Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले बताउनुभयो ।

यसअघि गत असार २८ गते र कात्तिक २४ गते स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेश गर्न परिपत्र गरे पनि २० जिल्लाका आंशिकबाट मात्र विवरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा प्रविष्टि गराइएको थियो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मंगलबार निर्णय गरी सात दिनभित्र विवरण दर्ता गराउन अनुरोध गर्नुभएको हो ।

सात दिनभित्र विवरण नपठाए कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।