वाम गठबन्धनका चुनावी एजेण्डा : पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिक समृद्धि
सुर्खेत
नेकपा एमाले प्रदेश नं. ६ का सहसंयोजक तथा निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा (क) का वामगठबन्धन उम्मेदवार यामलाल कंडेलले सुर्खेत जिल्ला लाल किल्ला भइसकेको बताएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै घरदैलोलाई तीव्र पारेका वेला उनले यस्तो बताएका हुन् ।

उनले खासगरी प्रदेश नं. ६ को विकासका लागि पर्यटनलाई प्रवद्र्धन गर्दै आर्थिक समृद्धिलाई अघि बढाउने बताए । शनिबार वीरेन्द्रनगरमा घरदैलो गर्दै उम्मेदवारहरुले जनताको आशा र भरोसालाई केन्द्र विन्दुमा राखेर आफूहरु अगाडि बढ्ने बताएका हुन् ।
निर्वाचन क्षेत्र नंं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज रावतले विजयी पछि पर्यटकीय प्रवद्र्धनमा रातदिन लाग्ने बताए । उनले काँक्रेविहारको प्रचार–प्रसार, संरक्षण, संवद्र्धन गरी अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए । मठ, मन्दिर, गुम्बा, चर्च, विहार, मस्जितको संरक्षण गरिने भन्दै उनले वाम गठबन्धनलाई निर्वाचनबाट नेतृत्व गर्ने अवसर दिन आग्रह गरे ।
निर्वाचन क्षेत्र नंं. २ (क) प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कंडेलले जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरु बुलबुले, गढी, घण्टाघर, भेरी पुल, देउती बज्यै, सिद्धपाईला, जलेश्वर मन्दिर, रानीघाट आदि स्थललाई धार्मिक तथा पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरिने बताए । उनले वामगठबन्धनले वीरेन्द्रनगरदेखि गढीसम्म पैदल एवम् पर्यटकीय मार्गको विकास गरिने, होमस्टेको विकास गरिने एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।
सुविधा सम्पन्न सिटी निर्माण
बामगठबन्धनले उपत्यकामा चक्रपथको यथाशीघ्र निर्माण तथा सञ्चालन गर्ने, अटोभिलेज र नगर बस सञ्चालन, आधुनिक बसपार्क निर्माण तथा पार्किङ्ग स्थलको व्यवस्थापन गर्नेलगायतको एजेण्डालाई प्राथमिकतामा राखेका छन् । यसैगरी आसन्न निर्वाचनमा नेतृत्वदायी भूमिकामा रहेर सुविधा सम्पन्न सिटी, अस्पताल स्थापना, उपयुक्त स्थलमा क्रिकेट खेल मैदानको व्यवस्था, सुविधा सम्पन्न कवर्डहल निर्माण, सुर्खेतको औधोगिक क्षेत्रलाई प्रदेशमा प्राप्त कृषि, जल, पर्यटक, वन, जडिबुटी, खानीमा आधारित बनाई रोजगारीमूलक बनाउनेलगायतका एजेण्डाका साथ चुनावी अभियान तीव्र पारेका छन् ।
सुकुम्वासीलाई लालपूर्जा
उम्मेदवार कंडेल र रावले एकै स्वरमा सुकुम्वासीहरुका लागि लालपूर्जाको व्यवस्था तथा एकीकृत बस्ती विकास गर्ने, शित भण्डार, उन्नत बीऊ बिजन, कृषिको औद्योगिकरणका साथै व्यवसायीकरण, बजारीकरणको व्यवस्था गर्ने, स्थानीय भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धन गरी अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थलको विकास गर्ने गरी आफूहरु मतदाता समक्ष पुगिरहेको बताए ।
प्रदेशको नमूना राजधानी
उम्मेदवार यामलाला कंडेलले प्रदेश नं. ६ को स्थापनाका लागि आन्दोलनको नेतृत्व आफूले गर्नुका साथै आफ्नो भूमिका पनि बढी भएकाले निर्वाचनका क्रममा आश्वासन मात्रै नभई वीरेन्द्रनगरलाई प्रदेशको नमूना राजधानी बनाउने दाबी गरे । उनले घरदैलो अभियानका क्रममा वाम गठबन्धनप्रतिको मतदाताको विश्वास नै जीतको आधार भएको बताए ।
प्रदेश स्थापनाका लागि आफ्नो भूमिका गहन रहेको भन्दै निर्वाचन नजिकिदै गर्दा वाम गठबन्धनले सुर्खेतमा चुनावी अभियानलाई तीव्र पारेको छ । जसअन्तरगत जिल्लाका ९ वटा स्थानीय तहमा उम्मेदवार तथा दलका प्रतिनीधिहरुले चुनावीसभाका साथै घरदैलो अभियानलाई तीव्र पारेका छन् ।
अब कांग्रेस खोज्न बत्ति बाल्नुपर्छ : ज्ञवाली
दैलेख । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ६ का संयोजक युवराज ज्ञवालीले नेपालीे कांग्रेसको बिजयी बत्ति बालेर खोज्नुपर्ने बेला आएको बताए । शनिबार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिको जम्बुकाँधमा वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई संम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन ।

नेपाली कांग्रेसको वरिष्ठ नेताहरु नै हार्ने भएपछि अन्य निर्वाचन क्षेत्र र प्रदेश सभामा कांग्रेसको विजय बत्ति बालेर खोज्नुपर्ने हुने ज्ञवालीले बताए । उनले भने, “नेपाली कांग्रेस देशभरीबाट बाम गठबन्धनको लोकप्रियतासँगै हार्ने निश्चित भएपछि अहिले जनता माझ भ्रम फैलाउने भन्दा अर्को उपाय छैन ।” नेपाली कांग्रेसले धेरै पटक बहुमतको सरकार चलाए पनि जनताको पक्षमा कहिल्यै पनि काम गर्न नसकेको उनले आरोप लगाए । साथै उनले नेपाली कांग्रेसलाई वामपन्थीले लतारेर गणतन्त्रमा ल्याएको स्मरण गराए ।
वाम गठबन्धनको दुई तिहाई बहुमतले बनाउने सरकारले जनता सधै सुखी र समृद्ध हुने बताउँदै उपाध्यक्ष ज्ञवालीले बामगठबन्धनको कम्युनिष्ट सरकार बन्यो भने नेपाली जनताले दुःख झेल्नुपर्ने छैन । उनले भने यो वाम गठबन्धनले लगाएको आरोप होइन, कांग्रेसले आफै प्रचार गर्दै हिडेको भनाई हो ।
सामाजिक सुरक्षा भत्ता ५ हजार
अहिलेको निर्वाचनमा बाम गठबन्धनले देशभरबाट दुई तिहाई बहुमत ल्याएर ५ वर्षसम्म स्थायी सरकार चलाउने ज्ञवालीले बताउनुभयो । नेपाली जनताको पक्षमा सधै काम गर्ने बामगठबन्धनले सामाजिक सुरक्षालाई वृद्धि गरेर ५ हजार बनाउने बताउदै ज्ञवालीले मानव सूचाङ्कका दृष्टिकोणमा पछि परेको ६ नं. प्रदेश विकासको गतिमा अघि बढ्ने बताए ।
प्रदेश नं. ६ को विकासका लागि यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्दै गरिबीको रेखालाई कम गर्ने बाटोमा बामगठबन्धनले योजना बनाएको उनले बताए । उनले खासगरी कृषि उत्पादनलाई बृद्धि गर्दै कृषिको आधुनिकीकरणमा जोड दिने बताए । तर यो सबै गर्नका लागि वाम गठबन्धनलाई अत्यधिक मत दिएर विजयको शिखरमा पु¥याउन उनले मतदाता समक्ष आग्रह गरे ।
५ वर्षभित्र उज्यालो प्रदेश
प्रचुर मात्रामा जलस्रोत समेत रहेको यस प्रदेशमा वामगठबन्धनको विजयीसँगै ५ वर्षभित्र प्रदेश नं. ६ उज्यालो प्रदेशका रुपमा समेत परिचित हुने ज्ञवालीले बताए ।
उनले भने, यो प्रदेशका जनता सुनको सिरानी हालेर नुनको खोजीमा हिड्ने गर्दछन् । अब आफ्नै प्रदेशमा बसेर सुन उत्खनन् गर्ने तर्फ अगाडि बढ्नका लागि बाम गठबन्धनको विजयी आवश्यक छ । जडीबुटी प्रशोधन संकलन केन्द्र स्थापना गरी समृद्ध कर्णाली प्रदेश बनाउने बताउँदै उनले देशको परिवर्तनका लागि वाम गठबन्धनसँगै चुनावपछि पार्टी एकता हुने बताए ।
२ सयबढी एमालेमा प्रवेश
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी २ सय भन्दाबढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुले एमालेको नीति, नेतृत्व, देशभक्त अडान र जनमुखि कार्यक्रम भएका कारण एमालेमा प्रवेश गरेको बताएका छन् । नवप्रवेशीहरुलाई प्रदेश नं. ६ का संयोजक युवराज ज्ञवालीले टीका लगाएर स्वागत गरेका थिए ।
यस्तै कार्यक्रममा वाम गठबन्धन दैलेख क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार राजबहादुर बुढा, वाम गठबन्धन क्षेत्र नम्बर २ का चुनाव परिचालन कमिटीका संयोजक लक्ष्मी पोखरेल, एमालेका नेता विनोदकुमार शाह, नेकपा माओवादी केन्द्रका महाधिवेशन सदस्य सुशिल रावत, नेकपा एमालेका प्रचार विभाग सचिव विष्णु रिजाल, वाम गठबन्धन प्रतिनिधिसभा २ का प्रदेश सभा (ख) का उम्मेदवार राजबहादुर शाही, प्रदेश सभाका (ख) का वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन संयोजक सुर्यबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही, उपप्रमुख ताराकुमारी शाही खत्री, माओवादी केन्द्रका महाधिवेशन सदस्य उपेन्द्र रावत, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य रणबहादुर खड्काले आ–आफ्नो धारणा राखेका थिए ।
आजको काँक्रेविहार दैनिकमा प्रकाशित छ ।






