Loading... आजः १३ असार २०८३, शनिबार । Saturday 27th June 2026
ताजा खबर
  

सुन्दर वीरेन्द्रनगर अभियान अन्तर्गत सरसफाई शुरु

सुर्खेत ।

सुर्खेतको वीरेनद्रनगर नगरपालिकालाई सुन्दर बनाउने अभियानको शुरुवातसँगै वीरेन्द्रनगर नगरपालिकाले सरसफाई अभियानको शुरुवात गरेको छ ।

शनिबार बिहान नेपाल प्रहरी, जनपद प्रहरी, रेडक्रसकर्मीहरु, वीरेनद्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुवेदी उपप्रमुख मोहनमाया ढकाल, विभिन्न वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु लगायत सर्वसाधारणहरुको उपस्थितिमा वीरेन्द्रनगरको हटियाचोकबाट सरसफाई अभियानको शुरुवात भएको हो ।


फुटपाथमा हुने व्यावसायले वीरेन्द्रनगरलाई कुरुप बनाएको भन्दै त्यस्ता व्यावसाय हटाउन १५ दिने अल्टिमेटम जारी गरिसकेको छ । व्यवसायीले सडक पेटीसम्म नै पर्ने गरी व्यापार व्यवसाय गर्दा बजार अस्तव्यस्त बनेको हो । यसलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले व्यवसायीसँग अनुरोधको हातेमालो गर्ने जनाएको छ । यसका लागि सबै व्यवसायिलाई घरको छत भन्दा बाहिर सामान नराख्न, निमार्ण सामग्री राख्दा अनिबार्य रुपमा नगरपालिकासँग सर्त सहितको अनुमनि लिन अनुरोध गर्नेछ ।


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सुन्दर र हराभरा वीरेन्द्रनगर बनाउनका लागि जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने बताए । उनले नगरपालिकाको अनुमति बिना सार्वजनिक क्षेत्रमा घुम्ती, घर, टहरा, छाप्रो बनाई बस्न एवम् व्यवसाय नगर्न समेत सबैलाई अनुरोध गरे । बनिसकेका टहराका लागि १५ दिने सूचना प्रकाशन गरिने र सूचनाको अटेर गरेमा प्रहरीको सहयोगमा हटाउने उनले बताए ।


जिल्लाको वीरेन्द्रनगरमा प्रदेश नम्बर ६ को अस्थायी राजधानी तोकिएसँगै चहलपहल निक्कै बढेको छ । १२ वटै जिल्लाका सांसद र नेताहरु सुर्खेतमा हुनुका साथै राजधानीमा आवत जावत गर्नेहरुको पनि भिंड शुरु भएको छ । वीरेन्द्रनगर सुर्खेतले प्रदेश नम्बर ६ कै झल्को दिने भएकाले यसलाई व्यवस्थित गर्नेतर्फ सबैको ध्यान गएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘बजार एवम् शहर व्यवस्थापन अभियान २०७४’ नामक कार्यक्रमको सार्वजनिक नै गरेको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर वीरेन्द्रनगर नगरपालिकालाई स्वच्छ र हराभरा बनाउनका लागि अवधारणा पत्रको सार्वजनिक गरेको जनाएको छ ।