समृद्ध प्रदेशको परिकल्पना साकार हुन्छ : खड्का
साविकको लाटीकोइली हाल वीरेन्द्रनगर १० सुर्खेतमा आज भन्दा ३६ वर्ष अगाडि आमा मोतिसरा बस्नेत र बुबा बीरबहादुर बस्नेतको कोखबाट जन्मेर सामान्य परिवारमा सामान्य तरिकाले हुर्किनु भएको हो पदमा खड्का । कक्षा ९ मा पढ्ने बेलादेखि नै राजनीतिको बारेमा चासो राख्ने पदमा शिक्षण पेशा लगायत सामुदायिक वन उपभोक्ता समूह, महिला सञ्जाल, सहकारी संस्था लगायत थुप्रै सामाजिक संस्घसंस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ । साविकको लाटीकोइली गाउँ कमिटीको सदस्य र सचिव पदको समेत जिम्मेवारी सम्हाल्दै हाल नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहनुभएकी पदमा खड्का समानुपातिक तर्फबाट कर्णाली प्रदेशको प्रदेशसभामा सदस्य समेत हुनुहुन्छ । प्रदेश सभा सदस्य पदमा खड्कासँग खगेन्द्र अधिकारीले समसामयिक विषयमा रहेर गरेको भलाकसारी:

प्रदेश सभामा सदस्य भइसकेपछि कस्तो अनुभव गर्नुभएको छ ।
प्रदेश सभा सदस्य भएपछि खुसी लाग्नु स्वभाविक छ । त्यो खुसीसँगै मेरो काँधमा जिम्मेवारी पनि थपिएको छ । त्यो थपिएको जिम्मेवारीको भार सम्हाल्न लागिपरेकी छु ।हामी राजनीतिकर्मीहरु जनताको काम गर्दै आएका छौ । तर अब पदिय दायित्व सम्हालेर जनताको लागि काम गर्नुपर्ने बेला हो । जनताका वीचमा निर्वाचनको बेलामा गरिएका प्रतिवद्धताहरु पूरा गर्नु छ । जसले जनताको जीवनस्तरमा परिवर्तन गर्न सकोस् ।
तपाई प्रदेश सभाको उम्मेदवार भएको बेलामा जनताका वीचमा के के आश्वासन बाँड्नु भएको छ ?
मैले व्यत्तिगत रुपमा भन्दा पनि पार्टीले निर्वाचनको रणनीति अनुसार घोषणा पत्र तयार गरेको थियो । पार्टीले तयार गरेको घोषणा पत्र जनताका हातमा थमाएका छौ । त्यो घोषणा पत्रमा लेखिएका कुराहरु र हामीले विगतदेखि वर्तमानसम्म गरेका कार्यहरुको मूल्याङ्कन गरेर जनताले हामीलाई भोट दिएका हुन् । त्यो अमूल्य मतदान गर्नेहरुको सपनालाई साकार पार्न हामीले घोषणा पत्रमा लेखेका कुराहरु कार्यान्वयन गर्नुछ । देशले संघीय संरचनालाई कार्यान्वयन गरिरहेको बेलामा संघीय संरचना अनुसार नीति निर्माण गर्नुछ । त्यसका साथै कानूनको निर्माण गरी त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी र कर्तव्य हाम्रा सामु छ ।
तपाई विशेष गरी महिलाहरुका मुद्दा लिएर प्रस्तुत हुने मान्छे महिलाहरुका लागि के गर्ने योजना बनाउनु भएको छ ।
कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । अहिलेसम्म सबै जिल्लामा बाटो पुग्न सकेको छैन । अस्पतालको व्यवस्था हुन सकेको छैन । गरिबीको कुरा गर्ने हो भने सबै भन्दा गरिब प्रदेशको रुपमा कर्णाली नै चिनिन्छ । शिक्षा र रोजगारका दृष्टिले पनि यो प्रदेश पछि परेको छ । तर पनि हामी प्राकृतिक रुपमा धनी छौ । अरुको भन्दा कम अधिकार वा अरुको भन्दा कम चेतना छैन हामीसँग पनि । सिंहदरबारको अधिकार गाउँमा पुगेको कुरा गरिरहँदा त्यसको अनुभूति गराउनु छ । संविधानमा व्यवस्था भए अनुसार महिलाका हक अधिकारहरुको स्थापित गराउनु छ । अर्कोतिर महिलाहरुले प्रसव पीडाबाट ज्यान अकालमै ज्यान गुमाउनु परेका नमिठा यथार्थहरु छन् । त्यसलाई न्यूनिकरण गर्ने कुरामा मेरो विशेष पहल हुनेछ । जसको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु सडक, अस्पताल, प्रत्येक गाउँमा बर्थिङ्ग सेन्टरको व्यवस्था गर्नुछ । विज्ञानले यति ठूलो चमत्कार गरिसकेको अवस्थामा हामी छाउपडिमा रुमलिरहेका छौ । त्यसको अन्त्यका लागि विशेष योजनाका साथ अघि बढ्नुछ । जसका लागि शिक्षासँगै चेतना र कानूनको समेत व्यवस्था गर्नुछ । शिक्षा, स्वास्थ्य, स्वरोगार बनाउन सकेको खण्डमा घर गाउँ र समाज हुँदै यस प्रदेशमा बसोबास गर्ने महिला दिदीबहिनीमा जागारण ल्याउनु छ । जसले गर्दा समृद्ध प्रदेशको परिकल्पना साकार हुन्छ । केवल भाषण र नारामा मात्र सिमित राखेर केही हुनेवाला छैन । त्यसैले व्यवहारमा उतारेर महिलाका समस्या र तिनका समाधानका उपायहरुलाई सँगसँगै लिएर जाने योजनाका साथ अगाडि बढ्नु मेरो कर्तव्य र अधिकारसँगै मलाई प्राप्त भएको जिम्मेवारी पनि हो ।
बाटो, खानेपानी, स्वास्थ्य जस्ता सामान्य मागहरु गर्नु पर्ने अवस्था छ । सामान्यतया सहजै पुरा गर्न सकिने मागहरु हुन् यी । त्यसमा प्रदेश सदस्यको हैसियतले सदनमा यहाँको भूमिका कस्तो हुन्छ ?
जनताले जुन विश्वास दिएर हामीलाई सदनमा पु¥याएका छन् । त्यो केवल प्रदेश सभामा पुग्नका लागि मात्र होइन । उनीहरुका अत्यावश्यक आवश्यकता छन् । असिमित आवश्यकताहरुका वीचबाट पनि अत्यावश्यक आवश्यकताहरुको पहिचान गरेर प्राथमिकताका आधारमा हामीले काम गर्दै जानु पर्छ । यहाँका सामान्य भनेका मागहरु पनि पूरा गर्नका लागि चुनौति पनि छन् । किनकी हामीले एक दुई जनाको मागलाई मात्र मध्यनजर गर्ने नभई समग्र यो प्रदेशमा बसोबास गर्नेहरुको मागलाई मध्यनजर गर्नु पर्ने हुन्छ । चुनौतिलाई पार गर्नका लागि सदनमा नीति निर्माण गरेर कार्यान्वयन गर्ने र अर्कोतर्फ स्वयम् जनतालाई नै जागरुक गरेर आत्मनिर्भर बनाउनका लागि पहल गर्नुपर्छ । जुन भौतिक विकासको कुरा आएको छ । त्यो क्रमशः पूरा हुँदै जाने भएकोले त्यसलाई एक पाटोबाट अगाडि बढाइने छ भने अर्कोतिर जनताको व्यक्तिगत र सामाजिक जीवन परिवर्तनका लागि गरिने कार्य गर्नमा हामी लागि पर्नेछौ ।
यहाँले यी कामहरु गर्छु भनिरहेको बेला राजनीतिक रुपमा आउने प्रभाव र दबाबलाई कसरी झेल्नु हुन्छ ?
तपाईको मनमा मात्र नभई धेरैको मनमा उब्जिने प्रश्न हो यो । जनप्रतिनिधिहरु दबाब र प्रभावमा पर्छन कि भनेर धेरैले सोचिरहेको अवस्था हो । तर जसले साँच्चिकै राजनीतिक चेतनाका माध्यमबाट समाज परिवर्तनका लागि आफूलाई राजनीतिकर्मीको रुपमा अगाडि सारेको छ, ऊ कहिल्यै दबाब र प्रभावमा पर्दैन । तर पार्टीले जुन गतिविधिहरुमा दबाब दिन सक्छ भन्ने आशंका छ त्यो दबाब जनताको हितको लागि छ भने म मात्र होइन सबैले स्वीकार गर्नै पर्छ । म पनि स्वीकार गर्छु । तर जनताको हित विपरित हुने कुनै दबाब पार्टी भित्रको होस् वा अन्य कुनै व्यक्ति विशेषको त्यो मेरा लागि स्वीकार्य छैन । त्यस्ता दबाब भन्दा माथि उठेर मैले जनताको लागि काम गर्ने हिम्मत राखेर नै राजनीतिककर्मीको रुपमा म काम गर्दै आइरहेको छु । कर्णाली प्रदेश र यहाँका जनताको जीवनस्तर कस्तो छ भनेर कसैले हामीलाई देखाउनु वा सिकाउनु पर्दैन । किनकी हामी स्यवम् त्यसको अनुभवकर्ता हौ । त्यसैले कसैले प्रभाव पार्ने कुरा गरेर आफ्नो दाँतमा ढुङ्गा लगाउने कोशिष नगरे पनि हुन्छ ।
वन उपभोक्ता समितिको अध्यक्ष भएर गरेका कामको प्रभावले प्रदेश सभा सदस्यमा पुग्नु भयो भन्ने छ । अबको राजनीतिक पदको फड्को मारेर कुन पदमा पुग्ने योजना छ ।
कुनै पनि मान्छेले काम गर्नका लागि पदमा पुग्नु पर्ने हुन्छ । पद नै सबैभन्दा ठूलो कुरा पनि होइन । तर पनि त्यो स्थानमा पुगेर गर्न सकिने कामहरु र त्यो स्थानमा नगपुगदा गर्न सकिने कामहरुमा फरकता अवस्य नै छ । मैले सामुदायिक वन समूहमा काम गर्दा देउती बज्यै वनको अवस्था जुन रुपमा सुधार भयो । त्यसले पनि मेरो काम गर्ने कार्यशैलीको मूल्याङ्कन हुने अवस्थाको सिर्जना भयो । सामुदायिक वन हुँदै जिल्लादेखि राष्ट्रियस्तरसम्म सामुदायिक वनमा गरेका कार्यहरुले मलाई मेरो क्षमताको आंकलन गर्ने अवसर जुराएको हो । अब प्रदेश सभामा मैले जुन काम गर्छु र आफ्नो क्षमतालाई प्रदर्शन गर्छु त्यसले मलाई यो भन्दा पनि माथिल्लो पदमा जिम्मेवारी दिनका लागि मेरो पार्टीका नेता तथा कार्यकर्ता र स्वयम् जनताको समेत माग हुने वातावरणको सिर्जना हुनेछ मैले आशा गरेको छु । व्यक्ति केही पनि होइन तर उसले निर्माण गर्ने योजना र त्यसको कार्यान्वयनसँगै त्यसबाट आउने सकारात्मक परिवर्तन मुख्य हुने भएकोले हामीले सकारात्मक सोचका साथ लाग्नु पर्ने हुन्छ । जसले गर्दा एकातिर पार्टीको जिम्मेवारी र अर्कोतिर जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्न सकियोस् ।
अन्तमा मैले यहाँलाई सोध्न बिर्सेको केही छ कि ?
मलाई राजनीतिक क्षेत्रमा लाग्नका लागि मेरो बुबाले प्रेरणा दिनुभयो । गाउँको जुन वातावरण थियो त्यो वातावरणबाट थिचिनु हुँदैन, पिल्सिनु हुँदैन भन्ने भावनाले मलाई मेरो बुबाले राजनीति गर्न प्रेरित गर्नुभएको हो । उहाँको प्रेरणालाई आत्मसाथ गरेर अगाडि बढ्ने क्रममा पारिवारिक सहयोग र मैले तल्लोस्तरमा रहेका कामहरुको मूल्याङ्कन गरेर पार्टीले एउटा जिम्मेवारी र जनताले विश्वास दिए । त्यसैले मलाई दृढ भएर राजनीतिक रुपमा काम गर्ने आँट छ । जबसम्म म उम्मेदवार थिएँ त्यतिबेला म एमालेको तर्फबाट थिएँ । तर जब मैले प्रदेश सभाको सदस्य पदको सपथ लिएँ त्यसपछि म सबैको सांसद भएको छु । यो प्रदेश भरीका जनताले दिएको भोटले मलाई त्यो स्थानमा पु¥याएको छ । त्यसैले मैले गर्न सक्ने तपाईहरुका कुनै पनि कामहरु छन् भने मलाई जुनसुकै बेला पनि खबर गर्नुहोस् म रात दिन नभनि काम गर्न तयार छु । यो वा त्यो पार्टी भनेर आस्थाको रुपमा होइन सबै दलमा आस्था राख्ने दाजुभाइ दिदीबहिनीहरुले खुला रुपमा आफ्ना समस्या राख्नुहोस् । तत्काल पूरा हुन नसक्ने खालका समस्या भए म सम्बन्धित क्षेत्रमा पु¥याएर पनि त्यसको समाधानको लागि पहल चाल्नेछु । तपाईहरुले दिनुभएको जुन विश्वास र माया छ त्यो विश्वास र मायालाई बचाई राख्न सकु ।
कांक्रेबिहार दैनिक






