Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

क्षेत्रीय अस्पतालको १२ औं स्थापना दिवसः ५० लाखको अक्षयकोष स्थापना हुने

सुर्खेत ।
सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतलले आफ्नो १२ औं स्थापना दिवस एक औपचारिक कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको कार्यक्रममा उक्त अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउने बताइएको छ । कार्यक्रममा उपस्थित प्रदेश नं. ६ का मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालयका मन्त्री लगायतहरुले नागरिकहरुलाई स्वास्थ्य सम्वन्धी सेवा लिन बाहिर जानु पर्ने झन्झटको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।


०६२ साल फागुन ७ गते स्थापना भएको अस्पतालले १२ वर्षको अवधिमा आवश्यक भौतिक पूर्वाधार र अस्पतालको स्तरोन्नती गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेसु डा. डम्बर खड्काले जानकारी दिए । उनले नागरिकहरुलाई प्रभावकारी सेवा दिन सबैको साथ र समर्थनले यहाँसम्म आइपुगेको भएपनि अस्पताललाई अझै विकाससित गर्नका लागि धेरै काम गर्न बाँकी रहेको बताए ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १२ वर्षसम्म अस्पताल जुन गतिमा आइपुग्यो यहाँसम्म पु¥याउने सवैलाई धन्यवाद दिए । उनले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउनतर्फ प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाउदै भने, रोगीहरुको संख्यामा कम ल्याउनका लागि विशेष पहल गर्न सकेको खण्डमा अस्पतालको जरुरत छैन । मुख्यमन्त्री शाहीले अस्पताल कुपोषित नरहेको भन्दै आवश्यक स्रोत साधन परिपूर्ति गर्नमा प्रदेश सरकार लाग्ने भएकाले सवैको साथ आवश्यक रहेको समेत बताए ।


सामान्य प्रकृतिका विरामीहरु स्वास्थ्य सम्वन्धी सेवा लिन प्रदेश बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको मेसु डा. खड्काको भनाई थियो । अस्पतालमा हाल आइसीयु, एक्सरे, डाइलासिस लगायतका सेवाहरु सञ्चालनरत छन् । सामाजिक विकास मन्त्रालयका मन्त्री दल दल रावलले अन्य अस्पतालका विज्ञहरुलाई सुर्खेत ल्याउने र यहाँका विज्ञहरु बाहिर जाने परिपाटीको थालनी गर्ने प्रतिवद्धता जनाए ।

हुम्लादेखी सुर्खेत र जाजरकोटदेखी अछामसम्म नागरिकले स्वास्थ्य सेवा लिँदै आएको अस्पतालमा ४१ जनाको अझै दरवन्दीको अभाव छ । जटिल प्रकृतीको विरामीहरुको सेवा सुर्खेतमै दिन सरकारले आवश्यक नीति बनाएर केन्द्र सरकारसंग समन्वय गरेर अघि बढ्ने तयारीमा प्रदेश सरकार जुट्ने रावलको भनाई छ । गत आर्थिक वर्षमा मात्रै क्षेत्रीय अस्पतालबाट १ लाख ९७ हजार नागरिकले सेवा लिएका छन् ।

५० शैयाको स्वीकृति भएको अस्पतालले बढाएर ११५ शैयाबाट सेवा प्रवाह गरिरहेको मेसु डा. खड्काको भनाई छ । निर्माणाधिन भवनको काम सम्पन्न भए क्षेत्रीय अस्पताल ३५० शैयाको हुनेछ । जनशक्ति अभाव परिपूर्ति गर्ने र आवश्यक स्रोत साधनहरु थप्न प्रदेश सरकारले पहल गर्ने समेत बताइएको छ ।

यसैविच, १२ औं स्थापना दिवसमा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, डा. डम्बर खड्का, विष्णुबहादुर खड्का र ई. कृष्ण खड्काले आमावुवाको नाममा ५० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ । अस्पतालको स्थापना दिवसको अवसर पारेर क्षेत्रीय अस्पतालका प्रमुख समेत रहेका डा. डम्बर खड्काले यस्तो घोषणा गरेका हुन् । विपन्न समुदायका नागरिकले आर्थिक अभावबाट बञ्चित नहुँन भन्दै अक्षय कोषको रकमबाट ति नागरिकहरुको उपचारार्थ खर्च गर्ने हेतुले स्थापना गरिएको डा. खड्काले जानकारी दिए । स्थापना दिवसमा उत्कृष्ट कर्मचारी शेरबहादुर खड्का र अस्पताललाई ४० लाख चन्दा दिने थीरकुमारी कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको थियो भने शब्द स्वागत अस्पताल विकास समितिका सदस्य खगेन्द्र अधिकारीले गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावल प्रदेश सभाका सदस्य, पत्रकारलगायतले अस्पतालको अवलोकन समेत गरेका थिए ।