Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

संयुक्त अनुगमन

सुर्खेत, १४ पौष ।
स्ट्रोम फाउण्डेशनको सहयोगमा किर्डाक नेपालले सञ्चालन गरिरहेको दीगो तथा मर्यादित सामाजिक, आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको जिल्ला स्तरीय सरोकारवालाहरुद्वारा अनुगमन गरिएको छ ।

सिड्स कार्यक्रम अन्तर्गत शुक्रबार वीरेन्द्रनगर १४ मा अनुगमन गरिएको हो । आमा समूहबाट ऋण लिएर तथा किर्डाक नेपालको अनुदानमा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरुसंग अनुगमनका क्रममा भेटघाट गरिएको छ । समूहका सदस्यहरुले भैंसी, बाख्रा, कुखुरा पालन तथा तरकारी खेति गरेको पाइएको छ । समूहबाट ऋण लिएर व्यवसाय गरेपछि आफूहरुलाई घर खर्च चलाउनुका साथै आम्दानी गर्न सजिलो भएको समूहका सदस्यहरुले बताए । कुखुरा पालन व्यवसाय गरेकी मनमाया बुढा मगरले किर्डाकले व्यवसाय सम्बन्धी तालिम र समूह मार्फत ऋण दिएपछि आम्दानी गर्न सफल भएको बताइन । यस्तै भैंसी पालन गरिरहेकी गंगा खत्रीले किर्डाकले व्यवसाय सम्बन्धी तालिम र ८० हजार अनुदान रकम दिएपछि व्यवसाय गर्न सजिलो भएको बताइन । यस्तै समूहमा आवद्ध महिलाहरुले मासिक रुपमा बचतगरी ऋण लगानी समेत गर्ने गरेका छन । समूह गठन गर्दा सुरुमा ५ रुपैँयाबाट बचत सुरु गरेकोमा अहिले व्यवसाय गर्न थालेपछि मासिक ५० रुपैँया बचत गर्ने गरेको फूलबारी स्वास्थ्य आमा समूहकी अध्यक्ष टिका रोकायले बताइन । उनका अनुसार समूहमा २९ जना सदस्य रहेका छन । ‘सबै सदस्यले कुनै न कुनै व्यवसाय गरिरहेका छन’ समूहकी अध्यक्ष रोकायले भनीन्,‘अहिले समूहबाट छ जनाले भैंसी पालन, आठ जनाले बाख्रा पालन,दुई जनाले कुखुरा पालन र एक जनाले व्यापारका लागि ऋण लिएका छन ।’

समूहले आफ्नो गाउँलाई खशी घर खुशी गाउँ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । हाल समूहले वृक्षारोपण, विद्यालय भर्ना अभियान, बालविवाह न्यूनीकरण, सरसफाई, प्रत्येक घरमा भाँडा राख्ने चाङ सुधारिएको चुलो निर्माण कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

यसैबीच शुक्रबार नै जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठकबसी स्ट्रोम फाउण्डेशनको सहयोगमा किर्डाक नेपालले सञ्चालन गरिरहेको दीगो तथा मर्यादित सामाजिक, आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको समीक्षा गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बिरसिं घर्ती, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेत, वडा नं. ८ का अध्यक्ष मणिराज कार्की, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत टंकप्रकाश लामिछाने किर्डाकका कार्यक्रम संयोजक मेघराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।