Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

देउडामा स्थानीय ठेट भाषाको प्रयोग हुनु पर्छ

जुम्ला जिल्लाको तत्कालिन गज्र्याङ्कोट ४, हाल गोठीचौर गाउँपालिका वडा नं. ४ मा २०२७ सालमा माता मेदु बुढा र पिता गोरखबहादुर बुढाको प्रथम सन्तानको रुपमा जन्मेर हाल वीरेन्द्रनगरलाई आफ्नो कर्मथलो बनाई वीरेन्द्रनगर ३ मा स्थायी बसोबास गर्ने रामबहादुर बुढा पेशाले सरकारी जागिरे हुनुहुन्छ । सरकारी जागिर गर्दा गर्दा पनि नेपाली कलाकारितामा समेत त्यत्तिकै योगदान दिन सफल रामबहादुर बुढा देउडा गीतसँगसँगै लोक गीत र दोहोरीमा समेत राम्रो दख्खल राख्नुहुन्छ । जुम्लाको सामान्य परिवारमा जन्मेर पनि संस्कृति र लोक तथा देउडा गीतको पाखरी रामबहादुर बुढा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति सुर्खेतको उपाध्यक्ष भई दुई कार्यकाल पूरा गरेर हाल सोही संस्थामा भेरी अञ्चल कमिटीको सदस्य समेत हुनुहुन्छ । उहाँ सबै भन्दा पहिले सुर्खेतमा रहेको बागिना समूहमा आवद्ध हुनु भएको हो भने अहिले पनि बागिना समूह मार्फत थुप्रै कार्यक्रममा सहभागी बनिरहनु भएको छ । उहाँसँग खगेन्द्र अधिकारीले गरेको भलाकुसारीः

रामबहादुर बुढा

तपाईं कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?
गाउँमा हुने विभिन्न कार्यक्रमहरु, मेला जात्राहरुमा जुम्लामा सबै भन्दा अब्बल मानिने भनेको देउडा नै हो । त्यसमा पनि मेरो बुबा र काका देउडा गायन क्षेत्रमा लाग्नु भएको थियो । शुरु शुरुमा उहाँहरुको सिको गर्दै पछि पछि लागेर गाउन थाले । त्यसपछि आफैले पनि नेतृत्व गरेर आउन सक्छु जस्तो लाग्न थाल्यो । अनि आफ्नै समकालिन साथीहरुसँग गाउन थाले । त्यसरी जात्रा मेला र विभिन्न उत्सव पर्वहरुमा गाउँदै गर्दा जुम्लाका आसपासका क्षेत्रमा समेत गाउन थालियो । देउडा गीत भनेको म्यूजिक बिना पनि गाउन सकिने गीत हो । तर पछि स्ेटज कार्यक्रमहरुमा म्यूजिकमा समेत गाउने कोशिस गरे । जसले आज मलाई आफ्नो क्षेत्रमा देउडा गाउन सक्ने विद्यार्थीकै रुपमा दर्ज ग¥यो भन्न रुचाउँछु ।

पछिल्लो समयमा देउडा गीतको अवस्था कस्तो छ ?
देशमा भएको राजनीतिक परिवर्तनले अरु अरु क्षेत्रमा धेरै प्रगति गर्न सक्यो तर दुःखका साथ भन्नु पर्छ कला, संस्कृति र साहित्यको क्षेत्रमा यसले जति गर्नु पर्ने थियो त्यति गर्न सकेन । देशमा भएको परिवर्तन अरुका लागि भए संस्कृतिका लागि भएनन् । हाम्रा गाउँ गाउँमा भएका ऐतिहासिक धरोहरका रुपमा रहेका देउडा, टप्पा लगायत पुराना संस्कृतिको जगेर्ना गर्ने तर्फ कसैले सोचेनन् । सायद पश्चिमा संस्कृतिको प्रभाव परेकोले होला । हाम्रा देउडाहरु, हाम्रा लोक गीतहरु अनि सिंगारु, टप्पा जस्ता गीतहरु अहिले गाउनेहरुको जति कमी छ सुन्ने स्रोताहरुको पनि त्यत्तिकै कमी छ । मैले यो भनिरहँदा देउडा सुन्ने स्रोताहरु छैनन भन्न खोजेको होइन । पछिल्लो पुस्ताको लगावको अभाव भएको जस्तो लाग्छ । त्यसलाई जगेर्ना गर्नकै लागि भएपनि सुर्खेतको वीरेन्द्रनगरमा प्रत्येक महिनाको १ गते र १५ गते देउडा गाउने जुन परम्परा बसालेका छौ त्यसले पनि देउडा सुन्ने र सुनाउने संस्कृतिको विकास भएको जस्तो लाग्छ ।

पछिल्लो चरणमा त गीतहरु त्यत्ति बिक्दैनन् । प्रविधिले पुरै फड्को मारिसकेको छ । त्यसमा पनि देउडा गायकहरु यस क्षेत्रमा स्थापित हुन अझ गा¥हो छ नि है ।
नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको जुम्ला । त्यही जुम्लाको लोकप्रिय गीतको रुपमा रहेको देउडा । यो पप गीत जस्तो वा आधुनिक गीत जस्तो त्यति धेरै म्यूजिकले सिंगार पटार भएको पनि हुँदैन । देउडामा सकेसम्म स्थानीय ठेट भाषाको प्रयोग हुनु पर्छ अनि यसमा अझ धेरै मिठास आउने गर्दछ । त्यसैले हामी अहिले शहरमुखी भएकोले पनि हाम्रो भाषालाई ओझेलमा पार्न थालिसकेका छौ । पछिल्लो पिंठीका सबै युवाहरुले देउडाको गीतमा गाइने शब्दहरुको अर्थ समेत नबुझ्ने भएकोले पनि यस तर्फ ध्यान जान नसकेको हो कि भन्ने लाग्छ । तपाइँले भने झैँ प्रविधिले फड्को मा¥यो । त्यो प्रविधिले अन्य क्षेत्रका गीतहरुका क्यासेट बिक्न छाडेको सत्य हो । तर यस प्रविधिको विकासले देउडालाई भने थोरै भएपनि मलजल गरेको छ । किनभने विभिन्न सामाजिक सञ्जालदेखि यूट्यूब च्यानलहरु समेतमा देउडा गीतहरु राखिएका छन् जसले गर्दा यसको प्रचार प्रचार भएको छ । अब कुरो आउँछ स्थापित हुने । लोकगीतमा लागेका सबै कलाकार स्थापित भएका छन् ? आधुनिक गीत गाउने सबै कलाकार नारायणगोपाल जस्ता भएका छन् र ? अनि देउडाको क्षेत्रमा नन्दकृष्ण जोशी, भुवन दाहाल, यज्ञराज उपाध्याय, भोजराज भट्ट, हरिना साउद, पूर्ण शाही, शेर बहादुर खड्का लगायतका कलाकारहरु स्थापित भएका छन् । निरन्तरता र लगनशीलता अनि दर्शक र स्रोताहरुको मन जित्ने स्तरीयता भयो भने स्थापित हुन गा¥हो छैन । तर एक दुई गीत गाएर म स्थापित हुन सकिन भनेर कसैले भन्छ भने त्यो उसको लगनशीलता र निरन्तरता होइन त्यसैले ऊ स्थापित हुन सकेन भन्ने हो ।

गीत नै गाएर भविष्यमा कुन स्थानसम्म पुग्ने लक्ष्य छ यहाँको ?
गीत गाएरै म आफ्ना दैनिक आवश्यकताहरु पुरा गर्छु अनि राष्ट्रिय स्तरमै मेरो अग्रजहरुसँग प्रतिस्पर्धा गर्छु भन्ने होइन । म निरन्तरता दिन्छु जसले हाम्रो यस क्षेत्रमा भएका लोक, कला, संस्कृतिको जेगर्ना गर्नका लागि एउटा इँटा थप्न पाए भने पुग्छ मलाई । मैले गायनको साथसाथै मादल बजाउने काम पनि गर्छु । त्यसैले मैले बजाएको मादलसँगै मेरो श्वरमा आएको देउडा गीतले नेपालका पूर्वदेखि पश्चिमसम्म देउडाको रन्को पु¥याउन सकियोस् । म आफू कहाँ पुग्नु छ र ? तर मैले आफूले सकेको मिहिनेत गरेर यस क्षेत्रलाई बचाइ राख्ने जुन योजना बनाएको छु त्यो योजनामा सफल हुन सके भने मैले प्राप्त गर्न खोजेको सफलता हात लागेको मलाई त्यतिखेर लाग्नेछ । उदाहरणको रुपमा भनौँ – यस क्षेत्रबाट राष्ट्रिय अन्तराष्ट्रियस्तर सम्म ख्याती कमाएका लोक गीतका संकलक बाद्यबादनमा निकै अब्बल रुपमा दख्खल राख्नु हुने प्रेमदेव गिरी गुरुलाई आज आफूले संकलन गरेका गीतहरु कालजयी गीतको रुपमा गुञ्जिरहँदा कति गौरव लाग्छ होला । हो देउडाको सवालमा कुरा गर्ने हो भने नन्दकृष्ण जोशी, भुवन दाहाल, डिक्रा गाइने लगायतका कलाकारहरुलाई कति गौरव लाग्छ होला । त्यसैगरी यस क्षेत्रको देउडालाई राष्ट्रियस्तरसम्म चिनाउन र फैलाउन सकेमा मलाई पनि त्यत्तिकै गौरब लाग्नेछ । त्यही हुनछे मेरो सफलता ।

एकातिर कलाकारिता अर्कोतिर संघसंस्था अनि सरकारी जागिर कसरी मिलाउनु हुन्छ समय ?
सबै भन्दा पहिले मैले सरकारको नुन खाएको छु । सरकारको नुन खाए पछि मैले एउटा कर्मचारीको हैसियतले गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु । कला क्षेत्रलाई समय दिँदा मेरो कार्यालयको काममा कुनै बाधा नपर्ने गरी गर्छु । किनकी कलाकारिताले मात्र खान पुग्दैन । तर सरकारी जागिर गरेर बचेको समयलाई मैले संघसंस्था र कलाकारिताका लागि दिने गरेको छु । कहिले काँही साँझपख खाना खाइ सकेपछि म गीतको रियाज गर्ने गर्छु । विदाको बेलामा संघ संस्थाको कामहरु गर्ने गर्छु । त्यसैले पनि मलाई समय मिलाउन त्यति गा¥हो परेको छैन । मान्छेमा काम गर्ने इच्छाशक्ति हुनु पर्छ । सबै भन्दा ठूलो र मनदेखि आउनु पर्छ । मनदेखि आएको कुरालाई कसैले पनि रोक्न सक्दैन । त्यसैले देउडाको क्षेत्रमा केही गर्नु पर्छ भन्ने मलाई लागेको छ । अघिल्लो पुस्ताबाट सिकेर पछिल्लो पुस्तालाई केही हस्तान्तरण गर्नु पर्छ भन्ने योजनाका साथ लागेकोले समयको व्यवस्थापनमा समस्या भएको छैन । अर्कोतिर मेरो सरकारी जागिर भएकैले साथीहरुले पनि मैले गर्न सक्ने र समयले भ्याउन सक्ने खालको जिम्मेवारी दिनुहुन्छ । त्यसले गर्दा पनि मलाई काम गर्न सजिलो भएको
छ ।

अहिलेसम्म कति वटा गीतहरु रेकर्डिङ्ग भएका छन् ? जस मध्ये तपाइँ आफैलाई सन्तुष्टि दिने गीत कुन हो ?
स्टेजहरुमा धेरै गीतहरु गाएको छु । स्टेजहरुमा गाएका गीतहरुको प्रभाव र दर्शक स्रोताहरुले मन पराइदिएका गीतहरु नै मेरो सन्तुष्टिको पोको हो । ‘बेदनाको फूलबारी’ नामक एल्बमले मलाई देउडाका पारखीहरुसँग जुन प्रकारले चिनायो त्यो नै मेरो सफलता हो । उक्त एल्बममा भएका गीतहरुले एउटा सरकारी जागिर गर्ने र कहिले काँही स्टेजमा गाउने रामबहादुरलाई देउडा गायक रामबहादुर बनाएको छ । त्यसमा सबै भन्दा ठूलो श्रेय मेरा दर्शकहरुको छ । किनकी उहाँहरुले मेरो श्वर र मेरा शब्दहरुलाई मन पराएर सुनिदिनु भएको छ । अनि पो म गायक रामबहादुर बन्न सके । यदि मेरो श्वरलाई मन नपराएको भए मैले स्टेजमा गाउने अवसर समेत पाउथे वा पाउथिन । पछिल्लो समयमा एल्बम भन्दा पनि स्टेजमा गाउने र चर्चा बटुल्न अनेकथरी उपाय अपनाउनेहरु नै अगाडि बढेका छन् । भलै यो सबैमा लागु नहोला । तर पनि प्रचार बाजीले स्तरीयतालाई ओझेलमा पार्ने काम गरेको भने पक्कै हो ।

प्रचार बाजीको कुरा गर्नु भो । के देउडा संस्कृतिको प्रचार हुन नसकेकै हो त ?
मैले अघि नै भने पछिल्लो समयमा प्रविधिले देउडाको पनि प्रचार गरिरहेको छ । नेपाली भाषाको विकास भइसके पछि शुरु भएको देउडाले जति पाउनु पर्ने हो त्यति प्रचार नभएको भन्ने मेरो भनाई हो । पछिल्लो समयमा स्थापना भएका एफ एम रेडियोहरुले अहिले विशुद्ध देउडाका कार्यक्रम नै संचालन गर्ने गरेका छन् । छापाका माध्यमहरुले जति स्थान दिनु पर्ने हो त्यति नदिए पनि पहिलेको भन्दा अब सांस्कृति जोगाउनु पर्छ, हाम्रा राम्रा कुराहरु भोलि ओझेलमा पर्न सक्छन् भन्ने तर्फ सबैको ध्यान गएको छ । त्यसले पनि देउडाको प्रचार भइरहेको छ । तर राष्ट्रियस्तरका मिडियाहरुमा जति आधुनिक, लोक, पप लगायतका गीत संगीतको चर्चा हुने गर्छ त्यति नभएको हो भन्ने मेरो भनाई हो ।

त्यसो भए भनिदिनु होस् न साँच्चिकै देउडाको जगेर्ना गर्न के गर्नु पर्ला ?
देउडा गीतको संरक्षण र संम्बद्र्धन गर्नका लागि राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्मका देउडा पारखीहरु एक हुनु जरुरी छ । देउडा गाइने क्षेत्रका प्रत्येक गाउँ गाउँमा गएर त्यहाँ गाइने देउडाहरुको बारेमा अनुसन्धान गर्नु पर्छ । वास्तवमा देउडाको महत्व के छ भन्ने कुरालाई राष्ट्रियस्तरसम्म पु¥याउनु पर्छ । देउडामा केवल माया पिरतीका शब्दहरु मात्र होइनन् सन्देशात्मक शब्दहरुको संयोजन समेत गरेर अगाडि बढ्नु पर्छ । देउडाको जगेर्नाका लागि स्थानीयस्तरमा मात्र होइन राष्ट्रियस्तरमा समेत योजना बनाएर लगाडि बढ्नु आवश्यक छ । नेपाल सरकार र अब त संघीयताको कार्यान्वयन भइसकेपछि प्रत्येक स्थानीय सरकारहरुले पनि त्यसको लागि आवश्यक बजेटको समेत व्यवस्था गर्न जरुरी छ । अनि जिल्ला जिल्लामा देउडा प्रतियोगीताहरु गरेर नयाँ तथा पुराना कलाकारहरुलाई एकै स्थानमा राखेर यसको महत्वको बारेमा प्रष्ट पार्न सक्नु पर्छ । कलाकारहरुलाई आफ्नो दैनिक आवश्यकताका परिपूर्ति गर्ने व्यवस्थापन गर्नु पर्छ । हाम्रो देशमा कला र साहित्यमा लागेकाहरुलाई आफ्नो दैनिक जीवन धान्न धौ धौ परिरहेको छ । एउटा कलाकार उक्त क्षेत्रमा आफ्नो प्रदर्शनी प्रस्तुत गर्न असक्षम भइसकेपछि कसरी बाँच्ने ? त्यसको लागि सरकारले योजना बनाउनु पर्छ । नत्र कतिपय कलाकारहरु शुरुमा रहरै रहरले यो क्षेत्रमा लाग्ने अनि पछि बाटो बदल्ने गर्नु पर्ने बाध्यात्मक कारणले गर्दा पनि उसले निरन्तरता दिन सक्दैन त्यसो भयो भने देउडा मात्र होइन कुनै पनि विधामा टिकिराख्न गा¥हो छ ।

यो क्षेत्रमा आउन चाहना राख्ने नव आगन्तुकहरूलाई तपाइँको सुझाव ?
कलाकार बन्न कला भएर भएर मात्र हुँदैन । साधना पनि चाहिन्छ । कुनै पनि विधामा सफलता हात पार्नका लागि त्यसको अध्ययन हुनु जरुरी छ । अग्रजबाट सिक्ने कुरामा कहिल्यै पछि पर्नु हुँदैन । अझ देउडा भनेको पुरानो पनि हो, रसिलो पनि छ र त्यत्तिकै कसिलो पनि छ । त्यसैले अरु गीतहरु जस्तो जस्ता पायो त्यस्तै शब्दहरु जोड्दैमा देउडा बन्न सक्दैन । साँच्चिकै देउडाको क्षेत्रमा सफल कलाकार हुनका लागि निरन्तर रुपमा लाग्न सक्छु र यस क्षेत्रमा केही पाउनका लागि होइन हाम्रो कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि लाग्छु भन्ने ठानेर आउनु पर्छ । अनि नव आगन्तुकहरुका लागि मैले मेरो व्यक्तिगत संस्थागत रुपमा गर्नु पर्ने जुनसुकै सहयोग गर्न पनि म कहिल्यै कञ्जुस्याँइ गर्ने छैन ।

अन्तमा, के भन्नुहुन्छ ?
राष्ट्रिय देखि स्थानीय स्तरका कलाकार मित्रहरुलाई चर्चामा आउनका लागि कलाकारिताको नाममा कलंंकित नबनाऔँ भन्छु । केही समयको लागि वाह वाही पाउन संस्कृति माथि ल्याएको विकृतिले काम त गर्ला तर कालजयी हुनका लागि त्यस्तो सस्तो र उछृङ्खल कलाकारिताले साथ दिँदैन भन्ने मलाई लाग्छ । अर्कोतिर राज्यले सबै संस्कृति र समाजको संरक्षण गर्ने दायित्व भएकोले पनि त्यस तर्फ ध्यान दिन जरुरी छ । हाम्रो संस्कृतिको संरक्षण र सम्बद्र्धनमा राज्यले अहिले ध्यान दिन सकेन भने भोलि हाम्रा संस्कृतिहरु केवल इतिहासको पानामा मात्र रहनेछन् । हामीले हाम्रा भाषा, संस्कृति, रहनसहन, पहिचान, परम्पराका राम्रा कुराहरुलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकेनौ भने सन्ततिले सराप्ने छन् ।

काँक्रेविहार दैनिकबाट