Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले मंगलबार विश्वासको मत पाएका हुन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका महेन्द्रबहादुर शाहीले दुई तिहाई बहूमतले विश्वासको मत पाएका छन् । शाहीको पक्षमा ३२ र विपक्षमा ६ मत परेको छ । मुख्यमन्त्री शाहीले सरकारले सवैको सहयोग अपेक्षा राखेकाले प्रदेश सभाको विश्वास छ भनि विश्वासको मत लिन वक्तव्यसहित प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्ताव माथि छलफलमा बोलेका संसदीय दलका नेताहरुले पनि प्रदेश निर्माणमा सवैले साझा धारणा बनाएर अघि बढे मात्रै प्रदेशको विकास छिटो हुने तर्क राखे । एमाले संसदीय दलका नेता यमलाल कंडेल र माओवादी केन्द्र संसदीय दलका सचेतक सीता नेपालीले कांग्रेस र राप्रपालाई पनि विश्वासको पक्षमा मतदान गर्न आग्रह गरे ।

कर्णाली प्रदेश सरकारलाई नेपाली काँग्रेस र राप्रपाका सांसदले विपक्षमा मतदान गरेका थिए । सरकार बाहिरै बसेर रचनात्मक आलोचना र सुझाव दिने भन्दै उनीहरुले विपक्षमा मतदान गरेका थिए । तर मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाएर राजीनामा दिएका मुगुका सांसद चन्द्रबहादुर शाहीले समेत पक्षमा मतदान गरे ।

४० जना सांसद रहेको कर्णाली प्रदेश सभामा मंगलबारको बैठकमा ३८ जना सांसद उपस्थित थिए । कांग्रेसका एक सांसद भने मंगलबारको बैठकमा अनुपस्थित  भए । सरकारले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अर्को सूचना जारी नहुञ्जेल स्थगित गरिएको छ ।