समानुपातिक उम्मेदवारको प्रचारशैली फरक
सुर्खेत ।
यही मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि राजनीतिक दलका उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्र पारेका छन् । वाम गठबन्धन र लोकतन्त्रिक गठबन्धन भएपछि प्रायः दुई खेमा बाँडिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा पुगिरहेका छन् । प्रत्यक्ष तर्फका उम्मेदवारहरु भन्दा समानुपातिकमा परेका उम्मेदवारहरुको भोट माग्ने शैली भने नितान्त फरक देखिएको छ ।
प्रत्यक्ष तर्फका उम्मेदवारहरु आफ्नो गठबन्धनलाई जिताउन आग्रह गरिरहेका बेला समानुपातिक तर्फका उम्मेदवारहरु भने आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन् । एकातिर गठबन्धन भएकोले गठबन्धनलाई चिताउनु पर्ने र अर्कोतिर समानुपातिक प्रणालीको लागि पार्टीको चुनाव चिन्हमा प्राप्त हुने मत मात्र गणना हुने भएकोले उनीहरु आफ्नो पार्टीको चुनाव चिन्हमा भोट मागिरहेका हुन् ।
एमाले र माओवादी सहित वाम गठबन्धनमा रहेको भएपनि सुर्खेतका समानुपातिक तर्फका उम्मेदवारहरुले माओवादी पक्षकाले माओवादीलाई र एमाले पक्षकाले एमालेको चुनाव चिन्हमा मतदान गर्न जनतालाई आग्रह गरिरहेका बेला उता लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पनि आ– आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न जनता समक्ष आग्रह गरेका छन् ।
सुर्खेत जिल्लाको हकमा प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका पूर्ण बहादुर खड्का र नेकपा एमालेका ध्रुब कुमार शाही उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ बाट नेपाली काँग्रेसको तर्फबाट ह्दयराम थानी र एमालेको तर्फबाट नवराज रावत उम्मेदवार रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले भने प्रतिनिधि सभाका लागि कुनै पनि क्षेत्रमा उम्मेदवार प्रतिस्पर्धामा उतारेको छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा अन्तर्गत निर्वाचन क्षेत्र नं. २ (क) बाहेक अरु क्षेत्रमा प्रत्यक्ष तर्फ आफ्ना उम्मेदवार उठाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पनि प्रतिनिधि सभामा कुनै उम्मेदवार खडा नगरे पनि प्रदेश सभामा भने आफ्ना उम्मेदवार उठाएको छ ।






