सचेतना कार्यशाला सम्पन्न
सुर्खेत,१४ माघ |
नेपालमा रेडियोधर्मी पदार्थको उपयोग र प्रयोग सम्बन्धी सचेतना कार्यशाला आइतबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ | विज्ञान तथा प्रविधि मन्त्रालय,काठमाडौँ र मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय सुर्खेतको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो |
सुर्खेत जिल्ला स्थित एक्स-रे तथा अस्पताल सँग सम्बन्धित २५ जना स्वाथ्य कर्मी र विश्वविद्यालयका उप प्राध्यापकहरुको उपस्थिति रहेको कार्यशालामा त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रीय विभागका प्रा.डा. राजु खनाल र वीर अस्पताल काठमाडौँका डा. कन्चन अधिकारीले सहजीकरण गर्नुभएको थियो |
कार्यशालामा कृषि,स्वास्थ्य, अध्ययन अनुसन्धान आदिको क्षेत्रमा पारमाणविक प्रविधिको प्रयोग भैरहेको र जसको कारण मानव जीवन ,स्वाथ्य उपचार,कृषि तथा उद्योग क्षेत्रको उत्पादकत्व वृद्धि एवं सेवा प्रवाहमा उल्लेखनीय सुधार भएको विज्ञहरुले बताउनुभयो | पारमाणविक पदार्थको अधिक सम्पर्कवाट मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने असर,प्रभाव र रोकथामका उपायवारे छलफल र प्रस्तुतीकरण रहेको उक्त कार्यक्रममा तत्सम्बन्धी आवश्यक कानूनको मस्यौदा तयार भइसकेको र व्यवस्थापिका संसदवाट पारित हुन बाँकी रहेको विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कृष्ण गैरेले जानकारी दिनुभयो |
कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिमाञ्चल विश्वविद्यालय,विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. देव बहादुर खड्काले पारमाणविक प्रविधिको क्षेत्रमा सन् २००८ देखि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (IAEA) ले विभिन्न परियोजना मार्फत नेपालको जनशक्ति विकास तथा भौतिक उपकरण आदिका क्षेत्रमा उल्लेख्य सहायता पुर्याएको बताउनुभयो | जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धिरजन शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाई लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो |






