गणेश बहादुर खड्काको समर्थन लोकतान्त्रिक गठबन्धनलाई ः दीपक भन्छन् जीत मेरै हो
दैलेख
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दैलेख क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवार गणेशबहादुर खड्काले लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्नुभएको छ ।

एक विज्ञप्ति प्रकाशित गरी उहाँले आफूले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताउनु भएको हो । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी सहित प्रजातान्त्रिक मान्यतामा विश्वास राख्ने दलहरुसँग गठबन्धन गरेपछि दैलेख निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारको भाग परेको छ । पार्टीले गरेको निर्णयका विरुद्धमा उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकोले लोकतान्त्रिक गठबन्धनलाई कमजोर बनाउने हो कि भन्ने शंका उब्जिरहेको बेला निर्वाचन आउनु १९ दिन अगावै उहाँले लोकतान्त्रिक गठबन्धनको समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गरेको विज्ञप्ति मार्फत जनाउनु भएको हो ।
उहाँले नेपाली काँग्रेसका सम्पूर्ण पार्टी नेता तथा कार्यकर्ताहरु लगायत शुभचिन्तकहरुलाई लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न समेत आग्रह गर्नुभएको छ ।
उहाँको विज्ञप्ति पश्चात दैलेखमा राजनीतिक माहोल फेरिएको र लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित भएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक शाहीले टेलिफोनमा हामीलाई बताउनु भयो । उम्मेदवार शाहीले भन्नुभयो, गणेश बहादुर खड्को उम्मेदवारी लोकतान्त्रिक गठबन्धनका विरुद्धमा हिजो पनि थिएन र आज पनि छैन । नेपाली काँग्रेसको त्यागी नेता भएकोले पनि उहाँले लोकतान्त्रिक गठबन्धनको पक्षमा लाग्नु भएको छ । त्यसैले अब लोकतान्त्रिक गठबन्धनको जीत निश्चित छ ।
आफ्नो पार्टी भित्रका केही कारणले उम्मेदवारी दिएपनि पार्टीको हितमा सोच्ने नेताबाट यो निर्णय आउँछ भन्नेमा हामी ढुक्क थियौ । जसले गर्दा लोकतान्त्रिक गठबन्धनलाई जित्न र जिताउन अझ सहज भएको मैले महसुस गरेको छु । पाको नेताको यो निर्णयले दैलेखमा भएका नेपाली काँग्रेसका नेता कार्यकर्ता देखि लोकतान्त्रिक गठबन्धनमा लागेका सबैको अनुहारमा खुसी ल्याएको छ ।
हामीसँगको टेलिफोनमा पूर्व राज्यमन्त्री खड्काले भन्नुभयो, मेरो कारणले लोकतान्त्रिक गठबन्धनलाई केही असजिलो भयो भन्ने लागेको थियो तर अब म प्रति शुभच्छा राख्नुहुने सबैले लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई भोट हाल्नुहुन्छ । जसले गर्दा लोकतान्त्रिक गठबन्धनलाई धेरै सजिलो हुनेछ । गणेश बहादुर खड्का पूर्व राज्यमन्त्री र नेपाली काँग्रेस दैलेखका संस्थापक नेता समेत हुनुहुन्छ ।







