निर्वाचित भए विगतको भन्दा अझै धेरै खट्छुः थानी
सुर्खेत, ४ मंसिर ।
वीरेन्द्रनगर ३ एरिचोकमा सोमवार नेपाली कांग्रेसले चुनावीसभा गरेको छ । सभामा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले बोल्दै जिल्लाको विकासका लागि विगतमा आफू सक्रीय भएर लागेको र यसपटकको निर्वाचनमा पनि जनताले निर्वाचित गराएमा विगतका अपूरा कामहरु समेत पूरा गर्ने बताए ।
उनले सदरमुकाम वीरेन्द्रनगरमा ९ किलोमीटर फोरलेन सडक निर्माण भइरहेको, चक्रपथ, खानेपानीको समस्या समाधान गर्न भेरीको पानी लिफ्ट गरेर ल्याउने तयारी भइरहेको जानकारी दिए । विकास निर्माणको काम कांग्रेसको पालामा धेरै भएकोले यसपटकको निर्वाचनमा कांग्रेसलाई नै जिताउन मतदातासंग अपिल गरे । मुलुकको निकास र विकासको लागि कांग्रेस नै समाधानकर्ता भएको दावी उनको थियो ।
सुर्खेत क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार एवं कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आफू निर्वाचित भए वीरेन्द्रनगरको समृद्धि र नागरिकको सेवामा अहोरात्र खटिने प्रतिवद्धता जनाए । उनले जनतालाई विकास चाहिएको र त्यो विकास कांग्रेसले मात्रै गर्ने उल्लेख गरे ।
पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालले विगतमा झैं यसपटकको प्रतिनिधि र प्रदेशसभामा पनि कांग्रेसलाई जिताउन आव्हान गरेका थिए । यस्तै, काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका सचिव भूपेन्द्र खत्री तथा प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सबैलाइ जिताउन आग्रह गरेका थिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरापालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश नं. ६ को राजधानीको केन्द्र वीरेन्द्रनगर नगरपालिकासंंगै समग्र प्रदेशको समृद्धिका लागि काँग्रेसलाइ जिताउन मतदाताहरुसंग अपिल गरे ।
कार्यक्रममा काँग्रेस क्षेत्र नं. २ सुर्खेतका सभापति नारायण कोइराला र रामकुुमारी थापाको समेत उपस्थिति रहेको थियो ।






