Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

सिम्ता गाउँपालिकाको बजेट १५ करोड : उज्यालो कार्यक्रमदेखि सडक सञ्जाल विस्तारसम्म

२०७४ असार ३१

सुर्खेत ।

सुर्खेतको सिम्ता गाउँपालिकाले पहिलो गाउँसभाबाट चार वटा कार्यक्रमलाई महत्वको कार्यक्रमका रुपमा अघि बढाउने भन्दै झण्डै १५ करोड बराबरको योजना सार्वजनिक गरेको छ ।

 

गाउँपालिकाको केन्द्र बजेडिचौरमा शुक्रबार भएको पहिलो गाउँसभाले  सिम्ता उज्यालो कार्यक्रम, सडक सञ्जाल विस्तार, कृषिसँग सम्वन्धित काम गर्न जनतासँग सिम्ता गाउँपालिका तथा स्वच्छ र सफा खानेपानी कार्यक्रम सार्बजनिक गरेको हो ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चारवटै कार्यक्रमलाई सफल बनाउन विभिन्न योजनाहरु सार्वजनिक गरिएको छ ।

गाउँसभाबाट १४ करोड ८८ लाख ३८ हजार रुपैयाँ बराबरका योजनालाई स्वीकृत गरिएको छ । जसमा कृषितर्फ ७० लाख, उद्योग वाणिज्यतर्फ तीन लाख, पर्यटनतर्फ २० लाख, सहकारीतर्फ २० लाख र वित्तीयतर्फ तीन लाख गरी आर्थिक विकासमा ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सामाजिक विकासतर्फ दुई करोड ९९ लाख ७८ हजार रुपैयाँ छुट्टएिको छ । जसभित्र शिक्षातर्फ ७१ लाख, स्वास्थ्यतर्फ २० लाख, खानेपानी तथा सरसफाईतर्फ एक करोड ५० लाख, संस्कृति प्रवर्द्धनतर्फ तीन लाख, खेलकुद तथा मनोरञ्जनतर्फ पाँच लाख, लैंगिक समानता तथा सामाजिक समावेशिकरणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

सिम्ता गाउँपालिकामा पूर्वाधारका लागि ४४ लाख ५० हजार रुपैयाँको वजेट छ । जसमा सडक, पुल तथा झोलुंगे पुलका लागि ६ करोड ८३ लाख ६० हजार, सञ्चाईका लागि ६० लाख, साना जलविद्युत र सौर्य ऊर्जाका लागि दुई करोड ५० लाख, वन तथा भूसंरक्षणका लागि पाँच लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन असर न्यूनिकरणका लागि तीन लाख, फोहोरमैला तथा ढल व्यवस्थापनका लागि एक लाख ५० हजार, जलउत्पन्न प्रकोप नियन्त्रणका लागि ३० लाख र विपद व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।

बजेट वक्तव्यअनुसार सिम्तामा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ५२ लाख रुपैयाँ विनियोजन भएको छ । जसमा सुरक्षा व्यवस्थापनमा तीन लाख, सूचना प्रविधितर्फ ९ लाख ५० हजार, पञ्जिकरण व्यवस्थापनतर्फ पाँच लाख, तथ्यांक संकलन, अभिलेख व्यवस्थापन तथा प्रकाशनका लागि १० लाख, सुशासन प्रवर्द्धनका लागि पाँच लाख, अनुसन्धान तथा विकासका लागि १५ लाख तथा अन्यत्र वर्गिकृत नभएकोतर्फ पाँच लाख रुपैयाँ बजेट पास भएको छ ।

जनप्रतिनिधिको कार्यकालभर गरिने क्रियाकलापलाई योजनावद्ध सफल बनाउँदै लैजाने गरी सिम्तामा बजेट तयार गरिएको उपाध्यक्ष शाहीले बताइन् । सिम्ता उज्यालो कार्यक्रममार्फत अव गाउँपालिकाका सवै वडाहरुमा विद्युतिकरण गरिने उल्लेख छ ।

यस्तै सबै वडाहरुमा स्तरीय सडक सञ्जाल विस्तार गर्नुका साथै गाउँपालिका र वडाहरुमा चक्रपथसमेत बनाइने योजना अघि सारिएको छ ।

आगामी वर्ष कार्यान्वयन गरिने योजनाहरुभित्र मल, विउमा सहुलियत दिने तथा व्यवसायिक र प्रविधियुक्त कृषि प्रणालीमा प्रोत्साहन गरिनेछ ।

सिम्ताका सुख्खा क्षेत्रलाई मध्यनजर गरी घैँटामार्फत् खानेपानीको व्यवस्थापन गर्ने तथा बिभिन्न प्राकृतिक स्रोतलाई स्वच्छ खानेपानीको रुपमा व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीका अनुसार सिम्तालाई संवृद्ध गर्ने योजनाहरुलाई सफल पार्ने आधारको रुपमा योजना ल्याइएको हो । यसको कार्यन्वयनमा सबैले साथ दिनुपर्ने अध्यक्ष केसीले बताए ।

गाउँसभाको उदघाटन समारोहमा पूर्वसभासद् कमला शर्मालगायत राजनीतिक दलका प्रतिनिधिहरुले योजना कार्यान्वयनमा सहयोग गर्ने बताएका थिए ।