‘म खाँदिन’ मा सामुहिक हस्ताक्षर
जिल्ला समन्वय समितिको आयोजनामा ‘म खाँदिन’ अभियानमा सामुहिक हस्ताक्षर गरिएको छ । बीस वर्ष पछि स्थानीय तहको निर्वाचन भइसकेको र पदाधिकारीहरुले कार्यभार समेत सम्हाली सकेको अवस्थामा भएकोले स्थानीय सरकारको समेत जिम्मेवारी पाएका जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई ‘म घुस खान्न, दिन्न र सहन्न’ सामुहिक हस्ताक्षर अभियान कार्यक्रमको आयोजना गरी निर्वाचित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि र पत्रकारहरु समेतको हस्ताक्षर गराइएको छ ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्सालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुर्खेतका जिल्ला समन्वय समितिका प्रमुख लगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले सामुहिक हस्ताक्षर गर्नुभएको छ । साथै गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुलाई समेत हस्ताक्षर गराइएको छ ।

कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले भ्रष्टाचार भनेको के हो ? यो कसरी हुने गर्दछ र भ्रष्टाचार भित्र के के पर्ने गर्दछन् ? भन्ने बारेमा स्पष्ट पार्नु भएको थियो । साथै उहाँले मन्त्रालयगत, जिल्ला र सुर्खेत जिल्लामा समेत कुन क्षेत्रमा बढी भ्रष्टाचारका मुद्दाहरु पर्ने गरेको तथ्याँङ्क समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले भन्नुभयो – कानून हुँदा हुँदै पनि त्यसको पूर्णतः पालन नभएका कारण भ्रष्टाचार हुने गरेको छ । त्यसको पालना गर्न गराउन सबै सरोकारवालाहरु लाग्नु पर्दछ ।






