिया

सुर्खेत ।
कर्मचारी संचय कोष (कसंकोष) शाखा कार्यालय सुर्खेतले सेवाग्राही (संचयकर्ता) हरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सुर्खेतस्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कर्मचारी संचयकोष शाखा कार्यालय सुर्खेतका प्रमुख राम प्रसाद लामीछानेले कर्मचारीहरुले संचय गरेको रकम उनीहरुको आफ्नै खातामा जम्मा हुनेभए पनि संचय कोष दाखिलाको क्रममा कहिले काँही दाखिलाकर्ताहरुले गरेको सानो गल्तीका कारण लामो समयसम्म रकम सम्बन्धित संचयकर्ताको खातामा दाखिला हुन नसकेको बताए ।

कर्मचारी संचयकोषले पछिल्लो समयमा शैक्षिक ऋणदेखि आवाश ऋणसम्म लगानी गरेको र यसले पनि बैंकहरु जस्तै इ–सेवा देखि एसएमएस सेवाहरुसम्म संचालन गरिरहेकोले अब प्रविधिको उपयोग गरी संचयकर्ताहरुले आफ्नो संचय रकम आफ्नो खातामा जम्मा भए नभएको हेर्न सकिने भएकोले पहिलेका जस्ता दुविधाहरु नरहनेमा आफू विश्वस्त भएको उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले संचय कोषले गरेका कार्यहरुको प्रशंसा गर्दै आउँदा दिनहरुमा अझैँ स्तरीय सेवा दिनु पर्ने र सबै संचयकर्ताहरुको मन जित्न सक्नु पर्ने बताए ।
कार्यक्रम कर्मचारी संचयकोष शाखा सुर्खेतका प्रमुख राम प्रसाद लामीछानेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सहजीकरण संचयकोष शाखा सुर्खेतका सूचना अधिकारी भरत कुमार साउदले गरेका थिए ।