Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

वृद्धवृद्धालाई न्यानो कपडा वितरण

सुर्खेत ।
सुर्खेतको प्रशान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतले न्यानो कपडा एवम् फलफूल वितरण गरेको छ । याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् शहिद याम बिसीका पिता शेरबहादुर बुढाको विशेष आतिथ्यता एवम् शहिद परिवारको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो । याम बिसीले ६ नं. प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गरेका थिए । उनीसँगै सुर्खेतबाट टीकाराम गौतम र गोपालसिंह रजवार एवम् जुम्लामा भएको सोही आन्दोलनमा हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए ।

कार्यक्रममा याम विसी स्मृति प्रतिष्ठानका सचिव भगवती विसीले शहिदले बगाएको रगतको सम्मान गर्न सक्नु पर्ने बताइन । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार खगेन्द्र अधिकारीले शहिदको सम्मान गर्दै शहिदले देखेको सपना साकार पार्नका लागि यस प्रदेशकै राजनीतिक दलहरु, नागरिक समाज र यहाँका सम्पूर्ण वासिन्दाहरु समेत एक भएर लाग्नु पर्ने बताए । केवल अस्थायी मुकाम हुँदैमा वा सुर्खेतले प्रदेश प्रमुख प्राप्त गर्दैमा शहिदले देखेको सपना पूरा नहुने जिकिर गर्दै शहिद परिवारसँग भएका सम्झौताहरु पूरा गर्नु पर्ने बताए ।


कार्यक्रम प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सहजिकरण चेतबहादुर अधिकारीले गरेका थिए ।