Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

जनता प्रेमी प्रहरी सेवा

सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत जनता प्रेमी प्रहरी सेवा प्रदान गर्ने भएको छ । आज गरेको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो । साथै सुर्खेतलाई राजधानी घोषणा गरिएतापनि शान्ती सुरक्षाका लागि प्रहरीको जनशक्ति अभाव रहेको जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चर्तुवेदीले बताए । राजधानी घोषणा लगत्तै भिआइपी र सर्वसाधारण नागरिक सबैलाई सुरक्षाको जिम्मेवारी प्रमुखत्व जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आएको छ । जिल्लामा हाल ७ सय देखि ८ सय प्रहरी आवश्यक भएतापनि क्रियाशिल रुपमा ४ सय ७० प्रहरी रहेको चर्तुवेदीले बताए । जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा चर्तुवेदीले यस्तो बताएका हुन् ।

चर्तुवेदीद्वारा प्रस्तुत साउनदेखि पौषसम्मको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ५ सय १४ जना सुरक्षाकर्मीको दरवन्दी रहेको छ । जसअन्र्तगत ३५ दरवन्दी अझै खाली छन् । तालिम तथा बिदा गरी ४ सय ७० जनशक्ति सुरक्षाका लागि परिचालन भइरहेका छन् । चर्तुवेदीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार यस आर्थिक वर्षको साउनदेखि पौषसम्म जिल्लामा ५३ जनाले आत्महत्या गरेको देखिएको छ । सुर्खेतमा सामाजिक सुरक्षाका लागी प्रहरीले लागुऔषध, मदिरा नियन्त्रण, वेश्याबृत्ति तथा जुवातास नियन्त्रणमा क्रियाशिलता बढाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा १४ वर्षकी बालिका समेत वेश्यावृत्तिमा परेको जनाइएको छ । ६ महिनामा दुई वेश्यावृक्तिका उजुरी कार्यालयमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४÷०७५ अन्र्तगत साउन देखि पौष सम्ममा ज्यान मार्ने उद्योग अन्र्तगत ६ वटा उजुरी, कर्तव्य ज्यानमा २३, आत्महत्या ५३, सवारीज्यान १५, सार्वजनिक अपराध १३०, लागुऔषध १८ (२८ पक्राउ), करणी ९, चोरी ५, जुवा ९, घरेलु हिँसा ३१८ र सामान्य उजुरी ९०३ दर्ता भएको जनाएको छ । प्रहरीप्रति सकारात्मक सोच तथा विश्वासका कारण सामान्य उजुरीको संख्यामा वृद्वी आएको चर्तुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालयले अगामी दिनहरुमा समय सापेक्ष रुपमा प्रहरी आधुनिकिकरण, प्रहरीको बानी व्यहोरा शिष्ट र नम्र बनाई पूर्ण पेशावान बनाउने, सुरक्षालाई क्षमतानुसार प्रविधीयुक्त बनाउदै लैजाने, प्रमाणमुखी अनुसन्धान प्रणालीको बिकास गर्ने, मानव अधिकारको पूर्ण पालना गरी प्रहरी कारवाही सञ्चालन गर्ने, चुस्त र स्फुर्त प्रहरीको निर्माण, जनताप्रेमी प्रहरीको निर्माण तथा सुर्खेत जिल्लालाई सुरक्षित नमुना जिल्लाको रुपमा प्रस्तुत गर्ने आगमी रणनीति तयार गरेको छ ।