Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

भित्रियो बडादशैं : किनमेलको चटारो

सुर्खेत, ११  असोज ।

हिन्दुहरुको महान पर्व बडादसैं शुरु भएदेखि वीरेन्द्रनगर बजारमा किनमेलको चटारोसँगै व्यावसायिक कारोबारो बढ्दै गएको छ । दसैंमा शिरदेखि पाउसम्म नयाँ लुगा लगाउने, नयाँ सामान किन्ने, नयाँ नोटको दक्षिणा आदान प्रदान गर्ने प्रचलनले ग्राहकको चहल पहलसँगै व्यवसायिक कारोबार पनि बढेको हो । यतिबेला वीरेन्द्रनगरमा कपडा सिलाउनका लागि टेलर पसलहरुमा समेत बाक्लो भीड लाग्ने गरेको छ । विभिन्न पेसा व्यवसायका क्रममा घरबाहिर रहेका परिवारका सदस्यहरू घर फर्कने क्रम पनि बढ्दो छ ।


दसैं मान्नेको चहल पहलले मुख्य बजार, बैंक तथा वित्तिय संस्था र बसपार्क क्षेत्रमा घटस्थापनादेखि बाक्लो भीड लाग्ने गरेको छ । वीरेन्द्रनगरमा बढ्दो जनघनत्वसँगै दसैंका लागि सरसामान किनमेल गर्नेहरूको घुइँचोले बजार अस्तव्यस्त बनेको छ । मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट कमाउन भारत हिडेका (कालापहाडे)हरु सुर्खेत हुँदै घर फर्कने गर्दछन् । यो समयमा वीरेन्द्रनगरमा रहेका ठूलादेखि साना होटलहरूसम्म दसैं मान्न फर्किएकाहरुले भरिभराउ छन् । छिमेकी जिल्लाहरुबाट सुर्खेतमा बसाइँ सरेकाहरूमध्ये अधिकांशले वीरेन्द्रनगरमै दसैं मनाउँदै छन् । दसैंका लागि आवश्यक सरसामान किन्नेहरुको चहल पहलले बजारमा बाक्लो भीड लाग्ने गरेको छ ।

सहुलियतमा नुनचिनी र चामल दसैंका बेला विपन्न परिवारलाई लक्षित गर्दै साल्ट टेड्रिङ कर्पोरेसनले नुन, चिनी सहुलियत दरमा बिक्री थालेको छ । यस्तै, नेपाल खाद्य संस्थान, सुर्खेत शाखाले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानले सहुलियत मूल्यमा चामल विक्रि थालेको हो । सुर्खेतमा विपन्न तथा बाढी, पहिरो प्रभावितको संख्या धेरै रहेकाले सहुलियतको पसलबाट त्यस्ता विपन्न र प्राकृतिक प्रकोपमा परेका परिवारले बढी लाभ पाउने बताइएको छ । संस्थानले प्रतिकेजी ५ रुपैयाँको कम गरी जिरा मन्सुली, अरुवा मकवनापुर र बंगलादेशी उसिना चामल वितरण छन् ।

संस्थानले सोमबारसम्म २ सय ९४ क्वीन्टल ६० केजी चामल विक्रि वितरण गरेको छ । वीरेन्द्रनगरमा सञ्चालन गरिएको सुपथ पसलबाट दैनिक रुपमा ६० क्वीन्टल चामल विक्रि वितरण हुने गरेको संस्थानका निमित्त शाखा प्रबन्धक जीवननाथ कंडेलले बताए । उनले दिएको जनाकारी अनुसार उक्त चामल १० लाख ३ हजार १ सय ७० रुपैयाँ बराबरको हो । गत वर्ष यो सुपथ पसलबाट १४ लाख ७६ हजार रुपैयाँ बराबरको खाध्यान्न वितरण गरेको थियो । जसअनुसार ३ सय १० क्वीन्टल ९५ केजी हुन आउछ । यसरी हेर्दा गतबर्ष भन्दा यस वर्ष खाद्यान्न वितरण बढ्ने अनुमान छ । ‘ सय देखि हजार क्वीन्टल चामल वितरण हुन्छ, प्रवन्धक कंडेलले भने, अन्य पसल भन्दा सस्तो वितरण थालिएकाले ग्राहकहरु दैनिक रुपमा बढ्दै गएका छन् । उनकाअनुसार पञ्चपुरी, भेरीगंगा, वीरेन्द्रनगरका सर्वसाधारणले सेवा लिएका छन् ।

‘हाइवे गस्ती’

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई चाडपर्व ढुक्कसँग मनाउँन भनेको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्यले आम नागरिकले ढुक्कसँग चाडपर्व मनाउने वातावरण श्रृजना गर्न प्रहरीले २४ सै घण्टा गस्ती गर्ने आश्वासन दिएका छन् । शान्ति सुव्यवस्था कायम गर्न आपूmले प्रहरी सक्रियता बढाएको उनले बताए । प्रहरी प्रमुख आचार्यले प्रहरीले नियम र नैतिकताको दायरामा रहेर काम गर्ने भन्दै चाडपर्वका बेला हुन सक्ने सम्भावित हत्या, हिंसा, चोरी, लुटपाटका घटनामा प्रहरीले विशेष सतर्कता अपनाएको बताए । प्रहरीले दसैंतिहार र छठ पर्वको अवसरमा बजार क्षेत्रमा मोवाईगस्तिदेखि पैदल गस्ति र सादा पोसाकका प्रहरीसमेत परिचालन गरी सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्ने गरिने बताए । जुवातास रोक्न, चोरी, लुटपाटमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरी जनशक्तिको परिचालन बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको बसपार्क क्षेत्रमा यात्रु खोसाखोस हुने गरेकाले यातायात मजदुरलाई त्यस्तो प्रवृत्ति रोक्न यात्रु सहायता कक्ष स्थापना गरेको छ । अत्यधिक यात्रुको भार, समितिहरूबीचको तीव्र प्रतिस्पर्धाका कारण चाडपर्वका बेला दुर्घटना हुन सक्ने भन्दै प्रहरीले ‘हाइवे गस्ती’ सुरु गरेको छ । सम्भावित दुर्घटना रोक्न प्रहरीले बस व्यवसायीसँगको समन्वयमा सडक सुरक्षा अभियान सञ्चालन गरेको छ । वीरेन्द्रनगरबाट रत्न राजमार्ग, कर्णाली राजमार्ग, छिन्चु जाजरकोट, सुर्खेत–दैलेख, सुर्खेत–दुल्लूलगायतका सानाठूला रुटमा प्रहरीले गस्ती गर्न थालेको छ । ट्राफिक प्रहरी, सादा पोसाकका प्रहरी, व्यवसायी समिति र यातायात व्यवस्था कार्यालयका प्रतिनिधिले अनुगमनसमेत थालेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । मध्यपश्चिमको पहाडी सडकमा विशेषगरी छिन्चु–जाजरकोट र कर्णाली राजमार्ग दुर्घटनाको जोखिममा रहेकाले बढी सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चुरीले राजमार्ग क्षेत्रमा पुगेर क्षमताभन्दा बढी भाडा असुल्ने सवारी साधनको अवस्था अवलोकन गर्नुका साथै आवश्यक कारबाही गरेको बताए । प्रहरी चेकपोस्टलाई छलेर सवारी साधनमा अत्यधिक यात्रु बोक्ने प्रवृत्तिलाई कडाइ गर्न हाइवे गस्ती थालिएको उनको दाबी छ । सुर्खेतबाट मध्यपश्चिम, काँक्रेविहार, देउती नागरिक, बुलबुले यातायात समिति सेवा सञ्चालन गर्दै आएका छन् । ‘सिन्डिकेटको समस्या नरहेकाले बस समितिबीच विगतमा जस्तो अनावश्यक प्रतिस्पर्धा छैन,’ उनले भने, ‘तैपनि चाडपर्वका बेला अप्रिय घटना नहोस् भनेर कडा निगरानी गरेका छौं ।’

प्रहरीले राजमार्गमा चालकलाई रिफ्रेसका लागि सेन्टर स्थापना, ट्राफिक नियमबारे जानकारी गराउने गरेको छ । त्यस्तै, सुर्खेत बसपार्कमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ । काँक्रेविहार यातायात समितिका सचिव रमेश सापकोटाले पहाडी जिल्लामा गाडी केही अपुग भए पनि व्यवस्थापन गरेको दाबी गरे । ‘नेपालगन्ज–सुर्खेत रुटमा गाडीको समस्या छैन । पहाडी भेकमा समस्या छ । तैपनि, व्यवस्थापन गरिरहेका छौं’, उनले भने, काठमाडौं जाने गाडीलाईसमेत समितिले संकलन गर्ने शुल्क दसैं–तिहारसम्मका लागि मिनाहा गरेका छौं ।’ दसैं–तिहारलाई लक्षित गर्दै काँक्रेविहारले दैनिक २५ भन्दा बढी ठूला गाडीबाट यात्रुलाई सेवा दिइरहेको छ । यातायात समितिले यात्रुको चापलाई मध्यनजर गर्दै गाडीको संख्या थपेको जनाएका छन् ।

रेमिटेन्स जति फजुल खर्च

यतिबेला विदेशबाट पठाएको रकम बैंक तथा वित्तिय संस्थाहरुबाट झिक्दै बजारमै किनमेलमा सक्काउनेहरु धेरै भेटिन्छन् । रेमिटेन्समार्फत भित्रिएको अधिकांश रकम मोबाइल, लुगा, तथा मनोरञ्जन लगायतमा फजुल खर्च हुने गरेको छ । विशेषगरी चाडबाडका समयमा विदेशमा रहेकाहरुले आफन्तलाई रकम पठाएपछि त्यस्तो रकम पर्व मनाउँनमै सकिने गरेको हो । आफ्ना आफन्तले विदेशबाट पठाएको रेमिटेन्स रकम पुँजी निर्माणको काममा जान सकेको छैन । आफन्तले विदेशबाट पठाएको उक्त रकम चाडबाड र दैनिक उपभोग्य सामग्रीमै खर्च हुने गरेको छ । रेमिटेन्सको अधिकांश हिस्सा खाद्यान्न तथा कपडा, मोबाइल फोन, विवाहमा खर्च हुने गरेको छ । रेमिटेन्सले ग्रामीण परिवारको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आएको भएपनि यसको सहि सदुपयोग हुन सकेको छैन । रेमिटेन्सबाट  आएको रकमको सानो हिस्सा मात्र बचत हुने गरेको छ । पुँजी निर्माणमा त्यस्तो रकम कम प्रयोग भएको पाइने गरेको छ ।

बैंकमा भिड

वीरेन्द्रनगरमा रहेको वाणिज्य बैंक तथा वित्तीय संस्थामा भीडभाड बढ्न थालेको छ । निजी बैंकको तुलनामा सरकारी बैंकमा बढी भीड देखिएको हो । चेक, नयाँ नोट साट्ने तथा अन्य बैंकिङ करोबार गर्नेको स्थानीय हरेक बैंकमा सेवाग्राहीको भीड बढेको छ । एटीएमदेखि क्यास काउन्टरसम्म जताततै भीड हुँदा घण्टौं लाइन बस्नुपर्छ । वाणिज्य बैंकमा विहानैदेखि चेक साट्न लाइनमा बसेका सेवाग्राही पालो नआउँदा हैरानी खेपिरहेका भेटिन्छन् ।

वीरेन्द्रनगर–३ देखि चेक साट्न वाणिज्य बैंक आएका भिबहादुर वलीले एक दिनभर लाईन बस्दा समेत आफुले काम गर्न नपाएको बताए । जिल्लामा सञ्चालनमा रहेका सरकारी बैंकहरुबाट समन्वय गरी कारोबारमा सहजता ल्याउन नसक्दा सेवाग्राहीहरुले लाईन बस्नुपर्ने बाध्यता भएको उनले बताए । सहायक शाखा प्रबन्धक लिलाधर ढुङ्गानाले सोमबारदेखि नयाँ नोट सटही बन्द गरिएको जनाकारी दिए । उनका अनुसार प्रायः ५, १० र २० रुपैयाँ बढी साटिएको
बताए ।

बैंकले ग्राहकको भीडभाड हुने समयमा घुम्ती सेवामार्फत पनि सेवा दिने व्यवस्था मिलाउनु पर्नेमा त्यसो भने गर्न सकेको छैन । वाणिज्य बैंकमा यतिबेला तलब, पेन्सनदेखि रेमिटेन्स झिक्ने र नयाँ नोट साट्ने ग्राहकको भीड लाग्ने गरेको छ ।

कांक्रेबिहार दैनिक