Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

पार्टीभित्र मेलमिलापको खाँचो : नेपाल विद्यार्थी संघ

काठमाडौँ, १५ पौष ।

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको बहस’ विषयक विचार गोष्ठीमा युवा नेताहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताएका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन नहुने बताए । “पुरानो डाक्टरबाट काँग्रेसभित्र लागेको रोग निको हुन सक्दैन, त्यसैले रोग निको पार्न युवा नै जागरुक हुनुपर्छ”, नेता भण्डारीले भने। केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरु आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्ने बताए । “प्रजातन्त्रलाई बलियो बनाउन युवाको नेतृत्व आवश्यक छ”, उनले भने । केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब काँग्रेसभित्र पुनर्जागरणको खाँचो रहेको बताए ।

उनले पार्टी र लोकतन्त्रलाई बलियो बनाउनका लागि आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा टिकट वितरण प्रक्रिया असमान हुँदा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीश महाभियोगलगायत प्रकरणका कारण पार्टीको जनमत घटेको हो”, उनले भने। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेशजंग रायमाझीले नेतृत्वको गलत कार्यशैलीका कारण पार्टीले कमजोर नतिजा ल्याएको भन्दै नेतृत्वपंक्ति सच्चिनु जरुरी रहेको बताए । नेपाली काँग्रेसका नुवाकोटका सभापति एव युवा जगदिश्वर नरसिंह केसिले केन्द्र देखि गाउँ वडा ईकाइ सम्म नयाँ सम्रचना सहित अगि बढ्नुपर्ने र अाफु कुनै गुटमा नरहेकाे र काङ्ग्रेस रहेकाे समेत बताउनुभयो ।

पूर्व सांसद कौशर शाह, नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नेवि संघ धादिङ जिल्लाका सभापति ईश्वर अधिकारी, नेवि संघका नेता निरञ्जन थापालगायतले काँग्रेसलाई पुनर्जागरण गर्न युवा एकजुट हुनुपर्नेमा जोड दिए । नेवि संघ प्रदेश नं ३ का संयोजक एवं नेवि संघ उपाध्यक्ष रामप्रसाद अधिकारीले निर्वाचनमा कमजोर नतिजा ल्याएको काँग्रेसलाई पहिलेको अवस्थामा पुर्‍याउनका लागि नेवि संघले केन्द्र, प्रदेश, जिल्ला हुँदै गाउँसम्म पुनर्जागरण अभियान चलाउने बताए ।