सूचनाको हक नै सामाजिक न्यायको एजेण्डा हो – आयुक्त पोख्र्रेल
सुर्खेत, १२ पुस ।
राष्ट्रिय सूचना आयोगले सुर्खेतका सवै सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचनाको हकवारे प्रशिक्षण दिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी जिल्लास्थित सवै सरकारी कार्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखहरुलाई जम्मा गराई सूचनाको हकवारे प्रशिक्ष्ँण दिएको हो ।
सूचना आयुक्त किरण पोख्रेलले सूचनाको हक केवल पत्रकारहरुको लागि मात्र नभइ त्यो पत्रकारसहित नागरिक, कर्मचारी सवैको लागि भएको अवगत गराए । उनले सूचनाको हक सामाजिक न्यायको एजेण्डा भएको बताउ“दै सवै कार्यालयहरुलाई सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सुझाए । भ्रष्टाचार न्यूनीकरण गर्न, पारदर्शिता कायम गर्न, सुशासनका लागि सूचनाको हक लागू गर्नुपर्ने उनको भनाइ छ । नागरिकलाई मात्र नभइ कर्मचारीहरुलाई पनि सूचनाको हकबाट न्याय मिल्ने भन्दै आयुक्त पोख्रेलले सुशासनको मुख्य औजार नै सूचनाको हक भएको टिप्पणी गरे ।

सूचनाको हक कार्यान्वयनमा सरकारी कार्यालयहरु कमजोर देखिएको अनुगमनमा पाइएको भन्दै उनले आगामी दिनमा सुधार्नुपर्ने सुझाव दिए । उनले प्रत्येक सरकारी कार्यालयहरुलाई सूचना अधिकारी तोक्न, ३÷३ महिनामा कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नुपर्ने र बर्ष दिनमा कति सूचना सार्वजनिक भयो भनेर छुट्टै तथ्यांक राख्नपनि निर्देशन दिइएको छ । सूचनाको हक कार्यान्वयनका लागि राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । सूचनाको हक कार्यान्वयनमा नागरिकलाई बुझाउन नसक्नु नै ठूलो चुनौती भएको आयुक्त पोख्रेलले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले सुर्खेतमा सवै सरकारी कार्यालयहरुमा सूचना अधिकारीहरु तोकिएको र आ–आफ्ना कार्यालयका गतिविधिहरु सार्वजनिक गर्ने चलन रहेको जानकारी दिए । उनले आगामी दिनमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि अग्रसर रहने प्रतिवद्धता पनि जनाए । जिल्ला वन अधिकृत हेमराज विष्ट, पशु सेवा कार्यालयका पशु चिकित्सक नारायण न्यौपानेलगायतले सूचनाको हकका वारेमा जिज्ञासा राखेका थिए ।






