Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने समझदारी, घोषणा आजै

१७ असोज, काठमाडौं । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ । सहमतिको औपचारिक घोषणाका लागि ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन हुँदैछ ।

पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । ‘७ बुँदे मस्यौदामा केही थपिएको छ’ एक नेताले भने ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको सहमतिले अन्तिम रुप दिएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले दुई दलको सहमति स्वीकार गरे ।

नेताहरुका अनुसार एमाले र माओवादीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा चुनावी तालमेल गर्ने सहमति भएको छ । जसमा प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउनेछन् ।

चुनाव चिन्हबारे सहमति टुंगिन बाँकी छ । एउटै चुनाव चिन्हमा चुनाव लड्ने भनेपनि कानुनी अड्चन देखिएको एक नेताले बताए । अब दुबै दल तालमेल अनुसार आआफ्नै चुनाव चिन्हमा चुनाव लड्ने सम्भावना रहेको उनले बताए ।

साथै चुनाव लगतै पार्टी एकता गर्ने सहमति भएको छ । यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा आजै हुनेछ ।

यो समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्षन बामदेव गौतम रहनेछन् भने माओवादी केन्द्रबाट प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहनेछन् ।

दुई दलबीच साझा विधान बनाउन मस्यौदा समिति बनाउने सहमति पनि जुटेको छ ।

एकतापछि पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको एक नेताले बताएका छन् ।

अन्लाइन खबर