Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

दैनिक १ करोड २७ लाख पानीको आवश्यकता

सुर्खेत
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले दैनिक १ करोड २७ लाख पानीको आवश्यकता परेको जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १ देखि १३ वटा वडाहरुमा यस संस्थाले खानेपानीको आपूर्ति गर्दै आइरहेको छ । उक्त संस्थाले दैनिक ४५ लाख लिटर पानी अपुग रहेको बताएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा उक्त कुरा बताइएको हो । मूल उपभोक्ता समितिका अध्यक्ष कूलमणी देवकोटाले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

अध्यक्ष देवकोटाले भने, ‘कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको विद्यमान अवस्थामा बढ्दो शहरीकरण, प्रशासनिक शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको रुपमा विकास हँुदै गएको सुर्खेत उपत्यकामा जनसंख्या बृद्धि हुँदै जाँदा खानेपानीको माग र आपूर्तिका बीचमा असन्तुलन देखिएको छ ।’ डिजाईन वर्ष भन्दा अगाडि नै आयोजनाको सेवा क्षेत्रभित्र बसोबास गर्ने जनसंख्या करिब १ लाख ५० हजार पुगिसकेको छ, उनले थपे ।

उनले भने, ‘जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्ने क्रमसँगै खानेपानीका मुहानहरुबाट पानी सुक्दै जाँदा हाल संचालनमा रहेका खानेपानीका मुहानहरुबाट हिउँदको समयमा प्रतिदिन औसत ८२ लाख लिटर र सुख्खा खडेरीको समयमा औसत ४४ लाख लिटर मात्र खानेपानी प्राप्त गर्न सकेको अवस्थाबाट खानेपानीको सेवा प्रवाह गरिरहेको अवस्था छ । अपुग पानीको तत्काल व्यवस्थापन गर्नका लागि संस्थाले वि. स. २०७३ सालमा खरिखोला बोरिखोला आयोजनको निर्माण सुरु गरी विद्यमान स्रोतमा ३० लि./ से., ईत्राम खोलाबाट १० लि./से. र बुलबुलेबाट ४ लि./से. पानी थप गरी सकेको छ भने भसनाबाँध र पातलगंगाबाट ६ लि./से. पानी आयोजनामा थप गरी तत्कालीन समस्या समाधान गर्ने गरी कार्य अगाडि बढाइरहेको छ ।’


वि.स. २०५८ सालमा तत्कालीन जिल्ला खानेपानी कार्यालयबाट सुर्खेत उपत्यकामा सञ्चालित पूराना योजनाहरु हस्तान्तरणमा लिँदा ६.८७ कि. मि. मुख्य प्रसारण पाइपलाइन, ६८.२ कि. मि . वितरण पाइपलाइन, १५१० घ. मी . क्षमताका पानी पोखरी र जम्मा १,४०८ वटा धाराहरुबाट खानेपानी सेवा शुरुवात गरेको यस संस्थाबाट हाल सम्पूर्ण सेवा क्षेत्रमा ६८.०० कि मि मुख्य प्रसारण पाइपलाइन, २९६ कि मि वितरण पाइपलाइन र ३२४० घ.मि क्षमताका पानी पेखरीहरु संचालनमा ल्याइएक छ । नयाँ आयोजनाबाट स्किम नम्बर २ मा १५० घ. मि, ३ मा ३०० घ.मी, ७ मा ३०० घ.मी, १०मा ३०० घ.मी. गरी जम्मा १०५० घ.मी. पानी पोखरी निर्माण सम्पन्न गरी संचालनको तयारी अवस्थामा रहेका छन् भने स्किम नम्बर ९ मा संस्थाको आन्तरिक स्रोतबाट ३०० घ.मी. पानी पोखरी निर्माणाधिन अवस्थामा रहेको छ । यी पानीपोखरी समेत संचालनमा आएपछि संस्थाको पानी भण्डारण गर्ने कुल क्षमता ४५९० घ.मी. हुनेछ । खानेपानी वितरणका लागि सुर्खेत उपत्यकालाई १० वटा सेवा क्षेत्रहरुमा विभाजन गरी दैनिक दश वटा सेवा क्षेत्रमा रहेका पानी पोखरीमा पानी भण्डारण गरी जम्मा १५,६७६ धाराहरुबाट स्किम अनुसार पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । जडानको सम्पूर्ण प्रक्रिया पूरा गरी २१४ वटा धाराहरु जडानको सूचिमा रहेका छन् । दैनिक संस्था संचालन गर्नका लागि उपभोक्ताहरुबाट सेवा शुल्क वापत लिइने शुल्क संस्थाको मुख्य आम्दानीको स्रोत हो । यसरी प्राप्त भएको सीमित आर्थिक स्रोतबाट नियमित रुपमा प्रर्णाली सञ्चालन मर्मत सम्भार कर्मचारी व्यवस्थापन, नगरविकास कोषको ऋण भुक्तानी, आयोजनाको सुधार विस्तार र अत्यावश्यक संरचना निर्माणका कार्यहरु संचालन गरिरहेका छौ । वर्षेनी झुप्रा खोला, इत्राम खोला र खोर्के खोलाको मुहान र मुख्य प्रसारण पाइपलाइन रहेको क्षेत्रमा बर्षाको समयमा भू क्षयका कारणले अस्वभाविक क्षति व्यहोर्नु परेको अवस्था छ । भने अर्कोतिर विकास निर्माण गर्ने विभिन्न निकायहरुले उपत्यकाभित्र सतह ढल, सडक विस्तार जस्ता निर्माण कार्यहरु संचालन गर्दा खानेपानीका मुख्य प्रसारण तथा वितरण पाइपलाइनहरु क्षति ग्रस्त भई सेवाको नियमित्तामा समस्या सिर्जना हुने गरेको छ ।

डिभिजन सडक कार्यालय सुर्खेतबाट रत्नराजमार्गको सुब्बाकुनादेखि बाङ्गेसिमल तर्फ फोरलेन बनाउने क्रममा सडकका दुबै तर्फ खानेपानी वितरणका लागि छ्यिाइएका मुख्य प्रशारण पाइपलाइन, भल्ब च्याम्बर, व्यक्तिगत खानेपानीका लाइनहरु क्षतिग्रस्त हुँदा उक्त क्षेत्रमा खानेपानी संचालन गर्न कठिनाई भइरहेको बताइएको छ । क्षति भएका खानेपानीका संरचनाहरु पुनस्थापना गरी नियमित खानेपानी संचालन गर्नका लागि जिल्लाका सरोकारवाला निकायदेखि केन्द्रमा खानेपानी तथा ढलनिकास विभाग, सडक विभाग तथा अर्थमन्त्रालय सम्म संस्थागत रुपबाट लामो पहल र पैरवी गरी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षेण कार्यालय सुर्खेतबाट मिति २०७४÷०८÷२९ मा बोलपत्र आव्हान गरी यसै आ. व. को असार मसान्तमा कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भई कार्य आरम्भ भएको छ । यो काम सम्पन्न भएपछि रत्नराजमार्ग क्षेत्रको खानेपानीको समस्या समाधान हुने छ । हामीले खानेपानी सेवा संचालन गर्ने क्रममा प्राविधिक, प्राकृतिक एवम् व्यवस्थापकीय चुनौतिहरु सामना गर्नु परिरहेको छ उनको भनाई थियो ।

कार्यक्रममा कोषाध्यक्ष रामबहादुर गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेक थिए । साधारण सभामा प्रमुख अतिथि कर्णाली प्रदेशका भौतिक विकास तथा योजना मन्त्री खड्क बहादुर खत्रीले वीरेन्द्रनगरमा भएको खानेपानीको समस्यालाई समाधान गर्नका लागि आफुले काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । साधारण सभामा शुभकामना मन्तव्य दिने क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले पानीको समस्या समाधानका लागि विभिन्न उपायहरु अपनाइने बताउँदै कर्णाली प्रदेश विकासका काम गरेर देखाउने बताए । मन्त्री खत्रीले भने, कर्णाली प्रदेशलाई विकसित गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार मात्रै नभई जनताहरुको हातेमालो समेतको आवश्यकता छ ।

सभामा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले वीरेन्द्रनगरमा हुने खानेपानी समस्याका लागि स्थानिय सरकार, र प्रदेश सरकारले गम्भिरताका साथ सोच्न आवश्यक रहेको बताए । उनले खानेपानी समस्याको समाधानमा आफुले पनि साथ दिने बताए । यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सर्खेतमा रहेको पानीलाई लिफ्टिङका रुपमा लिनका लागि स्थानीय सरकारले साथ र सहयोग गर्ने भन्दै, यसका लागि प्रदेश सरकारले पनि साथ दिन जरुरी रहेको बताए । यस्तै संस्थाका पूर्व अध्यक्ष बालाराम शर्माले खानेपानी समस्या समाधानका लागि डिप बोरीङ उत्तम विकल्प रहेको बताए । उनले डिप बोरीङका बारेमा स्थानिय सरकार, प्रदेश सरकारले गम्भिरतापुर्वक लिन आग्रह गरे । यस्तै सभामा संस्थाका पुर्व सल्लाहकार पिताम्बर ढकाल, नगरविकास कोषका प्रतिनिधी सुवास पन्त, सुन्दर नेपालका अध्यक्ष हेमप्रकाश भुसाल, सम्पुर्ण राजनितिक दलका प्रतिनिधिहरुले आ–आफ्नो भनाई राखेका थिए ।