कानुन अभावका कारण स्थानीय सरकारको काममा समस्या
सुर्खेत
स्थानीय सरकार संचालन गर्नका लागि कानुनको अभाव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संघीय संरचनामा देश गईसकेपछि स्थानीय सरकार संचालनमा चुनौतीहरु धेरै भएको भन्दै उनीहरुले कर्मचारी व्यवस्थापन, बजेट विनियोजन तथा समन्वयका लागि कानुन बन्नुपर्ने बताएका हुन् । सुर्खेतको वीरेन्द्रनगरमा साझेदारी विकास परियोजनाको समन्वयमा लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकाको संयुक्त आयोजनामा भएको स्थानीय सरकार कार्यसंचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना कार्यान्वयन सहजीकरण समितिका संयोजक तथा संविधानविद् काशिराज दाहालले लोकतन्त्रको लाभ जनतामाझ पु¥याउन स्थानीय सरकार सहज, गुणस्तरीयता र घरदैलोमै सेवा प्रदान गर्नतर्फ तत्पर हुनुपर्ने बताउनुभयो । उहाँले दिगो शान्ति, विकासमा अग्रसरता, सुशासन र समृद्धिका लागि स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । समावेशी लोकतन्त्रलाई दिगो बनाउन स्थानीय सरकारको भुमिका महत्त्वपूर्ण हुने भन्दै संयोजक दाहालले यो अभिमुखिकरण कार्यक्रमले स्थानीय तह संचालनमा केही सहज गराउन सहयोग पुग्ने बताउनुभयो । मुलुक अहिले संक्रमणकालबाट बाहिर निस्कन नसकेको जिकिर गर्दै उहाँले न्यायिक अधिकारमा निष्पक्षताका लागि कर्मचारी र जनताबिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनुभयो । स्थानीय सरकार जनताप्रति जवाफदेही भए मात्रै लोकतन्त्र दिगो हुने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले संघीय संरचनामा देश गईसकेपछि अब नयाँ सोचका साथ अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो । यस्तै, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले काम गर्ने समयमा उत्पन्न भएका समस्या समाधान गर्न यो कार्यक्रमल फलदायी रहने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा लेकबेशी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता छ ।
आज संयुक्त उद्घाटन भएको कार्यक्रम भोली भने बराहताल गाउँपालिकाका जनप्रतिनिधीको सहभागिता हुने बताईएको छ । कार्यक्रममा संयोजक दाहालले स्थानीय सरकार संचालनका निम्ती आवश्यक कानुन, बजेट व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनका बारेमा प्रशिक्षण दिनुहुनेछ भने संचारकर्मी तथा लैंगिक प्रशिक्षण प्रशिक्षक आरती चटौतले विकासमा समावेशि सहभागिताका विषयमा प्रशिक्षण दिनुहुनेछ । यसैबिच, आजको एक दिने अभिमुखीकरणपछि लेकवेशी नगरपालिकाले जनतामाझ अधिकार पुगेको महसुस गराउने गरी पारदर्शी ढंगले काम गर्ने भन्दै दश बुँदे घोषणपत्र जारी गरेको छ ।
जसअन्तर्गत नगरपालिकाले पारित गरेका ऐन, नियम, कार्यबिधि तथा मापदण्डहरु पुर्ण पालना गर्नका लागी माघ महिना भित्र नगरपालिकाको राजपत्र २०७४ माघ महिना भित्र प्रकाशित गर्ने निर्णय गरेको छ । नगरपालिकालाई बालविवाह, बहुविवाह तथा लागू पदार्थ दुव्र्यशन मुक्त बनाउने साथै बालमैत्री स्थानीय शासन र पुर्ण सरसफाई युक्त नगर बनाउने योजना पनि बनाएको छ । माघ महिना भित्र नगरपालिकाका सबै घर धुरीका लगत लिने तथा ऐलानी जग्गालाई पयर्टकीय स्थलमा राखिने निर्णय गरेको छ । योजना निमार्ण तथा कार्यन्वयन गर्दा लैगिंक समावेशितालाई विशेष महत्व दिने निर्णय पनि आजको अभिमुखीकरणपछि नगरपालिकाले गरेको छ ।
स्थानिय तहमा विनियोजित भएको वजेट र संञ्चित कोषमा जम्मा भएको बजेट नगर सभा बाट पारित गर्ने र सभाले दिएको सिमा ्िभत्र रहेर आर्थिक अनुशासन कायम गर्ने, आर्थिक लेखापरिक्षण , महालेखा परिक्षण गरी आर्थिक पारदर्शिता कायम गर्ने पनि निर्णय भएको छ । स्थानीय सरकारलाई कर राजस्व उठाउने सम्बन्धमा कानुन बनाएर लागू गर्ने, आगामी नगर सभावाट न्यायिक समिति गठन गरी आवश्यकता अनुसार सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।
लेकवेशी नगरपालिकालाई वातावरणमैत्री हरियाली नगर बनाउनका लागी वृक्षारोपण तथा वन वातावरणको संरक्षण गर्न नगरबासीलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । आगामी भदौ महिना सम्ममा नगरका सम्पुर्ण विद्यार्थिहरुलाई नागरिक आधिकार, नागरिक कर्तव्य तथा असल संस्कार सम्बन्धि सामाजिक शिक्षाका विषयमा कक्षा सञ्चालन गर्ने नगरपालिकाले निर्णय पनि गरेको छ ।






